News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले पुष्टि गरेको छ।
- पोष्टमार्टम रिपोर्ट अनुसार गैँडाको मुटुमा नजमेको कालो रगत र जलेको गन्ध पाइएपछि विद्युतीय धरापमा परेर मृत्यु भएको पुष्टि भएको हो ।
- गैँडा मृत्यु प्रकरणमा अनुसन्धानका लागि भीम प्रसाद दर्जीलाई पक्राउ गरिएको छ ।
७ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा जेठ १ गते मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको पुष्टि भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले मृत गैँडाको पोष्टमार्टम गर्दा करेन्ट लगाएर मारेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको ऐलानी जग्गामा अन्दाजी २५ वर्षको भाले गैँडा मृत फेला परेको थियो ।
मकैबारीभित्र फेला परेको गैँडाको नाकबाट रगत बगेको देखिएको थियो भने दाहिनेतिर पछाडिको भाग तथा पुच्छरतिर चिरा परेको घाउ पनि भेटिएको थियो । गैँडाको खाग तथा चारै खुट्टाका खुर सुरक्षित थियो ।
मृत्युको कारण पत्ता लगाउन कलेजो, फोक्सो, मिर्गौला, मुटु तथा आमाशयको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।
रिपोर्टमा के छ ?
गैँडाको आन्तरिक परीक्षण गर्दा फोक्सो र कलेजोमा रगत जमेको पाइएको छ । पाचन प्रणाली असामान्य नदेखिएको रिपोर्टमा उल्लेख छ । मुटुको परीक्षण गर्दा मुटुको कोठाहरूमा नजमेको कालो रगत फेला परेको थियो, जसमा जलेको जस्तो गन्ध आएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।
मिर्गौला फिका अवस्थामा देखिएको थियो भने अन्य मांसपेशी तथा हड्डी सम्बन्धी प्रणाली सामान्य अवस्थामा रहेको देखिएको छ ।
मुटुमा नजमेको कालो रगत तथा जलेको गन्धजस्ता संकेतहरूले गैँडालाई विद्युतीय धरापमा पारेर मारेको देखिएको जनाइएको छ ।
गैँडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरु डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला पारेको थियो ।
घटनास्थल वरपर गरिएको खोजतलासका क्रममा मृत गैँडा रहेको स्थानदेखि करिब २०० मिटर दक्षिणतर्फ लोकाहा खोलाको काँसघारीमा जिआई (बेन्डिङ) तारले बेरिएका २७ वटा बाँसका किल्ला लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको थियो ।
साथै घटनास्थलको उत्तर पश्चिमतर्फ रहेको घरबाट सिंगल फेजको रिङसहितको करिब १३ मिटर वाइरिङ तारसमेत बरामद भएको थियो ।
पक्राउ परेका दर्जीमाथि अनुसन्धान जारी
पक्राउ परेका दर्जीलाई १५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले जानकारी दिए । अनुसन्धान अधिकृत नै तोकेर दर्जीमाथि अनुसन्धान भैरहेको छ ।
विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा मारेमा वा यसको अंग किनबेच र ओसार पसार गरेमा १५ वर्षसम्म जेल सजाय वा १० लाख रुपैयाँसम्म जरिवाना या जेल र जरिवाना दुवै हुने कानुनी प्रावधान छ ।
निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म निकुञ्ज तथा आसपासका क्षेत्रमा २० वटा गैँडा विभिन्न कारणले मरेका छन् ।
प्रतिक्रिया 4