यतिबेला विश्व–राजनीति र अर्थतन्त्रमा ग्लोबल साउथ निकै लोकप्रिय बनिरहेको छ। यो बिकाउको ‘जार्गन’ले सात दशकपछि लोकप्रियता प्राप्त गर्नुको पछाडि ग्लोबल साउथमा चीनको भूमिकाले गर्दा हो भन्दा अत्युक्ति हुँदैन।
सन् १९५५ मा भएको इन्डोनेसियाको बान्डुङ सम्मेलनबाट ग्लोबल साउथले औपचारिक मान्यता प्राप्त गरेको हो। ग्लोबल साउथले भौगोलिक सीमाको प्रतिनिधित्व गर्दैन। सामान्य रूपमा के बुझ्नुपर्छ भने उत्तर अमेरिका, युरोप, अष्ट्रेलिया बाहेक एसियाका दक्षिण कोरिया र जापान बाहेक सबै देश ग्लोबल साउथमा पर्दछन्।
ग्लोबल साउथलाई तेस्रो विश्व पनि भनिन्छ। विशेषगरी विकसित मुलुकहरू ग्लोबल नर्थमा पर्छन् भने बाँकी विश्व ग्लोबल साउथमा पर्दछ। ग्लोबल साउथलाई दक्षिण दक्षिण सहयोग अर्थात् साउथ साउथ कोअपरेसन पनि भनिन्छ।
६ दशकअघि ७७ विकासशील देशहरूले जेनेभामा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे र विकासशील संसारको लागि बोल्ने उद्देश्यले ७७ को समूहलाई जन्म दिए। वर्षौंदेखि, बढ्दो सदस्यता सहितको अन्तरसरकारी संगठनले बढ्दो विकास घाटालाई समाधान गर्न र ग्लोबल साउथलाई प्रमुख सरोकारवालाका रूपमा सन्तुलित आर्थिक व्यवस्था खोज्न सक्रिय भूमिका खेल्दै आएको छ। त्यस प्रक्रियामा चीन सदस्य नभए पनि, सधैं समूहसँग काम गर्दै आएको छ र दृढ समर्थन प्रदान गरेको छ।
विश्वव्यापी दक्षिण अर्थात् ‘ग्लोबल साउथ’को सामाजिक-आर्थिक विकास सम्पूर्ण मानवजातिको हितमा छ। यतिबेला यो सम्पूर्ण विश्वको कल्याणमा प्रमुख योगदानकर्ता बन्न पुगेको छ।
विश्व हितमा प्रमुख योगदानकर्ता भएर पनि ग्लोबल साउथका सामु केही चुनौती देखा परेका छन्। संयुक्त राज्य अमेरिका र युरोपका पूर्व औपनिवेशिक शक्तिहरू बहुराष्ट्रिय निगमहरूलाई समृद्ध बनाउन र आफ्नै रणनीति लागू गर्नका लागि ग्लोबल साउथका स्रोतहरूमाथि नियन्त्रण गर्ने प्रयासमा छन्।
ती शक्तिहरूले विकासशील देशहरूलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक जस्ता संस्थाहरू सिर्जना गरेका छन्। यी संस्थाहरूको नियन्त्रण अमेरिका र युरोप तथा उनीहरूकै केही सहयोगीहरूको हातमा रहेको छ। विकासोन्मुख राष्ट्रहरूलाई ती बैंकहरूद्वारा निर्देशित आर्थिक कार्यक्रमहरू स्वीकार गर्न बाध्य बनाइन्छ।
उनीहरूद्वारा लागू गरिएका कार्यक्रमहरू विकासशील देशहरूको प्राकृतिक स्रोतहरूको शोषण र सस्तो श्रमको शोषणका लागि अनुकूल अवस्था सिर्जना गर्न बनाइएका छन्। ऋणमा ब्याज, नाफा फिर्ता र अनुचित व्यापार अभ्यास (उच्च मूल्यमा बेच्ने र सस्तोमा किन्ने) हरू प्रयोग गरेर गरिब देशलाई अझै गरिब बनाउने काम भइरहेको छ।
फलस्वरुप ग्लोबल साउथको अवस्था अत्यन्तै गम्भीर बनेको छ। गरिबी अत्यन्तै उच्च छ। ती देशहरूमा बेरोजगारी दर उच्च छ। शिक्षा, स्वास्थ्य र आवास जस्ता सामाजिक पूर्वाधारहरू सबै दयनीय अवस्थामा छन्। भौतिक पूर्वाधार अत्यन्तै कमजोर अवस्थामा छ।
