२७ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल जलनका बिरामी भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् । गत बिहीबार काठमाडौंको कमलपोखरीस्थित म:म: आउटलेटमा ग्यास विस्फोट भई भएको आगलागीमा परी घाइते भएका बिरामीलाई भेट्न मन्त्री पौडेल अस्पताल पुगेका हुन् ।
घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीहरूका गुनासा सुने ।
मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका गर्ने निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ।
उनले अस्पतालका अधिकारीहरुसँग छलफल गर्दै निःशुल्क उपचार आवश्यक पर्नेलाई मात्र सेवा दिने निश्चित गर्न आग्रह गरे । ‘आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले निःशुल्क उपचार व्यवस्था गरेका हौँ’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला।’
मन्त्री पौडेलले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याका बारेमा पनि गुनासो सुने । जलनको समस्या बढिरहेको भन्दै उनले उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।
निःशुल्क उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत अस्पताललाई दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरुको निःशुल्क उपचार भइरहेको छ ।
मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ ।
 
                    










 २०८१ माघ  २७ गते १४:४४
                        २०८१ माघ  २७ गते १४:४४                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                                         
                             
                                         
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4