२४ वैशाख, काठमाडौं । मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले विधिवत रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् उनले नेपाली कांग्रेसबाट राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी हुन् ।
‘आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु,’ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा सहभागी भएको तस्बिरसहित अन्सारीले लेखेकी छन् ।
कांग्रेस ‘ल्याटरल इन्ट्री’ ले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडि बढेको उनको भनाइ छ ।
‘एउटा कुरा स्पष्ट छ, जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो,’ अन्सारीले भनेकी छन्, ‘आजबाट विधिवत रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु ।’
जेन–जी आन्दोलनपछि बदलिएको कांग्रेस र जरा अभियानमार्फत् सबैलाई जोड्ने सन्देशका साथ प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने उनले उल्लेख गरेकी छन् ।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानमा मंगलबार विभिन्न क्षेत्रका ३९ जना सदस्यमा नियुक्त भएका थिए ।
प्रतिक्रिया 4