ग्लोबल नर्थ अर्थात् विकसित पश्चिमाले विश्वव्यापी जनसंख्याको लगभग आठ भागको एक भागको मात्र प्रतिनिधित्व गर्दछ। अहिले विश्वव्यापी कुल ८ अर्बभन्दा बढी मानिसमा ग्लोबल नर्थले १ अर्बभन्दा कमको मात्र प्रतिनिधित्व गर्दछ। त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा पनि पश्चिमा अर्थतन्त्र (ग्लोबल नर्थ)को सापेक्षमा घट्दै गइरहेको छ।
पश्चिमी देशहरूले औपनिवेशिक कालमा तेस्रो विश्वबाट सम्पत्ति लुट्ने र विकासशील देशहरूको शोषण गरेर विश्वव्यापी वित्तीय र शासन प्रणालीहरूलाई नियन्त्रण गर्दै आएका थिए। ग्लोबल साउथको बढ्दो आर्थिक र राजनीतिक प्रभावका कारण अब परिदृश्य परिवर्तन हुँदैछ। अर्को शब्दमा, पश्चिमी देशहरूले विगतमा जस्तै विकासशील देशहरूको शोषण गर्न अब सक्दैनन्।
अहिले चीन ग्लोबल साउथको सबैभन्दा प्रभावशाली देश हो। पश्चिममा धेरैका लागि, ग्लोबल साउथ मुख्यतया ब्रिक्सले प्रतिनिधित्व गर्दछ। तर यो पूर्ण सत्य होइन। चीनले ब्रिक्स र जिबिस सहित अन्य संस्थाहरूमा बढ्दो रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
चीनले ग्लोबल साउथलाई थप खुला र समावेशी दृष्टिकोण अपनाउन र सबै देशहरूको आधुनिकीकरणलाई साकार पार्न एकता र सहकार्यलाई बढावा दिन पनि आह्वान गरिरहेको छ। यसमा शान्तिपूर्ण विकास, पारस्परिक रूपमा लाभदायक सहयोग र साझा समृद्धि समावेश हुनुपर्छ भन्ने चिनियाँ मान्यता रहेको छ।

विगत २० वर्षमा विश्वको आर्थिक वृद्धिमा ग्लोबल साउथको योगदान ८० प्रतिशत पुगेको छ र विगत ४० वर्षमा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा २४ प्रतिशतबाट बढेर ४० प्रतिशतभन्दा बढी पुगेको छ।
विश्व विकासमा असमान वितरण र प्राकृतिक स्रोत–साधनमाथिको एकपक्षीय प्रभुत्वका विरुद्धमा चीनले नयाँ दृष्टिकोण अगाडि सारेको छ। चीनको नेतृत्वले सधैं आफ्नो नीति र विकासशील विश्वसँगको सम्बन्धलाई एकता, पारस्परिक लाभ र साझा सहयोग प्रवर्द्धनको सिद्धान्त अँगालेको छ।
चीनले आफ्नो विकाससँगै ग्लोबल साउथका बाँकी देशहरूसँग आफ्नो समृद्धि बाँड्न थालेको छ। यसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण प्राप्त गर्न नसक्ने धेरै कम विकसित देशहरूमा लगानी गरेको छ। अहिले आएर चीन आर्थिक रूपमा निकै सम्पन्न देशको रूपमा उदाएको छ। तसर्थ चीनले युगान्तकारी कार्यक्रमहरू प्रस्ताव गरेर सबै मानिसको सपना साकार बनाउने लक्ष्य निर्धारण गरेको छ।
सन् २०१३ मा, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई अभियान अगाडि सारे। यस अभियानले धेरै देश र क्षेत्रलाई सडक, बन्दरगाह र रेलमार्गद्वारा जोड्दै महत्त्वपूर्ण पूर्वाधार स्थापना गर्न लगानी जुटाउने काम गर्दछ। जुन विकासशील देशहरूमा ज्यादै ठूलो अभाव थियो।
