+

क्यान्सर र एचआइभीसँग लडिरहेका रामकृष्ण भन्छन्, ‘बाँचुन्जेल खुसी भएर बाँच्ने हो’

२०८१ पुष  २९ गते २१:४० २०८१ पुष २९ गते २१:४०
क्यान्सर र एचआइभीसँग लडिरहेका रामकृष्ण भन्छन्, ‘बाँचुन्जेल खुसी भएर बाँच्ने हो’

ललितपुर गोदावरीका ५० वर्षीय रामकृष्ण महर्जन पाटन अस्पतालको अन्कोलोजी वार्डमा भेटिए । अक्सिजन लगाएर बेडमा सुतिरहेका उनलाई फोक्सोको ‘स्मल सेल कार्सिनोमा’ एक्टेनसिभ स्टेजको क्यान्सर भएको छ, जुन फोक्सोभरि फैलिसकेको छ ।

रामकृष्णलाई केही दिनअघि निमोनिया संक्रमण भई श्वास-प्रश्वासमा समस्या भएपछि फेरि अस्पताल भर्ना गरिएको रहेछ । क्यान्सर भएको थाहा पाउँदा डर लागेन ? भन्ने प्रश्न गर्दा उनले मुस्कुराउँदै भने,‘किन डराउनु निको भइहाल्छ नि ।’

क्यान्सरसँग लडिरहेका रामकृष्णको आत्मविश्वास गज्जबको रहेको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले सुनाए ।

रोग लागेका बेला व्यक्तिले यसलाई सामान्य रुपमा लिन्छ र निको हुने पूर्णविश्वास राख्छ भने यसले रोगमुक्त हुन निकै सहयोग मिल्ने डा.शाही बताउँछन् । ‘म ठिक छु, म रोगलाई जित्छु भन्ने भावले आत्मविश्वास पैदा गर्छु डा. शाही भन्छन्, ‘आत्मविश्वासले रोग प्रतिरोधि क्षमता बढाउँछ । शरीरमा आत्मबल बढाउने इपिनेफ्राइन, एड्रेनालाइन र नोराड्रेनालाइन हार्मोनको स्तर बढाउँछ ।’

रोग निको हुन्छ भन्ने आत्मविश्वास राख्दा हर्मोनले खुसी र उत्साहित बनाउन सहयोग गर्ने, मुटुको गति सामान्य बनाई रक्तप्रवाह सहज हुने र निद्रा नबिथोलिने डा. शाहीको भनाइ छ । ‘आफूलाई कमजोर सोच्न थाल्छ भने रोग झन् बढ्छ तर म यो रोगलाई जसरी पनि जित्छु भनेर आत्मबल बढायो भने ऊ छिटो निको हुन्छ’ डा.शाही भन्छन् ।

सामान्य खोकी ठानेको, रहेछ क्यान्सर

रामकृष्णलाई करिब ६ महिनापहिले खोकी लाग्ने, छाती दुख्ने समस्या देखा पर्‍यो ।  समस्या बढ्दै गएपछि उनले मेडिकलबाट खोकीको औषधि ल्याएर खाए तर समस्या कम भएन। उनले पटक-पटक खोकीको औषधि किनेर खाए तैपिन समस्या उस्तै रह्यो अनि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे  । त्यहाँ छातीको एक्स-रे, सिटिस्क्यान गरेर हेर्दा पनि रोग पत्ता नलागेपछि चिकित्सकले पाटन अस्पताल जाने सल्लाह दिए  । पाटन अस्पतालमा परीक्षणपछि उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो ।

जटिल प्रकृतिको क्यान्सर भएकाले जतिसक्दो छिटो उपचार सुरु गरियो । पहिलो किमो दिएपछि अवस्थामा सुधार हुँदै गयो । समस्या सुधार भएपछि उनी घर फर्किए । तीन हप्तापछि दोस्रो किमो दिएपछि भने उनलाई बाहिरी सङ्क्रमणका कारण निमोनिया भएर अस्पताल भर्ना गर्नुपरेको हो ।

एचआइभीसँगै क्यान्सर

क्यान्सरसँग लडिरहेका रामकृष्ण एचआइभी सङ्क्रमित पनि हुन् । २० वर्षअघि विदेश जान स्वास्थ्य परीक्षण गर्दा उनलाई एचआइभी भएको पत्ता लागेको थियो ।

