भूमध्यसागरमा सुनामीको जोखिम निकै कम छ भन्ने आम धारणा विपरीत वैज्ञानिकहरूले निकै गम्भीर चेतावनी दिएका छन्। फ्रान्सेली रिभिएरा जस्तो क्षेत्रमा पनि कुनै पनि बेला विनाशकारी सुनामी आउनसक्ने र यसले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने नयाँ मोडेलिङ र ऐतिहासिक घटनाहरूले पुष्टि गरेका छन्।
युनेस्कोका अनुसार आगामी ३० वर्षभित्र भूमध्यसागरमा कम्तीमा एक मिटर अग्लो सुनामी आउने सम्भावना छ। १६ औँ शताब्दीदेखि हालसम्म फ्रान्सेली रिभिएरामा दुई मिटरभन्दा अग्ला छालहरूका करिब २० वटा घटनाहरू रेकर्ड भएका छन्।
सुनामीको सबैभन्दा ठूलो चुनौती भनेको यसको छोटो समयसीमा हो। विशेष गरी तटीय क्षेत्र नजिकैको पानीमुनिको पहिरो वा भूकम्पका कारण १० मिनेटभन्दा कम समयमा सुनामीको पहिलो छाल तटीय क्षेत्रमा आइपुग्न सक्छ, जुन समयमा परम्परागत चेतावनी प्रणालीहरू प्रभावकारी हुन सक्दैनन्।
सन् २०१२ देखि सञ्चालित फ्रान्सको राष्ट्रिय चेतावनी प्रणाली टाढाका भूकम्पबाट आउने सुनामीको सूचना १५ मिनेटभित्र दिन सक्षम भए पनि स्थानीय रूपमा उत्पन्न हुने सुनामीको हकमा यो प्रणाली पर्याप्त छैन। तसर्थ, तटीय जनसङ्ख्याले भूकम्पको महसुस हुने वा समुद्रको पानी एक्कासि पछि हट्ने जस्ता चेतावनीका संकेतहरू आफैँ बुझ्न आवश्यक छ।
वैज्ञानिकहरूले फ्रान्सेली मेडिटेरेनियन तटमा ५ मिटरभन्दा कम उचाइ र समुद्रबाट २०० मिटरसम्मको दूरीलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा पहिचान गरेका छन्। गर्मीयाममा यहाँ लाखौँ पर्यटक हुने भएकाले आपत्कालीन उद्धार चुनौतीपूर्ण रहेको छ। यसलाई मध्यनजर गर्दै मोन्टपेलियर विश्वविद्यालयको सहयोगमा नीस क्षेत्रमा विशेष उद्धार रणनीति अपनाइएको छ। यस अन्तर्गत छिटो र सुरक्षित स्थानमा पुग्न मद्दत गर्ने करिब १०० वटा आश्रयस्थल र पैदल मार्गहरूको नक्सांकन गरिएको छ।
प्रतिक्रिया 4