ती भौतिक परियोजनाहरू नभएकै कारण दक्षिणी गोलार्धको विकासमा ठूलो चुनौती थपेको थियो। बेल्ट एण्ड रोड परियोजनाहरूमा गरिने लगानी धेरै दिगो तरिकाले आर्थिक प्रगतिलाई गति दिनका लागि रहेको चीनले प्रष्ट्याउँदै आएको छ। अहिलेसम्म यो विशाल विशाल आधुनिकीकरण अभियानका रूपमा रहेको बीआरआईमा १५० भन्दा बढी देशहरू जोडिएका छन्।
बीआरआईले सबै ठाउँका मानिसलाई विकास साझेदारीमा एकसाथ उभ्याएको छ र विकासोन्मुख देशहरूको अर्थतन्त्रलाई पहिले कहिल्यै नगरिएको तरिकाले एकीकृत गरिरहेको छ। यसले विभिन्न देशहरूको सार्वभौमिकतामा योगदान पुर्याइरहेको छ, जसले गर्दा उनीहरूलाई समान साझेदारको रूपमा भाग लिन अनुमति मिलेको छ।
ती देशहरूलाई आफ्ना उत्पादनहरूमा मूल्य थप्न र अविकसित दुष्चक्रबाट बाहिर निस्कन सहयोग गर्न बीआरआई सञ्जीवनी बुटी बनेको छ। बीआरआईका परियोजनाहरूले मानिसहरूलाई एकअर्काको नजिक ल्याएर सद्भाव र भ्रातृत्व पनि विकास गराएको छ।
अमेरिका र युरोपेली देशहरूको तुलनामा ग्लोबल साउथमा चिनियाँ लगानीहरू बीचको गुणात्मक भिन्नता स्पष्ट देखिन्छ। चिनियाँ लगानीहरू सबै ग्लोबल साउथका लागि धेरै आवश्यक पूर्वाधार निर्माण गर्न उन्मुख छन्। यसले आर्थिक गतिविधिहरूलाई बढावा दिन्छ र थप मूल्य तथा दिगो विकासलाई प्रोत्साहन गर्छ। यी लगानीहरू पछौटेपनलाई पार गर्न अपरिहार्य छन्।
ग्लोबल साउथमा पश्चिमी लगानीहरू सधैं सम्बन्धित देशहरूको प्राकृतिक स्रोतहरूको शोषणमा केन्द्रित छन्। उदाहरणका लागि क्यारिबियन मुलुकहरू गुआना, सुरिनाम र जमैका लगायतका कैयौं राष्ट्रहरू धेरै वर्षदेखि बक्साइटका प्रमुख उत्पादकहरू हुन्।
तर ती देशहरू अझै पनि उल्लेखनीय आल्मुनियम उत्पादक बन्नका लागि घुमाउरो बाटोमा छन्। किनभने पश्चिमा शक्तिले कहिल्यै पनि ती देशमा ऊर्जा क्षमता विकास गराएनन्। त्यसैले खनिजको प्रशोधन साम्राज्यवादी देशहरूमा गरेर ती विकासोन्मुख मुलुकको प्राकृतिक सम्पदामाथि ब्रह्मलुट गरिंदै आएको देखिन्छ। सुन, हीरा, म्याङ्गनिज जस्ता अन्य खनिजहरूमा पनि अफ्रिकी मुलुकहरूलाई त्यस्तै गरिंदै आएको छ।
नेपाल अझै पनि कृषिप्रधान मुलुक हो। तर कृषिमा हामी मुख्यतया कच्चा पदार्थका उत्पादक हौं। नेपालमा उत्पादित चिया युरोपमा गएर प्रशोधन भई निकै महङ्गोमा बिक्री हुन्छ तर नेपालको पूर्वी भेगका चिया किसानहरूले नाफा त कुरै छोडौं आफ्नो श्रमको मूल्य पनि पाएका छैनन्।
प्राकृतिक साधनमाथि स्थानीयको अधिकार र विकासको समान वितरणको नारा अँगालेकाले नै आज चीनमाथि पश्चिमी शक्तिहरूले आक्रमण गरिरहेका छन्। पश्चिमा शक्ति विश्वव्यापी दक्षिणमा आफ्नो शोषण कायम राख्न र चीनको साझा जितको सहयोगात्मक कार्यक्रम र पारस्परिक सम्मान निर्माण गर्नबाट चीनलाई रोक्न खोज्दैछन्। पश्चिमा शक्तिको मुख्य उद्देश्य नै तेस्रो विश्वलाई गरिब, अत्यधिक ऋणी र आफूमाथि निर्भर राखेर प्रभुत्व लाद्नु हो।
पश्चिमको मानसिकतालाई चिरेर मित्रताको हात अगाडि बढाउँदै सद्भावपूर्ण दिगो विकास गर्नु नै चीनको उद्देश्य हो। चीनको यही उद्देश्य ग्लोबल साउथसँग मेल खान्छ।
चीनले विभिन्न सभ्यतालाई एकअर्कालाई सम्मान गर्न र सद्भावमा बस्न प्रोत्साहित गर्दछ। धेरै विश्वव्यापी मुद्दाहरूमा चीन र पश्चिमाको फरक दृष्टिकोण रहेको छ। पश्चिमी दृष्टिकोण विश्व स्रोत र अर्थतन्त्रको प्रभुत्व र नियन्त्रणको दर्शनमा आधारित छ। यसले विभिन्न संस्कृति र मान्यतामा कुनै ध्यान दिंदैन।
यसको लक्ष्य भनेको सम्पूर्ण मानव जातिमाथि आफ्नो प्रणाली र मूल्यमान्यताहरू लाद्नु हो। जसले गर्दा उनीहरू अत्यन्तै आक्रामक हुन्छन्, प्रतिबन्धहरू लगाउँछन्, नाकाबन्दी गर्छन् र आफ्नै बाटोमा लाग्न युद्धमा पनि जान्छन्।
यता चिनियाँ दृष्टिकोण चाहिं फरक छ। अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा पारस्परिक लाभलाई प्रवर्द्धन गर्ने, सांस्कृतिक भिन्नताहरूलाई सम्मान गर्ने, एकअर्कालाई राम्रोसँग बुझ्ने र विभिन्न सभ्यताबीच शान्ति र मित्रतालाई प्रवर्द्धन गर्ने नीति नै चिनियाँ दर्शनशास्त्र हो।
ग्लोबल साउथले अन्ततः नवउपनिवेशवादको अन्त्य गर्दैछ र विश्वव्यापी मुद्दाहरूमा चीनको नयाँ दृष्टिकोणका कारण खुलेका सम्भावनाहरूका कारण यसले अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो भूमिका खेलिरहेको छ।
विस्तारित सदस्यता र प्रतिष्ठित बेल्ट एण्ड रोड इनिसिएटिभ र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ सहितको समूहीकरणसम्म, चीनले दशकौंदेखि वास्तविक परिणामका लागि अवस्थित प्लेटफर्महरूलाई उपयोग गर्दै आएको छ, पुरानो संस्थाहरूको सुधारलाई अगाडि बढाइरहेको छ र ग्लोबल साउथका लागि नयाँ मञ्चहरू निर्माण गरिरहेको छ।
चीनले ग्लोबल साउथ देशहरूलाई उनीहरूको आवश्यकता व्यक्त गर्ने, सामूहिक आर्थिक हितलाई प्रवर्द्धन गर्ने र उनीहरूको संयुक्त वार्ता क्षमता सुधार गर्ने माध्यम प्रदान गरिरहेको छ। चीन दक्षिण-दक्षिण वैज्ञानिक तथा प्राविधिक सहयोगका लागि खुला, समावेशी र पारस्परिक रूपमा लाभदायक प्रणाली निर्माण गर्न प्रतिबद्ध छ।
विज्ञान, प्रविधि र नवप्रवर्तनमा अन्तर्राष्ट्रिय आदानप्रदान र सहयोगको सन्दर्भमा चीनले विकासोन्मुख मुलुकको सोच र कार्यहरूमा अझ खुला हुनेछ। जसले गर्दा सबै देशहरूले डिजिटल लाभांशबाट समान रूपमा लाभ उठाउन सक्नेछन्।
चीनले विकासको खाडलहरू पूरा गर्न र विश्वव्यापी समानताको रक्षा गर्न डिजिटल र प्राविधिक सहकार्य उपयोग गर्ने अतिआवश्यकतालाई जोड दिन्छ। विशेषगरी जब मुट्ठीभर देशहरूले विश्वव्यापी रूपमा पेटेन्ट, प्रविधि र अनुसन्धान केन्द्रहरूको बहुमत एकाधिकार गरिरहेको अवस्थामा चीनको यस्तो कार्यले सबै मुलुकलाई ससम्मान विकास साझेदार बनाएको छ।
चीन आफैं पनि सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो। एक विकासशील देश र ग्लोबल साउथको सदस्यका रूपमा, चीन सधैं विकासशील देशहरूसँग ऐक्यबद्धतामा उभिएको छ। उनीहरूसँग साझा भविष्यको खोजी गर्दै आएको छ। जहाँ उनीहरूले अब किनारा लाग्नुपर्दैन। आफ्ना वैधानिक माग र चिन्ताहरू अब भूराजनीतिको चपेटामा च्यापिनुपर्दैन र विकास साझेदारमा अपमानित भएर पछि पर्नुपर्दैन।
स्थिर आर्थिक वृद्धिसँगै सुधार र खुलापनले गर्दा चीन परिवर्तनशील विश्वव्यापी गतिशीलतामा स्थिर छ। गरिबी निवारण, घरेलु उपभोग वृद्धि र गुणस्तरीय विकासलाई पछ्याउने दृढ संकल्पले चीन विश्व विकासको इन्जिन बनेको छ।
आफ्नै विकासको साथ विश्वव्यापी अर्थतन्त्रमा योगदान पुर्याउनुको साथै, चीन बहुपक्षीयता, शान्ति र साझा विकासका लागि एक कट्टर समर्थक बनेको छ।
सन् २०१३ मा चीन नयाँ युगमा प्रवेश गरेको छ। नयाँ युगमा प्रवेश गरेसँगै चीनले व्यापक सुधार नीतिहरूको नयाँ चरण शुरु गर्यो। फलस्वरुप बेल्ट एण्ड रोड इनिसिएटिभ अर्थात् बीआरआई प्रस्ताव गर्यो। त्यसपछि चीनले सुरक्षा, विकास र सभ्यतामा केन्द्रित थप तीन पहलहरू प्रस्ताव गरेको छ। ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले सामाजिक र आर्थिक विकासको वकालत गर्दछ। यसले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूका लागि २०३० एजेन्डा अनुरूप स्वस्थ र हरित संसार विकास गर्न विश्वव्यापी प्रयासहरूका लागि आह्वान गरेको छ।
सन् २०२४ को नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा भएको १९औं जी २० शिखर सम्मेलनको पहिलो सत्रमा चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी विकासलाई समर्थन गर्न आठ प्रमुख कार्यहरूको घोषणा गरेका छन्। उनको घोषणालाई विकासशील देशहरूका लागि भरपर्दो र दीर्घकालीन साझेदार र विश्वव्यापी विकासमा सक्रिय योगदानकर्ताको रूपमा चीनको भूमिकाको अवतार मानिएको छ।
त्यसको एक महिना अगाडि अर्थात् सेप्टेम्बरमा चीन-अफ्रिका सहयोग मञ्चको शिखर सम्मेलनमा सी चिनफिङले आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउन १० साझेदारी कार्यहरूलाई आगामी तीन वर्षमा अफ्रिकालाई ३६० अर्ब चिनियाँ युआन वित्तपोषण गर्ने उद्घोष गरेका थिए।
उनले अफ्रिकाका ३३ देशहरू सहित चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै कम विकसित देशहरूलाई शतप्रतिशत शून्य भन्सार कर लागू गर्ने घोषणा गरेका छन्। सीको यस्तो घोषणाले चीनलाई यस्तो कदम चाल्ने पहिलो प्रमुख विकासशील देश र पहिलो प्रमुख अर्थतन्त्र बनाएको छ।
तीन वर्षअघि स्थापना भएदेखि विश्वव्यापी विकास पहलले लगभग २० अर्ब डलर विकास कोष परिचालन गरेको छ र १,१०० भन्दा बढी परियोजनाहरू सुरु गरेको छ।
चीनले अफ्रिका, ल्याटिन अमेरिका, मध्य एसिया र दक्षिणपूर्वी एसिया जस्ता क्षेत्रका देशहरूसँग हरित विकास र दिगो विकासका आवश्यकताहरूसँग मिल्दोजुल्दो गरी नयाँ ऊर्जा सवारी साधन, लिथियम ब्याट्री र सौर्य प्यानल जस्ता उन्नत क्षमताहरू बाँड्दै आएको छ।
यसैगरी सुरक्षा चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी सहमति निर्माण गर्नका लागि विश्वव्यापी सुरक्षा पहलको प्रस्ताव पनि गरेको छ। यसले विश्व शान्ति र क्षेत्रीय स्थिरता कायम राख्न रचनात्मक भूमिका खेल्ने विश्वास गरिन्छ।
सन् २०२२ मा सी चिनफिङले विश्वव्यापी सुरक्षा पहलको घोषणा गरेका हुन्। स्थिरता, पारस्परिक विश्वास र साझा मानवताको समावेशीमा आधारित प्रणालीको वकालत यस पहलले गर्दछ। यो ढाँचाले स्रोतहरूमा कृत्रिम विभाजन र द्वन्द्वहरू लाद्ने पश्चिमी अभ्यासलाई चुनौती दिन्छ र यसको सट्टा विश्वव्यापी सहयोगको दृष्टिकोणलाई प्रवर्द्धन गर्दछ।
त्यसैगरी चीनले विश्वव्यापी सभ्यता पहललाई अगाडि बढाएको छ। सभ्यताहरू बीच संवादका लागि थप मञ्चहरू प्रदान गर्न चीन इच्छुक छ। जसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको अन्तर्राष्ट्रिय र ऐतिहासिक जिम्मेवारीलाई प्रतिबिम्बित गर्दछ। सभ्यताहरू बीचको संवाद एक अन्तर्राष्ट्रिय सार्वजनिक हित हो जसले भेदभाव र पूर्वाग्रह हटाउन सहयोग गर्छ। समझदारी र विश्वास बढाउने पहल गर्छ र द्वन्द्व तथा विवादहरूको तर्कसंगत समाधानलाई प्रवर्द्धन गर्न भूमिका खेल्छ।
अन्य देशहरूमा आधुनिकीकरणको आफ्नै मोडेल थोपर्ने केही पश्चिमी देशहरूभन्दा फरक चीनले विश्वको आधुनिकीकरणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न सभ्यताहरू बीच संवाद र पारस्परिक सिकाइको वकालत गर्दै आएको छ।
ग्लोबल साउथ सहयोगलाई अझै ठोस उपलब्धि प्राप्त गर्नका लागि चीनले ग्लोबल साउथ अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरिसकेको छ। त्यसैगरी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू अन्तर्गत एक हजार छात्रवृत्ति प्रदान गर्ने पनि घोषणा गरेको छ। आगामी पाँच वर्षमा ग्लोबल साउथ देशहरूलाई एक लाख तालिमका अवसरहरू प्रदान गरेर चीनले ग्लोबल साउथ युवा नेता कार्यक्रम पनि सुरु गर्ने जनाएको छ।
सुरक्षा, एकता, सहकार्य, सद्भाव, मैत्री, विश्वबन्धुत्व, विकास साझेदारी, स्थिरता, सभ्यता प्रवर्द्धन आदि कुरामा चीनले अगाडि सारेको नीति तेस्रो विश्वका लागि लाभदायक छ। यसले विश्व शान्ति र विकास सँगसँगै मानव भाग्य समुदाय निर्माण गर्नमा अहं भूमिका खेल्ने कुरामा कसैको दुईमत हुन सक्दैन ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4