
४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठ खासमा ६ महिनाअघि नै सहमहामन्त्री पदबाट राजीनामा दिन चाहन्थिन् । निकटस्थहरूसँग छलफल गरिसकेकी थिइन्, आगामी महाधिवेशनमा समेत पदाधिकारीमा नलड्ने घोषणा गर्ने तयारी थियो ।
तर, त्यही बेला पार्टीमा ‘आपत’ आइलाग्यो, संसदीय समितिको प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले २ कात्तिक २०८१ मा सभापति रवि लामिछानेलाई पक्राउ गर्यो ।
सभापति लामिछानेको बचाउमा सिंगो पार्टी पंक्ति लागेका बेला सुमना पदाधिकारीबाट अलग हुने निर्णय बाहिरिँदा राम्रो सन्देश जान्थेन । यस्तोमा ‘दुई व्यक्ति एक पदमा रहनु हुन्न’ भन्ने आफ्नो वैचारिक मान्यतालाई बुझाउन पनि नसकिने निष्कर्षसहित उनी पछि हटेको एक रास्वपा नेता बताउँछन् ।
पार्टीको जलेश्वर बैठकबाटै नेतृत्व हस्तान्तरण र ‘एक व्यक्ति, एक पदबारे’ आवाज उठाउन थालेकी सुमना राजीनामा दिने अर्को उपयुक्त अवसरको पर्खाइमा थिइन् ।
जब लामिछाने १७ चैतमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किए, त्यसबेला उनले यसबारे छलफल गर्नु उपयुक्त ठानिन् । ‘उहाँ जिम्मेवारीमा आउनुभएपछि हामी एकदम एक्साइटेड थियौं, उहाँले त्यसबेला पार्टी महाधिवेशन तोकिएकै समयमा हुन्छ भन्नु भएको थियो’, सुमना भन्छिन्, ‘त्यस्तोमा एकैव्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुन्छ भन्ने हिसाबले उहाँसँग छलफल भएपछि मैले १९ चैतमा राजीनामा दिएँ ।’
राजीनामा स्वीकृतिको प्रक्रिया भने अघि बढिसकेको थिएन ।
ठ्याक्कै तीन दिनपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश दियो । यस्तो आदेश आउला भन्ने अपेक्षा नै नभएको भन्दै श्रेष्ठ भन्छिन्, ‘त्यसपछि कार्यवाहक सभापति डीपी अर्यालज्यूलाई त्यो होल्ड गरौं भनेको थिएँ ।’
नेताहरूका अनुसार, अदालतको आदेशपछि फेरि यो विषय सार्वजनिक गर्न उपयुक्त समय नभएको उनले ठानेकी थिइन् । तर, लिखित राजीनामा नै बुझाइसकेकी सुमनाको कदम यसपटक भने लुकेन ।
बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्नु अगाडि नै एकाएक आफ्नो राजीनामाको सूचना चुहाइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।
‘रविजीले पनि पार्टीलाई पुनर्संरचना गर्छु भन्ने विचार अघि सार्नुभएको थियो, त्यो कुरा मेरो नेतृत्व विकासको अवधारणासँग मिलेको हुँदा मैले पदबाट राजीनामा दिएको हुँ’, उनले पार्टी बैठकमा भनेकी छन्, ‘यो कुरालाई कसरी सार्वजनिक गर्ने भन्नेबारे छलफल हुँदै थियो, अचानक उहाँविरुद्ध अदालतको फैसला आयो र नाटकीय रूपमा हिरासतमा लगियो र यो कुरा सार्वजनिक गर्ने योजना पछि सर्यो ।’
पार्टीको कार्यशैलीप्रति थिइन् असन्तुष्ट
रास्वपा सांसद् श्रेष्ठले आफ्नो राजीनामालाई ‘व्यक्तिगत वैचारिक मान्यता’सँग जोड्न खोजेकी छन् ।
‘सांसद हुनु र पार्टीको पदाधिकारी हुनु फरक काम हो, पार्टी भनेको मुभमेन्ट क्रिएट गर्ने हो । सांसद भनेको अध्ययन र विश्लेषण गरेर कसरी राम्रो भन्दा राम्रो र जनमुखी नीति बनाउन भूमिका खेल्ने हो’, उनी भन्छिन्, ‘मैले शिक्षा मन्त्रालयमा छँदा पनि एक व्यक्ति दुई पदमा हुँदा काममा पुग्ने बाधा भागेको थिएँ, त्यसैले वैकिल्पक पार्टी कस्तो हुने भन्ने बहसमा एक व्यक्ति एक पद हुनुपर्छ भन्ने मान्यता राख्दै आएको थिएँ ।’
‘चेक एन्ड ब्यालेन्स’का लागि समेत यो महत्वपूर्ण रहेको भन्दै श्रेष्ठ भन्छिन्, ‘पार्टीको संरचनाले सांसदलाई नियन्त्रण र सन्तुलनमा राख्नुपर्छ । एउटै मान्छे दुवै ठाउँमा भयो भने उसको निर्वाचनमा मात्रै मूल्याङ्कन हुन्छ जबकि मूल्याङ्कन हुनुपर्ने हरेक दिन हो ।’
