News Summary
Generated by OK AI. Editorially reviewed.- आज अक्षय तृतीया पर्व मनाइँदैछ, जुन दान, होम र जपको फल कहिल्यै नाश नहुने शुभ दिन हो।
- काठमाडौंका विभिन्न स्थानमा सामाजिक र धार्मिक संघ–संस्थाहरूले नि:शुल्क सातु र सर्वत वितरण गरिरहेका छन्।
- सर्वत पिउने बटुवा, वृद्धवृद्धा र बालबालिकाको दृश्यले काठमाडौंको व्यस्त जीवनमा मानवीय संवेदना जीवित रहेको देखाउँछ।
७ वैशाख, काठमाडौं । वैशाखको तप्त घाम, धुलो र धुवाँबीच काठमाडौं उपत्यकाका चोक–चोकमा एउटा भिन्नै किसिमको शीतलता महशुस भइरहेको छ । यो शीतलता मौसमको उपहार होइन, बरु हाम्रा पूर्खाहरूले सुम्पिएका संस्कार र संस्कृतिले दिएको ‘सर्वत’ को मिठास हो ।
आज अक्षय तृतीया, अर्थात् कहिल्यै क्षय नहुने पुण्य कमाउने दिन । शास्त्रअनुसार आजको दिनलाई अत्यन्त शुभ मानिन्छ । त्रेता युगको शुरुवात आजकै दिनबाट भएको र भगवान विष्णुले परशुराम अवतार लिएको विश्वास गरिन्छ ।
आजको दिन गरिएको दान, होम र जपको फल कहिल्यै नाश नहुने (अक्षय रहने) हुनाले यसलाई ‘अक्षय तृतीया’ भनिएको हो । काठमाडौंका रैथाने गल्लीदेखि नयाँ बस्तीहरूसम्म यो विश्वासले मानिसहरूलाई पुण्यको मार्गमा डोहोर्याइरहेको देखिन्छ ।
काठमाडौंका विभिन्न स्थानमा विभिन्न सामाजिक र धार्मिक संघ–संस्थाहरूले नि:शुल्क सातु र सर्वत बाँडिरहेका छन् ।
हरियो र रातो प्लास्टिकका जगहरूमा भरिएको त्यो सर्वत केवल तिर्खा मेटाउने पेय मात्र होइन, यो त परोपकारको एउटा महान नमूना हो । जौको सातुले शरीरलाई शक्ति र शीतलता दिन्छ भने सख्खर हालेको सर्वतले गर्मीमा शरीरको ऊर्जालाई सन्तुलित राख्छ ।
बटुवाहरू, मोटरसाइकल चालकहरू, वृद्धवृद्धा र साना बालबालिकाहरूले श्रद्धापूर्वक सर्वत पिइरहेको दृश्यले काठमाडौंको व्यस्त जीवनमा पनि मानवीय संवेदना जीवितै रहेको भान गराउँछ ।
अक्षय तृतीया एउटा यस्तो उत्सव हो जहाँ सूर्यको रापभन्दा मानिसको हृदयको प्रेम बढी चहकिलो देखिन्छ । बाटामा हिँड्ने अपरिचित मान्छेलाई रोकेर ‘सर्वत पिएर जानुहोस्’ भन्दै निम्तो दिने युवाहरू काठमाडौंका विभिन्न चोकमा भेटिन्छन् ।
तस्वीर/न्युज एजेन्सी नेपाल















प्रतिक्रिया 4