+
+
Shares

डोल्पामा जनप्रतिनिधिदेखि एमाले अध्यक्षसम्मले तिरेनन् डोजरको राजश्व

पूर्ण सार्की पूर्ण सार्की
२०८३ जेठ ७ गते १०:४३

७ जेठ, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा करिब ३० लाख रुपैयाँ बराबरको राजश्व उठ्नै बाँकी रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा मात्रै नगरपालिकाको डोजर प्रयोग गरेवापत उठ्नुपर्ने राजश्वमध्ये ठूलो रकम अझै दाखिला हुन बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ ।

पालिकाका अनुसार विभिन्न व्यक्ति तथा स्थानमा पालिकाको डोजर प्रयोग गरेवापत उक्त आर्थिक वर्षमा हालसम्म ४२ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको भए पनि अझै २९ लाख ५३ हजार ४ सय ५५ रुपैयाँ उठ्न बाँकी रहेको उल्लेख गरेको छ ।

सरकारी साधन प्रयोग गरी दर्जन बढीले लाखौं रकम नतिरे पछि पालिकाको राजश्व संकलनको अवस्था कमजोर बनेको पालिकाका एक कर्मचारीले जानकारी दिए ।

‘आर्थिक वर्ष २०८१/८२ मा धेरैले पालिकाको डोजर प्रयोग गरेका छन् । केहीले डोजर प्रयोग गरे बापतको राजश्व बुझाए पनि केहीले अझै तिरेका छैनन’, उनले भने, ‘लाखौं रुपैयाँ राजश्व उठाउन बाँकी छ । बारम्बार खबर गरेको भएपनि तिर्न मानिरहेका छैनन् ।’

उनका अनुसार पालिकाको डोजर विभिन्न व्यक्तिले प्रति घण्टाको ८ हजारका दरले प्रयोग गरेका छन् ।

जनप्रतिनिधिदेखि एमाले अध्यक्षसम्मले तिरेनन् राजश्व

पालिकाका अनुसार डोजर प्रयोग गरी पालिकाकै जनप्रतिनिधिदेखि नेकपा एमालेका जिल्ला अध्यक्षसम्मले राजश्व बुझाएका छैनन् ।

त्रिपुरासुन्दरी १ का वडा अध्यक्ष रामचन्द्र कुलालले पालिकाको डोजर ३ घण्टा प्रयोग गरेबापतको २४ हजार रुपैयाँ राजश्व दाखिला गर्न बाँकी छ ।

अध्यक्ष कुलालले डोजर प्रयोग गरेको स्वीकार्दै तिर्ने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘पहिला घर बनाउँदा प्रयोग गरेको हुँ, अब तिर्ने तयारी गर्दै छु ।’

त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका लंक रोकायले ६ घण्टाको ४८ हजार रुपैयाँ र त्रिपुरासुन्दरी ७ का वडा अध्यक्षको आदेशमा काम भएको तर राजश्व दाखिला नभएको भन्दै ५ घण्टाको ४० हजार रुपैयाँ समेत उठ्न बाँकी रहेको पालिकाले उल्लेख गरेको छ ।

उनीहरू मात्रै नभई दर्जनौं बढीले पालिकाको डोजर प्रयोग गरेर राजश्व दाखिला गरेको छैनन्। नगरपालिकाले राजश्व दाखिलाको बारम्बार पत्र पठाए पनि वास्ता नगरेको पालिकाको भनाइ छ ।

पालिकाका अनुसार जिल्ला भित्रका निर्माण व्यवसायीदेखि स्थानीय र केही कार्यालयसमेत पालिकाको डोजर प्रयोग गरेjfपतको लाखौं रकम उठाउन बाँकी छ ।

यो आर्थिक वर्ष २०८२/८३ मा समेत धेरैले पालिकाको डोजर प्रयोग गरेको तर लाखौंको हारहारीमा राजश्व उठाउन बाँकी रहेको पालिकाले जनाएको छ ।

नगरपालिकाको डोजर प्रयोगबापत उठ्नुपर्ने ठूलो रकम अझै दाखिला हुन बाँकी रहेपछि राजश्व संकलन र उपकरण प्रयोग व्यवस्थापनमा समस्या भइरहेको पालिकाले जानकारी दिएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?