पार्टी नेतृत्वमा फर्किएर बसेको बैठकमा लामिछानेसहित पार्टीलाई ‘म्यासिभ रिफर्म’मा लैजानुपर्छ भनेका बेला आफूले राजीनामा बुझाएको उनले भनेकी छन् । ‘उहाँले आफ्नो पदबाट डेलिभरी दिन सकिँदैन भने सोचौं है भनेर भन्नुभएको हो’, उनी भन्छिन्, ‘त्यही स्पीरिटमा दुई साताअगाडि मैले राजीनामा दिएको हो ।’

यद्यपि, रास्वपा नेताहरूका अनुसार सुमनाको राजीनाका पछाडि वैचारिक कारण मात्र छैनन् । पार्टीको कार्यशैलीप्रति नै उनको असन्तुष्टि छ, जसको छनक उनले बुझाएको राजीनामा पत्रले पनि दिन्छ ।
‘पदाधिकारी भएर समेत पार्टी सम्बन्धी महत्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरुबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ’, उनले लेखेकी छन्, ‘कैयौं पटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अबरुद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखेँ ।’
उनले सहमहामन्त्री जस्तो पदलाई ‘हलुका रूपमा लिइएको’ समेत भनेकी छन् ।
रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार, श्रेष्ठले वैकल्पिक राजनीति कसरी अघि बढाउनुपर्छ भन्ने सन्दर्भमा छुट्टै मत राख्दै आएकी थिइन् ।
उनले जलेश्वर अधिवेशनमा प्रस्तुत गरेको मूल्य मान्यता सम्बन्धी प्रतिवेदनमा त्यसबारे विस्तृतमा उल्लेख थियो, जसमा जनमुखी समर्पण, समालोचनात्मक चेत, पुस्तान्तरण र इनोभेसनलाई अङ्गिकार गर्नुपर्ने भन्दै विस्तृतमा व्याख्या गरिएको थियो । त्यसलाई महाधिवेशनमा छलफलमा लैजाने उनले आवाश्सन पनि पाएकी थिइन् ।
तर, जलेश्वर बैठक पछिको समयमा समेत उनले पार्टी व्यवहारतः आफूले प्रस्तुत गरेको मूल्य, मान्यताविपरीत हिसाबले चलिरहेको पाइन् ।
उनी सार्वजनिक रूपमै गलत काम गर्ने जुनसकुै पदाधिकारी वा सदस्यलाई कारबाहीमा गर्नुपर्ने मत राख्दै आएकी थिइन् । तर, रास्वपा पनि व्यक्ति केन्द्रीत भएरै चलिरहेको उनको बुझाइ थियो । ‘यस्तोमा उहाँको राजीनामा पछाडि थुप्रै विषय जोडिएको छ’, रास्वपाका एक नेता भन्छन् ।
के छ राजीनामा पत्रमा ?
राजीनाको पत्रको पहिलो पृष्ठमा उनले एकव्यक्ति, एक पद हुनुपर्छ भन्ने विषयमा व्याख्या गरेकी छन् ।
‘संघीय सांसद हुँदा मैले पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ जुनसँग मेरो गहिरो विमति छ । अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन’, उनले लेखेकी छन्, ‘एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन ।’
उनले सांसद्ले ‘मूलभूत रूपमा पेश भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेश गर्ने, समसामयिक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने’ भन्दै पार्टी सहमहामन्त्रीको रूपमा संगठन निर्माण लगायत पार्टी विधि निर्माण र कार्यान्वयनका लागि पर्याप्त समय दिन नसक्ने उल्लेख गरेकी छन् ।
‘यी दुवै पूर्णकालीन पद हुन्, दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउँछ,’ उनको पत्रमा लेखिएको छ, ‘संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतीत हुन्छ, सह–महामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ ।’
हालै गरेको देश यात्रामा पनि आफूले पार्टीमाथि जनतालाई ठूलो आश भएको पाएको भन्दै उनले भनेकी छन्, ‘तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासो मिश्रित छ ।’
रास्वपालाई सहकारी ठगीको आरोपबाट मुक्त गर्न आफूहरूले ‘प्रतिशोध साँधेको नारा मात्र अघि’ बढाएको भन्दै उनले गर्नुपर्ने अन्य कामकारबाहीप्रति असन्तुष्टि जनाएकी छन् ।
उनले ‘बैठकमा बस्ने, बोल्ने क्रम लगायतमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व’ दिइएको भन्दै वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको पार्टीको ‘हाइर्यार्की’ नै सही नभएको भनेकी छन् ।
प्रतिक्रिया 4