+
+
Shares

मान्छेलाई किन पिरो पनि स्वाद लाग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ८:११

पिरो अचार, पिरो ममको झोल, पिरो तरकारी, पिरो चटपटे । यसरी कुनैपनि खानेकुराको अगाडि जब हामी ‘पिरो’ जोडिदिन्छौं, मुखमा पानी आउन थाल्छ । पिरोको पारखीहरुको त कुरै नगरौं, जुनसुकै खानेकुरामा उनीहरु पिरो खोज्न थाल्छन् । कतिसम्म भने यिनीहरु जिब्रोमा राख्नै नसक्ने पिरो खोज्छन्, जसले अनुहारको नसामा झड्का महसुष गराउँछ र आँखाबाट आँशु नै आउँछ । पिरो खानेकुरामा लोभिने जमात आज पनि उस्तै छ, जति हिजो थियो । त्यसैले त बजारमा ‘पिरो चाउचाउ’ देखि ‘पिरो कुरकुरे’ सम्म छ्यापछ्याप्ती छ ।

सोच्नुहोस् त, पिरो हामीलाई किन स्वाद लागेको होला ? जिब्रो पर्पराउने, आँखा रातो हुने खानेकुराप्रति हाम्रो जिब्रो कसरी लोभिएको होला ?

यी प्रश्नहरुको जवाफ खोर्सानी कसरी पिरो हुन्छ भनी बुझ्न उचित हुन्छ । किनभने पिरोको सम्पूर्ण स्रोत नै खुर्सानी हो ।

पिरो स्वादको जैविक आधार

खुर्सानीको पिरो स्वादको मुख्य कारण हो क्याप्साइसिन नामक रसायन । यो यौगिकले हाम्रो जिब्रोमा रहेका ताप र पीडाको सूचकलाई सक्रिय बनाउँछ, जसले गर्दा हामीलाई पिरो र तातो अनुभव हुन्छ।

खुर्सानी अर्थात पिरो खाएपछि हामी कुनै तातो वा हानिकारक चीजको सम्पर्कमा आएका छौँ भनेर क्याप्साइसिनले मस्तिष्कमा सन्देश पठाउँछ । मस्तिष्कमा यो संकेत पुगेपछि त्यसको प्रतिक्रिया स्वरुप हाम्रो शरीरमा पसिना आउने, अनुहार रातो हुने र मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखिन्छन् ।

यो अनुभवलाई किन रमाइलो मानिन्छ त ? वैज्ञानिकहरूका अनुसार, पिरो खाना खाँदा मस्तिष्कले एन्डोर्फिन र डोपामाइन जस्ता रसायनहरू उत्पादन गर्छ, जसले हामीलाई आनन्द र सन्तुष्टिको अनुभव गराउँछ ।

यो प्रक्रिया व्यायाम, हाँसो वा अन्य रमाइला गतिविधिहरूसँग मिल्दोजुल्दो छ । त्यसैले, पिरो स्वादले एक प्रकारको ‘रोमाञ्चक पीडा’ प्रदान गर्छ । यसलाई मनोवैज्ञानिकहरू बेनाइन मासोचिज्म भन्छन् । यो त्यस्तो अवस्था हो, जहाँ हामी नियन्त्रित र सुरक्षित तरिकाले पीडा वा असहजताको अनुभव गर्न रमाउँछौं ।

साँस्कृतिक र सामाजिक प्रभाव

पिरो स्वादको लोकप्रियतामा साँस्कृतिक र सामाजिक कारकहरूको ठूलो भूमिका छ । उदाहरणका लागि, नेपालमा खुर्सानीलाई खानामा स्वाद थप्न मात्र होइन, औषधीय गुणका लागि पनि प्रयोग गरिन्छ ।

नेपाली भान्सामा खुर्सानीको अचार, चटनी वा तरकारीमा प्रयोग हुने परम्परा पुरानो हो । यो सांस्कृतिक अभ्यासले पिरो स्वादलाई नेपाली पहिचानको हिस्सा बनाएको छ । नेपालबाहेक भारत, मेक्सिको, थाइल्याण्ड जस्ता देशहरूमा पनि पिरो खानालाई साँस्कृतिक सम्पदा र सामाजिक सम्बन्धसँग जोडिएको छ ।

