News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम बंगालको सुन्दरवन क्षेत्रमा फिसिङ क्याटले मोनिटर लिजार्डको शिकार गरेको दुर्लभ घटना जुलाईमा देखिएको छ।
- वन्यजन्तुविद्हरूले फिसिङ क्याटको यो व्यवहारले क्षेत्रको आहारामा कमी आउन सक्ने अनुमान गरेका छन्।
- फिसिङ क्याटले प्रायः माछा खाने भए पनि, भोकका कारण मोनिटर लिजार्ड जस्तो शक्तिशाली सरीसृपको शिकार गरेको वन्यजन्तु फोटोग्राफरले बताएका छन्।
काठमाडौं । अक्सर माछा खाने ‘फिसिङ क्याट’ (मलाह बिरालो) ले मोनिटर लिजार्ड (गोहोरो)को शिकार गरेको दुर्लभ दृष्यले संरक्षणकर्मीको चिन्ता बढाएको छ । पश्चिम बंगालको सुन्दरवन क्षेत्रमा ‘माछा बाघ’ पनि भनिने फिसिङ क्याटले गोहोरोको शिकार गरेपछिसो क्षेत्रमा आहाराको कमी हुनसक्ने अनुमान वन्यजन्तुविदहरुले गरेका छन् ।
फिसिङ क्याट सिमसार क्षेत्रको सबैभन्दा ठूलो शिकारी स्तनधारी जनावर मानिन्छ । गत जुलाईको गर्मीमा बिहान सबेरै पर्यावरणविद् सौम्यदीप सान्तारले सुन्दरवन भ्रमणको क्रममा मलाह बिरालोले गोहोरोको शिकार गरेको दृष्य कैद गरेका थिए । यो दृष्यलाई ‘दुर्लभ’ भनिएको छ ।
गुजरातमा कार्यरत सान्तारले मोंगाबे इन्डिया अनलाइनलाई भनेका छन्, ‘हामी चढेको डुंगाबाट हामीले फिसिङ क्याटले मोनिटर लिजार्ड (गोहोरो)को शिकार गरेको देख्यौं ।’
उनी थप्छन्, ‘म पश्चिम बंगालको बागनान क्षेत्रको हुँ, जहाँ फिसिङ क्याटको संख्या राम्रो छ । एक नेचुरलिस्टका रूपमा मैले फिसिङ क्याटको इकोलोजी र व्यवहारबारे पढेको छु, तर मैले कहिल्यै तिनीहरूले मोनिटर लिजार्ड (गोहोरो) को शिकार गरेको देखेको थिइनँ ।’
वन्यजन्तु फोटोग्राफर सुदीप्ता चक्रवर्तीले पनि यही घटनाको फरक कोणबाट तस्बिर खिचेका थिए ।

फिसिङ क्याटसम्बन्धी कामका लागि परिचित वन्यजन्तु विज्ञ तियासा आध्याले भनेकी छन्, ‘यो निकै महत्वपूर्ण खोज हो । फिसिङ क्याटलाई वेटल्यान्ड इकोसिस्टमको टप शिकारी मानिन्छ । यसले देखाउँछ कि बलियो पुच्छर र फिसिङ क्याटकै हाराहारीको आकार भएको शक्तिशाली सरीसृप मोनिटर लिजार्ड पनि यसको शिकारमध्ये पर्छ ।’
जीवविज्ञानका लागि महत्वपूर्ण
आध्याका अनुसार फिसिङ क्याटले मोनिटर लिजार्डको शिकार गरेको अभिलेख प्राप्त भएको सम्भवत: यो पहिलो पटक हो । ‘केही अनुसन्धानपत्रहरूमा फिसिङ क्याटको आहारमा माछा, साना रोडेन्ट, सरीसृप र चराहरू पर्ने उल्लेख छ । तर मोनिटर लिजार्डलाई फिसिङ क्याटको ठूलो शिकार मान्न सकिन्छ,’ उनले भनिन् ।
फिसिङ क्याटबारे अध्ययन प्रकाशित गरेका पश्चिम बंगालका इकोलोजिस्ट सम्राट चक्रवर्तीले पनि यसलाई ‘अत्यन्तै अनौठो’ घटना भनेका छन् । ‘मैले फिसिङ क्याट र तिनको आहारबारे धेरै पेपर पढेको छु, तर मोनिटर लिजार्ड कहिल्यै तिनको मेनुमा परेको देखिनँ । वास्तवमा, १९८८ को एउटा पेपरमा राजस्थानमा गाईको शव खाइरहेको फिसिङ क्याटबारे उल्लेख छ, तर मोनिटर लिजार्डको कुनै तथ्य भेटिनँ ।’
उनका अनुसार सुन्दरवन क्षेत्रमा खानाको उपलब्धता कम छ । त्यसमाथि, सिमसार क्षेत्र अन्य प्राणीहरूसँग खानाका लागि प्रतिस्पर्धा हुन्छ । त्यसैले सम्भवत: यो जनावरलाई पर्याप्त खाना नपाएर अवसरवादी शिकार गर्न बाध्य बनाएको हुनसक्ने उनले अनुमान गरे ।
सुन्दरवन क्षेत्र हिलाम्मे भएकाले शिकारलाई छिटो सुरक्षित ठाउँतिर तान्नु सजिलो हुँदैन । एक वयस्क मोनिटर लिजार्ड शक्तिशाली सरीसृप हो । र, यस्तो संघर्षमा फिसिङ क्याटले जित्नुले बिरालो प्रजाति कति दक्ष शिकारी हुन्छन् भन्ने देखाउने उनले बताए ।
भोकाएको शिकारी
वन्यजन्तु फोटोग्राफर सुदीप्ता चक्रवर्तीले विगत डेढ दशकदेखि भारत र विदेशमा वन्यजन्तुका तस्बिर खिच्दै आएका छन् । जुलाईमा उनी सुन्दरवनमा ‘बोरो माँ’ नामकी बाघिनी र उसका बच्चाहरूको तस्बिर खिच्ने उद्देश्यले गएका थिए । तर यस यात्रामा फिसिङ क्याटले मोनिटर लिजार्ड मारिरहेको क्षण कैद गर्न पाउनु बोनस पाएसरह भएको उनले बताए ।
फिसिङ क्याटको घटनाबारे उनले भने, ‘फिसिङ क्याट प्राय: माछा नै समात्छ, जुन यसको मुख्य आहार हो । तर सम्भवत: यो फिसिङ क्याट केही दिनदेखि शिकार गर्न सफल भएको थिएन । त्यसैले भोकका कारण उसले मोनिटर लिजार्डको शिकार गर्यो । यो नियमित रूपमा हुने व्यवहार होइन ।’
सान्तार पनि चक्रवर्तीको भनाइसँग सहमत देखिए । उनले भने, ‘फिसिङ क्याटले मोनिटर लिजार्डको शिकार गर्नुका साथै अर्को अनौठो पक्ष पनि थियो । यो घटना बिहान करिब ८:३० बजे भएको हो । यो निकै असामान्य हो, किनकि फिसिङ क्याट वा प्राय: सबै बिरालो प्रजातिले राति नै शिकार गर्छन् । त्यसैले अत्यन्त नभोकासम्म उनीहरू बिहान देखिँदैनन् । साथै, गोहोरोको ढाडमा निकै कडा छाला हुन्छ, जसलाई च्यातेर मासु भेटाउनु फिसिङ क्याटका लागि सजिलो हुँदैन ।’
– मोङ्गाबे अनलाइनको सहयोगमा
प्रतिक्रिया 4