
मनको त्रास कहिलेकाँही हावाको बेगसँगै बिटुलो बनाउनुपर्छ । हाम्रो इगोले त्रासलाई प्रष्फुटित हुनै दिँदैन । ०८१ फागुन २१ गते दिउँसोको यात्रा क्रममा त्रासको डोरीलाई इगोको गाँठोले कसिदिएको अनौठो अनुभव भएको छ ।
त्यो दिन हामी चीनको सिचुवान प्रान्तस्थित छेन्डु अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदेन चाइना एयरलाइन्समार्फत काठमाडौं आउँदै थियौँ ।
विमानमा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री सुजता कोइराला, कलाकार कृष्ण मल्ल, दोलखा कांग्रेसका सभापति बर्मा लामा, कांग्रेस नेता देवराज चालिसे, पूर्वसांसद किरण यादव, उज्ज्वल प्रसाद बराल, खेलाडी तुलसी थापामगर लगायत विशिष्ठ व्यक्तित्वहरू थियौँ । पत्रकार, केही चिनियाँ र अन्य देशका नागरिक र केही अमेरिका, अष्ट्रलिया, जापान तिरबाट छुट्टीमा घर फिरेका विद्यार्थी समेत दुई सय भन्दा बढी सवार थिए ।
छेन्डु अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो १:३० बजे उडान भरेको उक्त विमान काठमाडौँ विमानस्थलमा नेपाली समय अनुसार ढिलोमा दिउँसो ३ बजेसम्म अवतरण भइसक्नुपर्ने थियो । तर त्यसो भएन । नेपाली आकाशमा धेरै पटक फन्को मारेको विमान कहिले थोरै तल झर्ने, कहिले निक्कै माथि आकाशिने क्रममै रुमलिरह्यो ।
नेपाली आकाशमा विमानको दुई-चार फन्को सबैका लागि सामान्य नै थियो। काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा सधैँ ट्राफिक जाम हुने भएकोले विमानमा सवार सबैले त्यही अनुमान गरे ।
समय बित्दै गयो । विमानले फन्को मार्ने क्रम रोकिएन । तीन बजे अवतरण हुनुपर्ने विमान पाँच बजेसम्म पनि आकाशमै फन्को मार्न व्यस्त थियो । अब भने सबैको मनमा त्रासको हुटहुटीले झड्का लगाउन थाल्यो ।
तर, इगो सवार सबैको मनले त्रासको स्वरुप प्रकट गरेन । यो अवधिमा कोही निदाएको बहाना गर्दै थिए, कोही आपसमा गफिएर त्रास लुकाउँदै थिए, कोही सिटबेल्ट खोल्ने र लगाउने गर्दै आफूलाई ब्यस्त बनाउन खोज्दै थिए ।
विमानले लगाएको सुरुका केही फन्कोसँग मैले पनि खासै सरोकार राखिन। केही वर्षअघि चीनकै गोन्जाओबाट काठमाडौँ आउने क्रममा मेरो विमानले यसैगरी आकाशमा फन्को लगाएको थियो ।

मैले ठाने, यो पनि त्यस्तै फन्को हो । तर, विमानको फन्को अवधि बढ्दै गएपछि मेरो मनमा पनि त्रासको धर्सो कोरिन थाल्यो । ‘इगो प्रोबलम’ मसँग पनि थिदै थियो त्यसैले म पनि त्रास दबाएर चुपचाप बाहिर हेर्दै टोलाइरहेको थिए।
झ्याल छेउमा बसेर बाहिर चिहाउँदै गरेका बरिष्ठ कलाकार कृष्ण मल्ललाई सोधेँ– हैन यो विमान त यही एकै ठाँउमा घुमिरहेको जस्तो लाग्छ, अघि बढ्दैन कि क्या हो ? कृष्ण दाइसँग पनि जवाफ थिएन, भन्नुहुन्थ्यो– खै के हो, के हो !
सँगै बसेका पत्रकार गोकर्ण भण्डारी पनि धेरै बोल्ने मूडमा थिएनन् । त्रासलाई लुकाउन उनी मोबाइलमा टिकटकका केही दृश्य हेरेर निर्धक्क बन्ने नाटक गरिरहेका थिए । अर्का पत्रकार कृष्ण मल्ल (चीन भ्रमण अवधिभर हामीले उनलाई सानो कृष्ण भन्यौँ, किनभने भ्रमणमा सँगै बरिष्ठ कलाकार कृष्ण मल्ल पनि त हुनुहुन्थ्यो) कांग्रेस नेतृ सुजता कोइरालासँगै भएकाले उनको हाउभाउबारे खासै भेउ पाउन सकिएन।
……………….
