+
+
Shares

गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने

महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते ८:५७
वायाँबाट– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे
Listen News
0:00
0:30
🔊

११ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् ।

महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए ।

‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ एक पदाधिकारीका अनुसार महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

उनको घोषणा अनुसार पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने छन् । तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।

अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् ।

कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए । ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ शर्माले बैठकमा भनेका थिए ।

‘पावर’ले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्नेदेखि एक क्षेत्रमा हार्दा अर्को क्षेत्रमा, एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुञ्जेल क्षेत्र कब्जाको सोच राख्ने र श्वासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने राजनीतिक प्रवृत्ति भत्काउन जरूरी रहेको उनको भनाइ थियो ।

यसअघि सहमहामन्त्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए । २६ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए ।

बैठकपछि अनलाइनखबरसँगको कुराकानीमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको प्रतिक्रिया दिएका थिए ।

‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भनेका थिए, ‘पार्टी सुदृढीकरणको काममा लाग्छु ।’

निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस बाजुराले पाण्डेको नाम उम्मेदवारको आकांक्षीका रूपमा केन्द्रमा सिफारिस गरेको छैन । उनी प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

जेनजी आन्दोलनका बेला उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?