१ माघ, काठमाडौं । एक्कासि छातीको पीडा सहन नसकेर राति नै ल्याइनुभएकी मैनाको इसिजी र रगतको रिपोर्टबाट हृदयाघात भएको निक्र्यौल भएको थियो । आकस्मिक कक्षमा इसिजी गरेर हेर्दा हृदयाघातको पहिचान भएको थियो । तुरुन्तै अत्यावश्यक उपचारका लागि क्याथल्याब लगियो । एन्जियोग्राम गर्न शुरु गर्दै गर्दा सोधैँ, ‘दिदी, छातीमा पीडा भइराखेको छ ?’
मैना बोलिनन् ।
क्याथल्याबको भित्तामा टाँगिएको बिरामीको वर्णन लेखिने बोर्डमा हेर्दा दिदीको उमेर मेरो भन्दा कम रहेछ । प्रायः जो कोही बिरामीलाई आमा, बुबा, दाइ दिदी भनेर बोलाउने मेरो बानी । झट्ट कसैलाई बहिनी वा भाइ भन्न नआउने । आजभोलि कहिलेकाहीँ अचम्म लाग्छ, आफूभन्दा सानो उमेरकालाई हृदयाघात भएर ल्याएको देखिराख्दा । हुन त म पनि ५६ वर्षको भइसकेको । त्यसैले ५०–५२ कोलाई हुँदा चिकित्सा विज्ञानको तथ्याङ्कले गलत नै भएको पाइँदैन । तर, ३० मुनिको समेतलाई हृदयाघात हुँदा चाहिँ मन नै कस्तो खिन्न हुन्छ ।
दिदीले केही नबोलिराख्दा – हैन, बैनीले केही नबोली राख्दा क्याथल्याबको टेबलमै यसो हेरेँ । अनुहार सपाट, भावरहित देखिन्थ्यो । पीडालाई लुकाउन हो वा चिन्ताले हो, वा अनुहारको भावभङ्गि नै त्यस्तो । हामीलाई भने मैनाको चिन्ता, कतै उहाँलाई गाह्रो नहोस् ।
दाहिने हातबाट क्याथेटर पसाएर मुटुको रक्तनलीको एन्जियोग्राम गरियो । एउटा नसा पूरै बन्द (१००%) ब्लक भएको पाइयो । यस्तो विधि पूरै ब्लक हुने, त्यो पनि ५२ वर्षीय पातलो ज्यान भएकी मैनामा के कारण रहेछ मनमा खुल्दुली भयो ।
न उच्चरक्तचाप भएको थाहा थियो, न मधुमेह । शारीरिक व्यायामको कुरा गर्ने हो भने खेतबारीतिर प्रशस्तै काम गर्नुहुने मैना । महिनावारी रोकिइसकेको थियो । महिलाहरूमा महिनावारी हुन्जेलसम्म हृदयाघातको सम्भावना पुरुषलाई भन्दा न्यून रहन्छ । तर, महिनावारी रोकिएपछि चाहिं सम्भावना पुरुषलाई जस्तै उस्तैउस्तै हो ।
अझ, महिलाहरूलाई हृदयाघात भएको पुरुषको दाँजोमा कमै थाहा पाइन्छ । यसको कारण महिलामा हृदयाघातको लक्षण कहिलेकाहीं फरक किसिमले प्रस्तुत हुन्छ । कसैकसैमा साधारण सास फेर्न गाह्रो हुने, घाँटीतिर कुमतिर दुख्ने, पेटमा अप्ठ्यारो हुने, पिठ्यूँमा भारी हुने लक्षणहरू पनि हृदयाघातमा देखिराखेका हुनसक्छन् । यद्यपि छाती दुख्ने, भारी हुने, कस्सिएको जस्तो हुने नै यसका प्रमुख लक्षण हुन् । फेरि कतिपय समयमा महिलाहरूको पीडालाई छिट्टै अस्पताल पुरÞ्याऊँ भन्ने नसोच्दा पनि घरमै हृदयाघात भइराखेको हुन्छ ।
मैनालाई समयमै हृदयाघातको लक्षण चिनेर अस्पताल ल्याइपुर्याएको हुनाले समयमै उपचार शुरु गर्न पाइयो । धन्न, मैनाको हृदयाघातको कारण प्रमुखजस्तो लाग्नेचाहि चुरोट प्रशस्तै खानुहुने रहेछ ।
रक्तनली पूरै बन्द भएको देखेर मन खिन्न भए पनि छातीको पीडाको कारण पत्ता लागेकोमा एक किसिमको हल्का महशुश भयो, ब्लक खोल्न सकिने देखिएकोमा ।
तुरुन्तै ब्लक खोल्ने जोरजाम गरेर मसिनो लचिलो तार (गाइड वाएर) पसायो । भर्खरभर्खर ब्लक भएकोले होला, सजिलै रगत जाम भएर बन्द भएको रक्तनली खुल्यो । रगत जाम हुन सक्ने प्रमुख कारण रक्तनली साँघुरो हुनु हो । साँघुरो भयो भने र साँघुरिएको रक्तनलीमा सानो मात्र चोट पुग्यो भने पनि रगत जाम भइहाल्छ । जसरी हाम्रो शरीरको बाह्य भागमा घाउ भयो भने रगत निस्केपछि रगत जाम हुन्छ, त्यसरी ने रक्तनलीभित्र पनि साँघुरिएको रक्तनलीभित्र रगत जम्न सक्छ । स्वस्थ, नसाँघुरिएको रक्तनलीमा रगत जम्दैन ।