सामाजिक रूपमा, पिरो खानुलाई साहस र चुनौतीको रुपमा पनि लिइएको पाइन्छ । युवाहरूमा साथीहरूमाझ कसले बढी पिरो खाने वा सहन सक्ने भन्ने होडबाजी भइरहेको हुन्छ

परिवारमा पिरो खान सक्ने व्यक्तिलाई बलियो ठान्ने चलनले पनि पिरो खान जोड गर्ने र पछि बिस्तारै पिरो नभई खाएको स्वाद नै नपर्ने बानी लाग्न सक्छ ।

यी दृष्टान्तले के देखाउँछ भने, पिरो खाना केवल स्वादसँग मात्रै जोडिएको छैन । यो सामाजिक विषयसँग पनि जोडिएको छ ।

मनोवैज्ञानिक दृष्टिकोण

मनोवैज्ञानिक दृष्टिकोणबाट, पिरो स्वादले हाम्रो स्वादको अनुभवलाई रोचक बनाउँछ । हाम्रो जिब्रोले अनुभव गर्ने विभिन्न स्वादहरू छन्, जस्तै- गुलियो, अमिलो, नुनिलो, तीतो, टर्रो । तर, पिरो स्वाद यी कुनैमा पनि पर्दैन; यो एक रोमाञ्चकी स्वाद हो । खाना खाइरहँदा यसले बोरिङ होइन कि हाम्रो मस्तिष्कलाई बढी चलायमान बनाइरहेको हुन्छ । एक खालको पीडादायी रोमाञ्चकता हामी अनुभव गर्छौँ ।

पिरो खाना खानुले हाम्रो जोखिम लिने प्रवृत्तिलाई पनि झल्काउँछ । मानिसहरू स्वभावैले नयाँ अनुभव र चुनौतीहरूको खोजीमा हुन्छन् । पिरो खाना खानुले एक प्रकारको साहसिक अनुभव प्रदान गर्छ, जसले हामीलाई आफ्नो सीमाहरू परीक्षण गर्ने अवसर दिन्छ। यो अनुभवले हामीलाई आत्मविश्वास र सन्तुष्टि प्रदान गर्छ।

स्वास्थ्यमा पिरो स्वादको प्रभाव

खुर्सानीको सेवन स्वास्थ्य लाभहरू पनि यसको लोकप्रियताको कारण हुन सक्छन्। अध्ययनहरूले देखाएका छन् कि क्याप्साइसिनले मेटाबोलिजमलाई बढावा दिन्छ, जसले तौल नियन्त्रणमा सहयोग गर्छ। यसले रक्तसञ्चारलाई सुधार गर्छ, सुन्निने समस्या कम गर्छ र केही अवस्थामा क्यान्सर कोशिकाहरूसँग लड्न पनि मद्दत गर्न सक्छ।

खुर्सानीले चिसोमा शरीरलाई तातो राख्न मद्दत गर्छ ।  पाचन सुधार गर्ने र रोगप्रतिरोधी क्षमता बढाउन पनि यसले भूमिका खेल्ने विज्ञहरू बताउँछन् । यी औषधीय गुणहरूले पिरो स्वादलाई थप आकर्षक बनाएको छ।

तर, अत्याधिक पिरो खानाले पेट दुख्ने, ग्यास्ट्रिक वा अल्सर जस्ता समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, सन्तुलित मात्रामा पिरो खाना उपभोग गर्नु राम्रो हुन्छ ।

व्यक्तिगत र क्षेत्रगत प्रभाव

पिरो स्वादप्रति सबैको रुचि एकनास हुँदैन। कसैलाई अत्याधिक पिरो खाना मनपर्छ भने कसैलाई हल्का पिरो। पिरो खाने क्षमता व्यक्तिगत स्वाद, जीन र वातावरणमा निर्भर गर्छ । उदाहरणका लागि, तातो जलवायु भएका क्षेत्रहरूमा पिरो खाना बढी लोकप्रिय हुन्छ । किनभने पिरो खानाले पसिना निकालेर शरीरलाई चिसो राख्न मद्दत गर्छ। नेपालको तराई क्षेत्रमा पिरो खानाको प्रचलन पहाडी क्षेत्रको तुलनामा बढी देखिन्छ।

त्यस्तै, बाल्यकालमा पिरो खानाको सम्पर्कमा आएका व्यक्तिहरू वयस्क भएपछि पनि पिरो खानालाई रुचाउँछन्। यो कुरा साँस्कृतिक अभ्यास र खानपानको बानीसँग जोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?