+

स्वस्थ जीवनशैलीले रोक्छ बुढ्यौली लक्षण

२०८१ पुष  २ गते १४:३२ २०८१ पुष २ गते १४:३२
स्वस्थ जीवनशैलीले रोक्छ बुढ्यौली लक्षण

उमेरसँगै आउने बुढ्यौलीको लक्षणलाई रोक्न सकिंदैन । तर दैनिकीमा केही परिवर्तन ल्याउन सके शरीर सधैं स्वस्थ र तन्दुरुस्त रहन्छ । बुढ्यौलीको लक्षणलाई कम पार्छ ।

हुन त अहिले बजारमा बूढो नदेखाउने भन्दै प्रचार गरिएका छ्यापछ्याप्ती सौन्दर्य सामग्री पाइन्छन् । त्यसले पनि केही हदसम्म काम पनि गर्ला । तर ती सामग्रीको सही प्रयोग गर्न नजान्दा फाइदा भन्दा नोक्सान बढी हुनसक्छ । साइड-इफेक्टको जोखिम पनि उत्तिकै हुनसक्छ ।

त्यसैले कुनै झमेलामा नपरी स्वस्थ जीवनशैली अपनाउनु उपयुक्त हुन्छ ।

के गर्ने ?

प्रशस्त पानी पिउने

पानी पिउनु समग्र शरीरका लागि फाइदाजनक छ । एक अध्ययन अनुसार पर्याप्त पानी पिउने मानिसको  आयु लामो हुन्छ । किनकि यसले शरीरको मुटु, कलेजो र मिर्गौलाको स्वास्थ्य राम्रो र ऊर्जाशील राख्छ । त्यति मात्र होइन रगत शुद्धीकरण गरी छालालाई पोषण दिन पानीले भूमिका खेल्छ । जसकारण चाउरीपन कम हुन्छ ।

पर्याप्त निद्रा

आजभोलि मानिसमा देखिने आधा रोग निद्राको कमीले हुने गर्छ । निद्राले शरीरका सबै अंगलाई आराम दिने र ऊर्जा भर्ने काम गर्छ । तर अनिद्राले उच्च रक्तचाप र मुटुको समस्या गराउँछ । यति मात्र होइन मानसिक समस्याको पनि डर हुन्छ । कम सुत्ने व्यक्तिको आयु पनि छोटो हुने अध्ययनहरुले पनि प्रमाणित गरिसकेका छन् । त्यसैले उमेरअगावै बुढ्यौलीको लक्षण रोक्न र ऊर्जाशील रहन ७ देखि ८ घण्टा सुत्नुपर्छ ।

तनाव व्यवस्थापन

समय भन्दा पहिले बूढो बनाउन सक्ने अर्को कारण तनाव पनि हो । मानसिक तनावले शारीरिक रोग र समय नपुग्दै बुढेसकालतर्फ धकेलिरहेको हुन्छ । त्यसैले तनावलाई सकेसम्म व्यवस्थापन गर्नुपर्छ ।

स्वस्थ खानपिन

खानाले शरीरका लागि सबैभन्दा ठूलो भूमिका खेल्छ । फलफूल, हरियो सागसब्जी र घरका खानेकुराले बुढ्यौली रोक्न मद्दत गर्न सक्छ । सही र सुरक्षित खानाले शरीरमा कोलेस्टेरोल बढ्नबाट पनि रोक्छ, जुन उमेर बढ्दै जाँदा सामान्य हुँदै जान्छ ।

कम सोडियम

उमेर बढ्दै जाँदा शरीरमा सोडियमको मात्रा बढी हुन्छ । बढी सोडियम हुनु भनेको मुटु रोग र मधुमेहलाई निम्तो दिनु हो । त्यसैले खानेकुरामा सोडियमको मात्रा घटाउनुपर्छ । बजारमा पाइने धेरैजसो खानेकुरामा सोडियमको मात्रा बढी हुन्छ । त्यसैले बजारका खानेकुरा सकेसम्म नखाएकै उचित हुन्छ ।

छालाको हेरचाह

बुढ्यौलीको लक्षण सबैभन्दा पहिला छालाबाटै देखिन्छ । बुढेसकाल लागेपछि पहिलाको जस्तो कसिलो छाला रहँदैन । तर छालाको हेरचाह गर्ने हो भने उमेर पुगेपछि पनि स्वस्थ र जवान बनाउन सकिन्छ ।

त्यसका लागि दैनिक अनुहार सफा पानीले धुने, सनस्क्रिन र मोइस्चराइजरको प्रयोग गर्ने, धुवाँधुलो र घामबाट बचाउनुपर्छ ।

व्यायाम

खानपानसँगै व्यायाम पनि उत्तिकै जरुरी छ । व्यायामले समग्र शरीरमा रक्तसञ्चार बढाउँछ । जसले गर्दा सबै अंगले पोषण र उर्जा पाउँछ । छाला चम्किलो, कसिलो र भरिलो रहन्छ ।

एन्टिअक्सिडेन्ट खानेकुरा  

खानामा दही, गाँजर, फलफूल, तरकारी जस्तो एन्टिअक्सिडेन्ट खानेकुरा दैनिक खानु राम्रो हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र बुढ्यौलीको लक्षणलाई सुस्त बनाउँछ ।

के नगर्ने ?

रक्सी र धुम्रपान नगर्ने

यी दुवैले शरीरलाई समयभन्दा पहिले नै बुढ्यौली बनाउँछ । शरीरको सक्रिय कोष, अंग र तन्तुलाई निष्क्रिय पार्दै लैजान्छ । उमेरअगावै बुढ्यौली मात्र होइन, अकाल मृत्युको कारण पनि बन्न सक्ने हुँदा रक्सी र धुम्रपानबाट टाढा रहनु राम्रो हुन्छ ।

कफी र चियाबाट बच्ने

कफी र चियामा क्याफिन बढी हुन्छ । हुन त क्याफिन ऊर्जाको स्रोत हो । तर लामो समयसम्म पटक-पटक खाँदा छालामा प्रभाव पार्छ ।

अहिलेसम्म कुनै पनि औषधिले सदावहार जवान देखाउन सक्ने दाबी गर्न सकेको छैन, मात्र बुढ्यौलीको संकेतलाई कम गर्न केही भूमिका खेल्न सक्छ । हरेक औषधिको आफनै साइड-इफेक्ट समेत हुन्छ ।

त्यसैले यी औषधि लिनुपूर्व चिकित्सकीय परामर्श, औषधि र त्यसले गर्ने साइड-इफेक्टबारे राम्रोसँग जानकार हुनु आवश्यक छ ।

एजेन्सीको सहयोगमा

बुढ्यौली स्वस्थ जीवनशैली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय