
News Summary
Generated by OK AI. Editorially reviewed.- ट्राफिक प्रहरी मनिष कुमार महतो दशैंमा घर जान नपाएर काठमाडौं कोटेश्वरमा सवारी व्यवस्थापनमा खटिएका छन्।
- ट्राफिक प्रहरी मोहन सिंह कार्की र पूजा दसौदी पनि दशैंमा घर नजाने भए पनि सडकमा सेवा दिइरहेका छन्।
- ट्राफिक प्रहरी कल्पना चौधरीले कार्यालयमै दशैं मनाउने योजना बनाएकी छन् र सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेकी छन्।
१४ असोज, काठमाडौं । दशैंमा घर जाने रहर कसलाई हुँदैन र ? हुन्छ नि ! एकातर्फ गाउँघर जाने यात्रुको लर्को थियो ।
कति यात्रुहरू सवारी साधनको प्रतीक्षामा थिए । कोही निजी सवारीबाट गाउँघर गइरहेका थिए । यो काठमाडौंको कोटेश्वर चोकमा मंगलबार बिहान देखिएको दृश्य हो ।
त्यही चोकमा ट्राफिक प्रहरी मनिष कुमार महतो भने दशैंमा घर जान लागेका यात्रु र सवारीको व्यवस्थापनमा खटिएका थिए ।
उनलाई पनि गाउँघर सर्लाहीका जान मन नभएको होइन । तर जिम्मेवारीले उनी सेवामा खटिइरहेका थिए । सधैंझैं उनी बिहानैदेखि यात्रु र सवारीको व्यवस्थापनमा जुटिरहेका थिए ।
‘घर जाने रहर त हुन्छ नि । तर घर परिवारको माया मारेर जनताको सेवामा सडकमा खटिएको छु,’ उनले भने, ‘दशैंमा आइज भनेर घरबाट फोन आउँछ । जागिर खाएपछि जनताको सेवा गर्नै पर्यो ।’ उनले आफ्नो जिम्मेवारीको बोध गरे ।
दुई दिन भयो, सधैंजसो जाम हुने काठमडौं शहर सुनसान बनेको छ । न्यून सवारी साधन चलेका छन् । तर उनी गाउँघरलाई सम्झदै सेवारत थिए ।
‘दुई दिन भयो । जाम छैन । गाउँघर जाने गइरहेका छन् । शहरमा जाम कम भएको छ,’ महतोले सुनाए । ७ वर्ष भयो उनले सेवा प्रवेश गरेको । चाडपर्वमा पनि सेवामै खटिनु पर्ने बाध्यता ट्राफिक प्रहरीको छ ।
दशैंमा घर नगएका महतो तिहारमा जाने योजना सुनाए । ‘दशैंको टीका कार्यालय प्रमुखको हातबाट लगाउने हो । अब तिहारमा घर जाने योजना छ,’ उनले भने ।
बाँके नेपालगन्जकी पूजा दसौदी र डडेल्धुराका मोहन सिंह कार्की त्रिपुरेश्वरमा सवारी व्यवस्थापमा खटिएका थिए । कार्की र दसौदी पनि यसपटक दशैंमा घर गएनन् । कार्कीले सेवा प्रवेश गरेको १५ वर्ष भयो तर उनी एक–दुई पटक दशैं मनाउन घर पुगेका रहेछन् ।
‘दशैंमा घर गएको छैन । एक–दुई पटक गए त्यसपछि गएको छैन । घरमा सबै आउनु हुन्छ । मलाई पनि फोन गरेर आइज भन्नु भएको छ । तर यस्तो बेला झन् विशेष सेवा दिनुपर्छ । सवारी साधन हेर्नुपर्छ,’ कार्कीले भने ।
दसौदी ट्राफिक सेवामा प्रवेश गरेको ४ वर्ष भयो । दशैं भन्ने बित्तिकै उनलाई घरपरिवार सँगै बसेर मनाउने भन्ने लाग्छ । तर यसपटक उनी कामसँगै दशैं मनाउँदै छिन् ।
‘दशैं भन्ने बित्तिकै घरपरिवारसँग बसेर मनाउने हुन्छ । टाढा–टाढा बसेको हुन्छ । दशैंमा सबै परिवारको भेट हुन्छ । तर यसपटक म जान नपाउने भए । दशैंमा ठूलाबडाबाट आर्शिवाद टीका जमरा थाप्न रमाइलो हुन्छ । यसपटक सडकमा डिउटी गर्दै दशैं मनाउने हो,’ उनले भनिन् ।
कैलाली धनगढीकी कल्पना चौधरी ट्राफिक प्रहरीमा जागिर खाएको १२ वर्ष पूरा भयो । तर उनी पनि प्रायजसो दशैंमा डिउटीमै हुन्छिन् । टीकाको भोलिपल्टै आउनु पर्ने बाध्यताले पनि घर जान समस्या हुने गरेको उनी बताउँछिन् ।
‘घर टाढा छ । टीकाको भोलिपल्ट आउनु पर्छ । बाटो पनि खराब छ । आउन भ्याइदैन,’ उनले भनिन्, ‘यस्तोबेला झन् सडकमा खटिनुपर्छ । घर जाउँ–जाउँ त लाग्छ नि तर जागिरले जान मिलेन ।’
यसपटक ट्राफिक प्रहरी कार्यालयमै साथीहरूसँग मिलेर दशैं मनाउने योजना उनको छ । ‘घरबाट बोलाउनु भएको छ तर गइँदैन । कार्यालयमै साथीहरू मिलेर दशैं मनाउने हो । मिठो–मसिनो पकाएर खाने । कार्यालय प्रमुखको हातबाट टीका लगाउने,’ उनले भनिन् ।
कतिपय ट्राफिक प्रहरीले यसपटक साथीलाई तिहार र छठमा आफू जाने योजना बनाएका छन् । नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापनमा खटिएका बाराका अमोद यादव छठमा घर जाने बताउँछन् ।
‘दशैंको सट्टा छठमा जाने हो । तराईमा दीपावली र छठ रमाइलो हुन्छ । अहिले अरु साथी जानु भएको छ । सबैलाई एकै पटक बिदा मिल्दैन,’ उनले भने ।
दशैंमा पनि सडकमा देखिने ट्राफिक प्रहरीहरूको सबैको साझा कथा हो । तर, चाडपर्वको समयमा दुर्घटनाको सम्भावना उच्च हुन्छ । सवारीसाधनको जाँच, चालकको मदिरा सेवन परीक्षणको जिम्मेवारी ट्राफिक प्रहरीको काँधका छ ।
त्यसैले देशभर दशैं मनाइरहँदा ट्राफिक प्रहरी भने सडकमा बिहानैदेखि काममा खटिरहेका छन् । उनीहरु अधिकांशको सन्देश छ, ‘ट्राफिक नियमको पालना गरौं । सभ्य भएर सवारी चलाऔं ।’
प्रतिक्रिया 4