सुखद् भविष्यको सपना बोकेर विदेश जान ठिक्क परेका बेला एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा उनलाई आफूमाथि पहाड खसेजस्तै भयो  । ‘कसरी एचआइभी संक्रमण भयो भनेर थाहै छैन’  रामकृष्ण भन्छन्,  ‘त्यो सुनेर छाँगाबाट खसेजस्तै भएँ ।’ आफूलाई एचआइभी संक्रमण भएको थाहा पाएपछि उनले श्रीमती र छोराहरूको पनि जाँच गरे तर छोराहरूमा पोजेटिभ देखिएन ।

पहिलो छोरो तीन महिनाको हुँदा उनकी श्रीमती बितिन् । ४ वर्षपछि उनले दोस्रो बिहे गरे । दोस्रो श्रीमतीबाट पनि छोरा जन्मियो। उनी घर बनाउने ‘डकर्मी’ काम गर्थे । परिवारका सदस्य तीनबाट चार भएपछि कमाइले घर धान्न गाह्रो भयो अनि केही वर्षका लागि विदेश जाने निर्णयमा पुगेका थिए।

एचआइभी देखिएपछि विदेश जान पाएनन्  औषधि सेवन गर्दै डकर्मीकै पेशालाई निरन्तरता दिए । रामकृष्णले काम गरेर परिवारको हेरचाह राम्रैसँग गरिरहेका थिए तर श्रीमती र उनको केही कुरामा मनमुटाव भयो । श्रीमती कान्छो  छोरा लिएर माइत गएर बस्न थालिन्। तीन वर्षअघि उनको जेठो छोरा पनि कतार गएपछि घरमा रामकृष्ण एक्लै थिए ।

एचआइभीको औषधि सेवन गरी सामान्यरूपमै जीवन बिताइरहेका उनलाई चार महिनाअघि क्यान्सर देखिएपछि जीवन झन् जटिल बनेको छ। अस्पतालमा कुरुवा बस्ने मान्छेको समेत समस्या छ। दिदीबहिनीहरू आएर हेरचाह गरिरहेका छन् ।  उनको क्यान्सर धेरै फैलिसकेकोले पूर्णरुपमा निको नहुने तर, त्यसका लक्षणलाई कम गर्न भने सकिने डा. शाही बताउँछन् ।

रामकृष्णको बलियो मनोबल देखेर उपचारमा संलग्न चिकित्सक, नर्सहरू छक्क पर्छन् । डाक्टर शाही भन्छन्,  ‘अन्य बिरामी क्यान्सरको नाम सुन्ने बित्तिकै आत्तिन्छन् ।अब बाँचिँदैन भन्ने सोच्छन् । तर, रामकृष्णले भने क्यान्सरलाई सामान्य रुपमा लिएका छन् । उपचार गरेपछि निको भइहाल्छ नि भन्ने सकारात्मक सोच राखेका छन्’।

रोग लाग्यो भनेर खासै डर चिन्ता नभएको रामकृष्ण सुनाउँछन् । ‘रोग आफूले चाहेर लाग्ने होइन, रोग लाग्नेबित्तिकै मर्ने पनि होइन’ उनी भन्छन्, ‘एचआइभी भएको मान्छे ८० वर्ष बाँचेका पनि छन् । क्यान्सर हुने पनि धेरै वर्ष बाँचेका छन् । डराउनुपर्ने कारण छैन । ‘

अस्पताल भर्ना हुनुअघि निकै गाह्रो भएको भएपनि अहिले सबै ठिक रहेको उनी बताउँछन् । कतारमा रहेका छोरा विहे गर्न फागुनमा आउँदै छन् । ‘छोराको बिहे गरेपछि आफ्नो जिम्मेवारी पूरा हुने ठानेर उनी निश्चिन्त छन् ।  ‘ठूलो छोरा आउँदै छ उसको बिहे गरेपछि म ढुक्क हुन्छ अरू केही चिन्ता छैन’  रामकृष्ण सुनाउँछन् ।

जति बचिन्छ, खुसी भएर बाच्नुपर्छ भन्ने लाग्छ रामकृष्णलाई। ‘बिरामी आफैँ दुःखी , निराश हुनथाल्यो भने परिवार र आफन्त पनि दुःखी हुन्छन्, जति बाचिन्छ खुसी भएर बाँच्ने हो उनको निष्कर्ष छ।

क्यान्सर डा. अरुण शाही
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय