+
+
Shares

भव्य ‘टिमुरे सुक्खा बन्दरगाह’ : कच्ची राजमार्ग

प्रतिवेदन अनुसार गल्छी–स्याफ्रुबेँसी ६७ किलोमिटर सडक अन्तर्गत बेत्रावती–स्याफ्रुबेँसी खण्डमा ट्र्याक खोल्नेमात्र काम भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ चैत १८ गते २१:०५

१८ चैत, काठमाडौं । रसुवाको टिमुरे सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बन्दरगाह निर्माण ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ मा डेढ अर्ब लगानीमा निर्माण भइरहेको यो भव्य संरचना निर्माण अन्तिम चरणमा पुगे पनि त्यहाँसम्म पुग्ने सडक कच्ची हुँदा जोखिम कायमै रहने देखिएको छ ।

हालै मन्त्रालयको एक टोलीले टिमुरे नाकाको स्थलगत अध्ययन गरी प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । प्रतिवेदन अनुसार गल्छी–स्याफ्रुबेँसी ६७ किलोमिटर सडक अन्तर्गत बेत्रावती–स्याफ्रुबेँसी खण्डमा ट्र्याक खोल्ने मात्र काम भएको छ ।

उता, स्याफ्रुबोसी–सुक्खा बन्दरगाह–नेपाल–चीन सीमासम्मको सडकको लम्बाइ १४ किलोमिटर छ । जसमध्ये स्याफ्रुबेँसी–सुक्खा बन्दरगाह ११ किलोमिटर र सुक्खा बन्दरगाहदेखि सिमानासम्मको सडक ३ किलोमिटर छ । यो सडक निर्माण सम्झौता भइसकेको भए पनि समय लाग्ने छ ।

स्याफ्रुबेँसी बजार क्षेत्रमा साइट क्लियरेन्स, राइट अफ वे र वातावरणीय प्रभाव मूल्यांकनका विषय समाधान गरी समयमै पूवार्धार निर्माण सक्ने काम चुनौतीपूर्ण रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

‘भौगोलिक जटिलताका कारण निर्माण प्रक्रिया कठिन हुन सक्ने हुँदा नेपाल–चीन समन्वय प्रभावकारी बनाउन आवश्यक छ,’ टोलीको निष्कर्ष छ ।

कोभिड महामारी सहित कारण देखाउँदै समयमै काम नभएपछि म्याद थप गरिएको छ । अहिले आयोजनाको म्याद ६ जुन २०२५ सम्म छ ।

यो बन्दरगाह चिनियाँ कम्पनी तिब्बत फु ली कन्स्ट्रक्सन कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । यसको निर्माण २० नोभेम्बर २०१९ देखि सुरु भएको थियो । काम २० मे २०२२ मा सक्नुपर्ने थियो । तर, कोभिड महामारी सहित कारण देखाउँदै समयमै काम नभएपछि म्याद थप गरिएको छ ।

अहिले आयोजनाको म्याद ६ जुन २०२५ सम्म छ । यो समयभित्र सुक्खा बन्दरगाह निर्माण भइसक्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । यहाँ अहिले अधिकांश भौतिक संरचना निर्माणको काम सम्पन्न भई फिनिसिङ तर्फको काम भइरहेको छ ।

यस्तो छ काठमाडौं–टिमुरे सडक अवस्था

अध्ययन प्रतिवेदनले देखाए अनुसार काठमाडौं तथा अन्य क्षेत्रबाट रसुवागढी नाकासम्म पुग्ने सडक ठाउँ–ठाउँमा जीर्ण अवस्थामा रहेको छ । यसले मालवाहक सवारीसाधन आवागमनमा समस्या देखिएको छ । यसले भारतीय सीमासम्मको नाकाको तुलनामा रसुवागढी नाकाको ढुवानी लागत ३/४ गुणासम्म महँगो परेको समेत देखिएको छ ।

साँघुरो सडकका कारण बेलाबेला नाका क्षेत्रमा सवारीसाधनको लामो लाइन लाग्दा समस्या हुने देखिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘विद्यमान् सडक मर्मत तथा प्रस्तावित नयाँ करिडोर निर्माण शीघ्र बनाउन सम्बद्ध सरकारी निकायबीच प्रभावकारी समन्वयको खाँचो देखिएको छ ।’

प्रतिवेदन अनुसार पासाङल्हामु सडक मर्मत अहिले सुस्त गतिमा भइरहेको छ । यसलाई छिटो गर्न टोलीले सुझाव दिएको छ । जसले व्यापार लागत घटाउन भूमिका खेल्ने छ । यस सडकमा पर्याप्त बजेट व्यवस्थापन र ठेक्का प्रक्रिया द्रुत गतिमा अगाडि बढाएर गुणस्तरीय मर्मत गर्न समेत भनिएको छ ।