अन्योलताको त्रासमा म चीनको स्नेही भ्रमण उपलब्धि गम्दै थिएँ । उपलब्धिमूलक चीन भ्रमणले मलाई धेरै कुरा सिकाएको मेरो ठम्याइ थियो । चिनियाँ साथीहरू विजय, सरला (नेपाली नाम), वे, सिपिसीका टाउन कमिटी सचिव लिउ ची, छाङ जुजिङ, पत्रकार एलन लगायतको आतिथ्यता र सहकार्य अविस्मरणीय थियो।
हामी पाँच जना (म, बरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार कृष्ण मल्ल, गोकर्ण भण्डारी र नेवारी फिल्मका निर्देशक महेन्द्रमान नहकर्मी) को भ्रमण चाँजोपाँजो समाजसेवी शोभित उप्रेती अध्यक्ष रहनु भएको फ्रेण्डस् अन दी क्लाउडः प्लेटर्फम अफ इन्फुलेन्स नेपालले मिलाएको थियो।
नौ दिने चीन भ्रमणका क्रममा हामी सिचुवान प्रान्तको राजधानी छेन्डु, दयाङ सिटी, समाजवादी गाँउ चान्सी चोन, लेसान सिटी, ग्यानिङ टाउन, राजधानी बेइजिङस्थित मिडिया हाउस सिन्ह्रवाको कार्यालय लगायत महत्वपूर्ण ठाँउहरू पुग्न सक्यौँ।
भ्रमणका क्रममा हामीसँग चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका पत्रकार एलनको टिम थियो । भ्रमणमा पूर्वपरराष्ट्रमन्त्री कोइराला समेतसँगै रहनुभएकाले चिनियाँ मिडियाहरूले हाम्रो टोलीलाई निक्कै महत्व दिएको थियो । हामी तीन जना पत्रकार (म गोकर्ण र कृष्ण) का लागि पत्रकारिताका केही नीति, प्रविधिको प्रयोग र गुणस्तरीयताको विषयमा जान्ने राम्रो अवसर बनेको थियो यो पटकको भ्रमण ।
रिर्पोटिङका क्रममा तथ्यलाई प्रस्तुत गर्न प्रविधि र सीपले कति धेरै सहयोग पुग्छ भन्ने कुरा हामी तीन पत्रकारले राम्रैसँग बुझ्ने अवसर पायौँ । सिन्ह्रवाका पत्रकार एलनले हामीलाई चिनियाँ पत्रकारिताको ट्रेन र प्रविधिको प्रयोगको विषयमा धेरै कुरा सिकाए । हामीले पनि नेपालको पत्रकारिताको अवस्था, पत्रकारहरूको सक्रियताका विषयमा उनीसँग खुलेरै छलफल गर्यौ ।
नेपालमा छापा पत्रकारिताको लोकप्रियता खस्कदै गएको यो समयमा चीनमा भने छापा पत्रकारिताको लोकप्रियता कायमै रहेको पाइन्छ । चिनियाँ नागरिकहरू म्यागेजिन र दैनिक पत्रिकाको खोजिमा दौडेको देख्दा लामोसमय छापा पत्रकारितामा सक्रिय रहेको नाताले खुसी लाग्दो रहेछ। छापा पत्रकारिताको भविष्य सकियो भन्नेहरूका लागि चिनियाँ भूमिमा यसको प्रभाव गतिलै जवाफ हुनसक्छ । अनलाइन र टिभी पत्रकारिताको विकास त स्वभाविक भइहाल्यो।
आफ्नो नेताको सम्मान र निर्देशन पालना गर्ने कुरा पनि अन्य मुलुकका नागरिकले चीनसँग सिक्नुपर्छ । यो मामिलामा नेपालीका लागि त झन चीन उत्कृष्ठ विश्वविद्यालय नै बन्न सक्छ । हामी नेतालाई गाली गर्ने र नेताको निर्देशन लत्याउने कुरालाई बहादुरी ठान्छौँ, चिनियाँ नागरिक नेताको सम्मान र निर्देशन पालनाको विषयलाई आफ्नो आर्दश मान्छन्।
भ्रमणका क्रममा हामी चीन सिचुवान प्रान्तको चान्सी चोन गाँउ पुगेका थियौँ । त्यो गाँउले राष्ट्रपति सी जिन फिङको विकास आर्दश र मोडललाई पच्छ्याउँदै परियोजनाहरू सञ्चालन गर्न थालेपछि निक्कै प्रगति गरेको त्यहाँको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सचिव काओले बताउनुभयो।
चान्सी चोन गाँउमा केही समयअघि राष्ट्रपति सी जिन फिङले भ्रमण गर्नुभएको रहेछ । राष्ट्रपतिले भ्रमण गरेको समयमा गाँउका स्थानीयलाई दिनुभएको निर्देशन उनीहरू अहिलेसम्म पनि मुख्य सिद्धान्तको रुपमा ग्रहण गरिरहेका छन् । भ्रमणका क्रममा खिचिएका तस्विरहरू जतनसाथ राखिएका छन् ।
नेता प्रतिको चिनियाँ नागरिकको सद्भाव र विकास मोडल हेरेपछि भ्रमणको क्रममा सँगसँगै रहनु भएका कांग्रेस नेतृ एवम् पूर्वपरराष्ट्र मन्त्री सुजता कोइरालाको मुहारलाई पढेँ।
