१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पसका कमल पौडेलले २ स्वर्ण पदक र एक पुरस्कार पाए । एमए अर्थशास्त्रमा प्रथम भएका उनले तारापद चौधरी स्वर्ण पदक र खगेन्द्र मानसिं स्वर्ण पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाए ।
‘मिहिनेतको फल मिठो हुन्छ । मेडल जित्छु भनेर पढेको थिइनँ । रोचक विषय भएकाले पढेको हुँ । यो दैनिक जीवनसँग जोडिने वियष पनि हो,’ दशरथ रंगाशालामा उनले आफूले अध्ययन गर्नुको कारण सुनाए ।

उनी सरकारी सेवामा कार्यरतसमेत छन् । यातायात व्यवस्था विभागअन्तर्गत कार्यरत उनले कामसँगै अध्ययन पूरा गरेर मेडल हात पारेका हुन् । देशमै अवसर खोज्नुपर्नेमा उनको जोड छ ।
‘राम्रो अवसर देशमै हुनुपर्छ । देशमै केही न केही काम गर्न सकिन्छ । तर जति कमाउनु पर्ने हो, त्यति नभएर नेपाली युवा विदेशिन बाध्य छन् । यसमा सरकारले ध्यान दिनुपर्छ,’ सरकारलाई उनी देशमै युवा बस्ने वातवरण बनाउन आग्रह गर्छन् ।
०००
लोकराज ज्ञवाली पदक र पुरस्कार नेपाल ल क्याम्पसकी भावना अधिकारीले पाइन् । बीएएलएलबीमा प्रथम भएर पदक पाएकी अधिकारीले भर्ना भएको पहिलो दिनको कक्षाबाट नै पदक पाउने गरी पढेकी थिइन् । पहिलो दिनको कक्षामा सरको प्रस्तुति थियो । सरको मेडल सहितको फोटो उनले देखेकी थिइन् ।
‘सर यो के को अवार्ड हो ?,’ उनले पहिलो दिन कक्षमा सरलाई सोधेकी थिइन् । ‘बीएएलएलबी टप गर्यौं भने तिमीले पनि यस्तै अवार्ड पाउने छौँ,’ उनलाई सरले जवाफ दिएका थिए । त्यही फोटो देखेर उनले पनि पदक जित्ने आशा राखेकी थिइन् । ‘मिहिनेत गरेँ । मेडल जित्छु भन्ने सोचेर नै पढेको थिएँ, आज पाएँ,’ उनले भनिन् ।

कलेजमा पढेको कुरालाई प्रत्येक दिन उनी नोट बनाएर पढ्ने गर्थिन् । जसले उनलाई सफलता दियो । ‘कक्षामा पढेको कुरालाई नोट बनाएर पढ्ने गरेको थिएँ,’ उनले भनिन् ।
हाल उनी कानुन अधिकृतको रूपमा कार्यरत समेत छिन् । देशमै बसेर कानुन क्षेत्रबाट सेवा गर्ने योजना उनको छ । ‘देशमै बसेर काम गर्छु । कानुनमा सेवा गर्छु । जहाँ अँध्यारो छ त्यहाँ उज्यालो खोज्नुपर्छ । यहाँ पनि अवसर छ,’ उनी देशमा अवसर खोज्नुपर्नेमा जोड दिन्छिन् ।
०००
सुमन रिजाल पदक एमए समाजशास्त्रका सौरभ कोइरालाले हात पारे । उनले पनि पदक पाउँछु भनेर पढेका थिएनन् तर नियमित पढाइलाई निरन्तर जारी राखे । अन्ततः उनको हातमा पनि पदक पर्यो ।

‘मेडल पाउँछु भनेर पढेको होइन । नियमित पढ्दा मेडल पाएँ । नेपालमै केही गर्ने योजना छ,’ उनले भने, ‘विदेश पलायन हुने सोच मेरो छैन ।’
रिसर्च र एकेडेमिक क्षेत्रमा नेपालमै काम गर्न चाहन्छन् उनी । यसका लागि राज्यले पुलको काम गर्नुपर्ने तर्क उनको छ । ‘यो बेला अलमल्ल जस्तो हुने रहेछ । राज्यले अब मार्केटमा पुलको काम गर्नुपर्छ । कसरी काम खोज्ने भन्ने छ । यसमा राज्यले मिडियटरको काम गर्नुपर्छ,’ उनले भने ।
०००
ज्ञानप्रसाद पुरस्कार के एन्ड के कलेजकी सुभाषी कार्कीले पाइन् । उनले महिलाहरूमध्ये सर्वप्रथम भएर पदक पाएकी हुन् ।