स्याफ्रुबेँसी–टिमुरे खण्ड भने चिनियाँ सरकारको सहयोगमा निर्माण हुनेछ । यो परियोजना छिटो सक्न तत्काल कूटनीतिक माध्यमबाट छलफल र समन्वय गर्न भनिएको छ ।

बेत्रावती–स्याफ्रुबेँसी करिडोर सडक निर्माणको काम छिटो सक्नुपर्ने सुझाव टोलीले दिएको छ । टोलीले दिएको सुझावमा छ, ‘निर्माणको काम तत्काल सुरु गर्दै सम्भावित अवरोध ध्यानमा राखी कार्ययोजना बनाउनुपर्छ ।’

स्याफ्रुबेँसी–टिमुरे खण्ड भने चिनियाँ सरकारको सहयोगमा निर्माण हुनेछ । यो परियोजना छिटो सक्न तत्काल कूटनीतिक माध्यमबाट छलफल र समन्वय गर्न भनिएको छ । टिमुरे क्षेत्रमा ११ मिटर राइट अफ वे कायम गर्ने सहमति भएकाले नेपाली पक्षले साइट क्लियरेन्स लगायत प्रारम्भिक काम तत्काल सक्न समेत टोलीले सुझाव दिएको छ ।

अर्कातर्फ, यो संरचना अधिक प्राकृतिक विपद्का कारण समेत समस्यामा आउने भौगोलिक क्षेत्र हो । सुक्खा बन्दरगाहको यार्ड नजिकै भोटेकोशी नदी छ । वर्षायाममा बढ्ने पानीको बहाब मध्यनजर गरी विपद् प्रतिरोधी संरचना निर्माण आवश्यक रहेको समेत प्रतिवेदनमा औंल्याइएको छ । निर्माणाधीन प्रशासकीय भवनभन्दा माथिको सडक किनारमा पहिरोको उच्च जोखिम छ ।

अहिले निर्माणाधीन अवस्थामा रहेको सुक्खा बन्दरगाहमा नै कन्टेनर र सवारीसाधन राख्नु परेको समेत देखिएको छ । घेराबार नभएका कारण बन्दरगाहको यार्डमा राखिएका व्यापारिक सामानको सुरक्षा चुनौती समेत देखिएको छ ।

आयात भएका कयौँ विद्युतीय सवारीसाधन सीमा नाकादेखि टिमुरे बजार क्षेत्रसम्मको सडक किनारमै यत्रतत्र राखिएको समेत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘निर्माणाधीन बन्दरगाहसम्मको पहुँच तथा बहिर्गमन सडक निर्माणको विषय हालको ठेक्का प्रक्रियामा नभएको अवस्था छ । उक्त सडक निर्माण नहुँदा र हिउँदको बेलामा हिलो र धुलोको समस्या आउने भएकाले यसको शीघ्र सम्बोधन हुन जरुरी छ ।’

सञ्चालन मोडालिटी के हुन्छ ?

अहिलेसम्म यो बन्दरगाह सञ्चालनको मोडालिटी टुंगिएको छैन । अध्ययन टोलीले मोडालिटीका सन्दर्भमा समितिबाट समयमै सूचना आदान–प्रदान र छलफल गर्न सुझाव दिएको छ ।

चीनबाट आयात हुने मालवाहक सामान चिनियाँ सवारीसाधनले नै रसुवा बन्दरगाहसम्म ल्याउने व्यवस्था हुन सके व्यापार सहजीकरण एवं ढुवानी न्यूनीकरणमा सहयोग पुग्ने देखिएको छ ।

सुक्खा बन्दरगाह मूलतः भन्सार क्षेत्रका रूपमा प्रयोगमा आउने सन्दर्भमा यसको निर्माण, सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समिति, भन्सार विभाग र कार्यालयबीच पर्याप्त समन्वय हुनुपर्ने सुझाव टोलीले दिएको छ ।

चीनबाट आयात हुने मालवाहक सामान चिनियाँ सवारीसाधनले नै रसुवा बन्दरगाहसम्म ल्याउने व्यवस्था हुन सके व्यापार सहजीकरण एवं ढुवानी न्यूनीकरणमा सहयोग पुग्ने देखिएको छ ।

कति महत्त्वपूर्ण छ यो बन्दरगाह ?

तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा कुल आयातको करिब ५ प्रतिशत व्यापार रसुवागढी नाकाबाट भएको पाइएको छ । यस वर्ष माघसम्म रसुवागढीबाट ४७ अर्ब ९० करोडको वस्तु आयात भएको छ । निर्यात भने १ अर्ब ६६ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।

कोभिड महामारीका कारण यो नाका बन्द थियो । त्यसपछि खस्किएको व्यापार कोभिड महामारी अन्त्यसँगै उकालो लाग्न थालेको हो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?