उहाँ निक्कै प्रभावित हुनुहुन्थ्यो चिनियाँ विकास मोडलबाट । अनि, चिन्तित हुनुहुन्थ्यो नेपालको राजनीतिक गतिविधि र नेताहरूप्रति जनताको आक्रोश सम्झेर ।
चिनियाँहरू विकासमा मात्र अब्बल हैन इतिहासको संरक्षणमा पनि त्यस्तै अब्बल छन् । चीनको प्रत्येक प्रान्तमा ठूला– ठूला संग्राहलयहरू छन् । ती संग्राहलयमा सयौँ वर्ष अघिका सामग्री, सभ्यता र कला– संस्कृतिलाई बडो जतनसाथ संरक्षण गरिएका छन् ।
बेइजिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एउटा संग्राहलय भ्रमणका क्रममा हामीले देख्यौँ त्यहाँ जनवादी गणतन्त्र चीन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हरेक पात्रलाई जीवन्त ढङ्गले संरक्षित गरिएको छ । नेताहरूको हस्तलिपी, उनीहरूले प्रयोग गर्ने सामग्री, दस्तावेजहरू, तस्वीर सबैकुरा संरक्षित छन् संग्राहलयमा।
मैले सम्झिएँ, नेपालमा पनि राजनीतिक परिर्वतनका लागि नेपाली कांग्रेस, नेकपा एमाले (तत्कालीन नेकपा माले), नेकपा माओवादी केन्द्र (तत्कालीन माओवादी) जस्ता राजनीतिक दलहरूको ठूलो सर्मपण छ । सरकारले यी राजनीतिक दलहरूको सर्मपणका इतिहास संरक्षण गर्न एउटा संग्राहलय बनाउन सक्दैन होला ? कि, यी राजनीतिक दलहरूसँग त्यस्ता सर्मपणका कुनै दस्तावेज नै छैन ?
……………….
विमानभित्र यात्रुको खैलाबैला सुरु भयो । चीन यात्राको तरङ्ग टिभीको झ्यार– झ्यार जस्तै मष्तिस्कबाट धुमिल हुँदै गयो । अब म विमान भित्रको खैलाबैलामा केन्द्रित भएँ ।
आकाशको धेरै फन्को मारेपछि एक जना चालक दलको सदस्य कक्पिटबाट बाहिर निस्किएर भन्न थालिन– काठमाडौँको मौसम राम्रो नभएकोले विमान अवतरण गर्न सकिएको छैन । अब केही मिनेटमै विमान अवतरण हुनेछ ।
यात्रुका मुहारमा थोरै खुसीको भाव देखियो । केही समयमा विमान अवतरण हुने खबरले हामी सबै अब बाँचिन्छ भन्ने कुरामा ढुक्क भएका थियौँ सायद । नत्र ककपिटभित्र विमान चालक दलका सदस्यहरूले खाना खाएको सुगन्ध पनि हामीलाई कुनै अप्रिय सन्देशको गन्ध लागेको थियो ।
एकैछिन अघिसम्म यात्रुहरू भन्दै थिए– हैन के गन्ध आयो ? कतै विमानमा समस्या आएको त हैन ?
चालक दलका सदस्यले विमान केही समयपछि नै अवतरण हुने सन्देश दिएपछि भने सशंकित यात्रुहरू बेल्ट कस्ने र मोबाइल फोनमा नेटवर्क खोज्ने काममा अभ्यस्त हुन थालेका थिए।
तर ती चालकदलका सदस्यले भनेको समयमा पनि विमान अवतरण हुने छाँट देखिएन । विमानको फन्को उसैगरी चलिरहेको थियो ।
केही समयपछि फेरि विमान चालक दलका उनै सदस्य कक्पिटबाट बाहिर निस्किएर भनिन्– विमान काठमाडौँमा अवतरण गर्न सम्भव भएन त्यसैले हामी भैरहवा विमानस्थल जाँदैछौ ।
म भन्दा ठिक पछाडि कांग्रेस नेता देवराज चालिसे थिए । विमान भैरहवा जाँने सन्देशपछि उहाँको मुहार मलिन देखियो । मैले सोधेँ– किन निराश बन्नु भएको दाइ ? निःशुल्क भैरहवा घुम्न पाइने भइयो त !
देवराज दाइले भन्नुभयो– हैन छेन्डुबाट अहिलेसम्म भैरहवामा विमान अवतरण भएको छैन क्यार, यसले पुर्याउला त ? मैले भने– छेन्डुबाट धेरैपटक विमान भैरहवा अवतरण भैसकेको छ, ढुक्क हुनुस ।
मेरो जवाफ पछि देवराज दाइ खुसी देखिनुभयो । हामी सकुशल राति ७ बजेतिर भैरहवा विमानस्थलमा अवतरण हुन सक्यौँ । तर हामीलाई विमानबाट बाहिर निस्कने अनुमति थिएन । डेढ घण्टा भैरहवा विमानस्थलमा बिताएपछि ८:३० बजे त्यहाँबाट काठमाडौँ उडेको विमानले राति ९ बजे भने काठमाडौँ विमानस्थलमा सुविधाजनक ढङ्गले अवतरण गराइदियो ।
प्रतिक्रिया 4