गाइड वाएरले रक्तनली खुलेपछि साँघुरिएको भागलाई सानो बेलुनले फुलायौं र अलि ठूलो पार्यौं । त्यसपछि साँघुरिएको रक्तनलीको लम्बाइ र गोलाइ नापेर ठिक्क साइजको स्टेन्ट छान्यौं । अनि, गाइड वाएर माथिबाट सो साँघुरिएको भागमा लगेर ठ्याक्क मिलाएर फुलाई स्टेन्ट राख्यौँ । रक्तनली नसांघुरिएको जस्तै भयो । एन्जियोप्लास्टी पूरा भयो ।
मैनाको छातीको पीडा कम भएको उसको हँसिलो मुहारबाट प्रष्ट भयो । हामी पनि खुसी भयो ।
मैना लजालु धेरै नबोल्ने सरल महिला, ग्रामीण परिवेशकी पातलो ज्यान, श्याम वर्णकी, कपाल धेरै लामो नभएको, पछाडि मुठा पारेर स्याहारेकी, शहरमा कफी रङको लिपस्टिक लगाएकी भनिन्छ होला ओठ त्यस्तै । कानमा मैलो भएको ढुङ्ग्री, नाकमा टाउको हल्लायो कि हल्लिने बुलाकी ।
अस्पताल ल्याइँदा मैलो चोलो, पटुकीले अड्काइराखेको लुङ्गी । अस्पतालभित्र अस्पतालकै लुगामा ।
मैनाका ओठ किन कफी रङका हुन पुगे भनेको त असाध्यै चुरोट मन पराउने रहिछन् । शायद कारण त्यही होला । मैनालाई शायदै थाहा होला, चुरोटले पनि मुटु रोग लाग्छ । आजभोलि चुरोटले मुटु फोक्सोको रोग लाग्छ भनेर अंिधकाशलाई थाहा छ । तर, मैनालाई थाहा थिएन होला ।
अस्पताल ल्याउँदादेखि बसुन्जेल सबैले नै चुरोट नखाने सल्लाह दिए । अहिले मैनालाई पूरै थाहा छ । मैनाले चुरोट छुन पनि मन पराउँदिनन् । हेर्न पनि मन पराउँदिनन् ।
‘यस्तो दुःख दिने चुरोट किन खानू,’ उनी भन्छिन् ।
पहिला त मैनाको पटुकीभित्रै चुरोट र लाइटर हुन्थे । खाइराख्नु पर्ने । बिहान उठेदेखि राति सुत्नुभन्दा अगाडिसम्म खान्थिन् । फिल्टर नभा’कै धेरै खान्थिन् । फिल्टरले खस्रो खालको टार छाने पनि शरीरलाई हानिकारक वस्तुहरू मसिनो टार, निकोटिन, अरु खराब रसायनहरूलाई छेक्दैन । फिल्टर भए पनि नभए पनि यस्ता खराब वस्तुहरू धुवाँ हुँदै फोक्सोभित्र पुग्छ र फोक्सोबाट शरीरका विभिन्न अङ्गहरूमा पुगेर खराब असर गर्छ ।
चुरोट वा सुर्ती खानेहरूलाई मुटुको रोग लाग्ने सम्भावना धेरै हुन्छ । चुरोटमा हुने सुर्ती जलेर धुवाँ भई भित्र गए पनि अथवा सुर्ती नै चपाएर यसको रस भित्र गए पनि यसमा भएका हानिकारक तत्वहरूले रक्तनलीभित्रको पातलो पत्रलाई असर गरेर रक्तनली साँघुरिन मद्दत पुर्याउँछ । त्यस्तै, यसले अरु थुप्रै अङ्गहरूमा पनि नकारात्मक असर पुर्याउँछ । सबैलाई थाहा भएकै कुरा हो, चुरोट खाने व्यक्तिहरूमा क्यान्सर हुने सम्भावना बढ्छ ।
मैनाले सानैमा सिकिन् चुरोट खान । घरधन्दा, मेलापात गर्दा सबैतिर खान थालिन थकाइ मार्न पनि चुरोट, पीर परे पनि चुरोट, साथीहरूसँग काममा पनि चुरोट, एक्लै मन भुलाउन पनि चुरोट । बानी लागेपछि जो कोहीले जे भने पनि छुटाउन नसक्ने गरी बानी लाग्यो ।
अहिले हृदयाघात नै भएपछि मात्र छोड्न सकिन् । मैनाजस्तै थुप्रैको कहानी छ –केही ठूलो रोग लागेपछि मात्र चुरोट छोडेको ।
एकपटक बानी लागेपछि कयौंलाई छोड्न हम्मेहम्मे नै पर्छ । तर, छोड्नेहरू पनि धेरै छन् ।
चुरोट फिल्टर भएको होस् कि सादा, यसले अति नै खराब गर्छ । अहिले मैनाले अरुलाई पनि नखान सल्लाह दिन्छिन्, ‘कसैले खानु भा’छ भने नखानुस् है ।’
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले लेखेको ‘मुटुको कथा’ सार्वजनिक हुँदैछ । उक्त पुस्तकको मैना अंशबाट)
प्रतिक्रिया 4