‘मेडल जित्छु भनेर सोचेको पनि थिइनँ । कलेजबाट मेडल पाउने खबर पाएको थिएँ । आफ्नो रुचिको विषय भएकाले राम्रो भयो,’ उनले भनिन् ।
उनले मानसिक स्वास्थ्यमा नेपालमै बसेर काम गर्ने योजना सुनाइन् । ‘मास्टर्स इन साइकोलोजीको अध्ययन गरिरहेको छु । मानसिक स्वास्थ्यमा नेपालमा काम गर्ने सोच छ,’ उनले भनिन् ।
०००
शान्ति नारायण मिश्र पदक एमए पुस्तकालयकी रस्मिता कार्कीले पाइन् । उनी यो पदकलाई मिहिनेतको फल ठान्छिन् ।
‘मिहिनेतको फल पाएको छु,’ उनले भनिन् । धेरै समय पढेर भन्दा पनि थोरै समय ध्यान दिएर पढेमा राम्रो नतिजा आउने अनुभव उनले सुनाइन् ।
‘दिनभर पढेर होइन, ध्यान दिएर पढ्यो भने थोरै समय पढ्ने भने पनि राम्रो नम्बर ल्याउन सकिन्छ,’ उनले भनिन् ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकाय अन्तर्गतका एमफिल तहका विशाल जोशीले पाए ।

इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबीएकी रक्षा भेटुवालले पाइन् ।
मदन विद्या वातावरण विज्ञान पदक र पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा निरु बस्नेतले पाइन् ।
ने.बैं.लि.सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसका सुनिल पुडासैनीले पाए । रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार सरस्वती बहुमुखी क्याम्पस एमबीएसकी समिता महर्जनले पाइन् । वडाकाजी मरिचमान सिं पदक एमए राजनीतिशास्त्र प्रतिभा पौडेलले हात पारिन् ।
ललित चन्द पुरस्कार पनि पौडेलले नै पाइन् । रुद्र कुमारी घिमिरे स्मृति पदक एमएस्सी माइक्रोबायोलोजी विषयमा काठमाडौं कलेज अफ साइन्स एन्ड टेक्नोलोजीका रविन्द्र पण्डितले पाए ।
डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा सुजन लामिछानेले हात पारे । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा अनुशा रोकाले पाइन् ।

रामविक्रम-शान्ता सिजापति पदक एमए भाषा विज्ञान विषयमा आर्यन भट्टराईले पाए । भाइस चान्सलर पदक स्नातक तहका फुर्वा शेर्पाले पाए । भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पदक पनि शेर्पाले नै पाए । प्रितम चित्रकार पुरस्कार बीएचएमका उवेन्द्रकुमार तामाङले पाए ।
शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका गौरव भुसालले पाए । ने.बै.लि. छत्रबहादुर पदक मकवानपुर बहुमुखी क्याम्पसका अन्वेश पोखरेलले र टीकावल्लभ डिलकुमारी घिमिरे स्मृति पदक बीएस्सी माइक्रोबायोलोजी विषयमा अग्रनी पौडेलले पाए ।
दीक्षान्त समारोहमा पोखरा महानगपालिकाका–२६ का वडा सदस्य सुदीपराज ढुंगानाले पनि स्नातकोत्तर तहको ग्रामीण अर्थशास्त्रमा दीक्षित भए ।

‘इको टुरिजममा सोधपत्र लेखेर दीक्षित भएको हुँ,’ उनले भने, ‘पोखरलाई ग्रेटर पोखरा बनाउने सोच छ ।’ जनप्रतिनिधिमा निर्वाचित भएपछि अध्ययन सुरु गरेका उनले जनप्रतिनिधि हुँदै अध्ययन पूरा गरेका हुन् ।
पदक नपाएका तर दीक्षित भएका विद्यार्थीले भने फरक मत राखेका छन् । यसरी सहभागी भएका धेरैजसो विद्यार्थीको योजना भने विदेशमा जाने रहेको बताए । श्रमअनुसार देशमा मूल्य कम भएकाले जीवन चलाउनका लागि विदेशिनुपर्ने गुनासो विद्यार्थीहरूले गरे ।
दीक्षान्तको आकर्षक नोबेल पुरस्कार विजेता काजिता
दीक्षान्त समारोहको विशेष आकर्षणका रूपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भए ।

त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी भएकाले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुगेको विश्वास पदाधिकारीहरूको छ ।
८९ हजार दीक्षित
त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ दीक्षित भए । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।
तस्वीर/ भिडियो : चन्द्रबहादुर आले र कमल प्रसाईं/अनलाइनखबर

साथै, २३ हजार ९८० जना अभिभावक-संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका थिए । यसको अनुपातमा करिब ५० हजारको हाराहारीमा उपस्थित रहेको त्रिविको दाबी छ ।
समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन विशेष अतिथि उपकुलपति प्रा.डा. दीपक आर्यालको विशेष आतिथ्यता रहेको थियो ।
























प्रतिक्रिया 4