News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–८ पिंगलास्थानमा रहेको 'हाम्रो डिजिटल स्टुडियो'का सञ्चालक विष्णु न्यौपानेलाई ४ वैशाखको साँझ अपहरण गरी ५० हजार रुपैयाँ फिरौती असुलिएको छ।
- अपहरणमा संलग्न धनकुटाका योगेन्द्र पौडेल र धनुषाकी रवीन कोइरालालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
- पक्राउ परेकाहरूले उद्धारको नाममा ठगी गर्दै विदेशमा अलपत्र परेकाहरूका आफन्तसँग रकम असुल्ने गरेको प्रहरीले जनाएको छ।
८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–८ पिंगलास्थानमा रहेको ‘हाम्रो डिजिटल स्टुडियो’का सञ्चालकलाई ४ वैशाखको संसाँझै एउटा समूहले अपहरण गरी लग्यो ।
रुपन्देहीको सियारी गाउँपालिका–५ घर भएका ६० वर्षीय विष्णु न्यौपानेले विगत केही वर्षदेखि पिंगलास्थानमा स्टुडियो सञ्चालन गर्दै आएका थिए। ४ वैशाखको साँझ नचिनेको एउटा समूह उनको स्टुडियोमा छिर्यो, नियन्त्रणमा लियो र कुटपिट गर्यो। स्टुडियोमा रहेको २ लाख नगद लुटेपछि मात्र पुगेन, उनलाई त्यहाँबाटै उठाई बागमती करिडोरहुँदै निलोपुलसम्म पुर्यायो।
त्यसपछि सुरु भयो फिरौती माग। ठूलो रकमबाट सुरु भएको माग अन्तमा ५० हजार रुपैयाँमा झरेको प्रहरी अधिकारीहरू बताउँछन्। फिरौती नदिए ज्यान मार्ने धम्कीसमेत समूहले दियो। अन्ततः आफन्तमार्फत ५० हजार रुपैयाँ बुझाएपछि समूह फरार भयो।
घटनापछि न्यौपानेले प्रहरी वृत्त गौशालामा उजुरी दिए। अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै अपहरणमा संलग्न आरोपमा दुई जनालाई पक्राउ गर्यो।
पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भई काठमाडौं कीर्तिपुर बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भई काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–८ बस्ने ४३ वर्षीय रवीन कोइराला छन्। दुवैलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।
मन्त्रालयदेखि विभिन्न संस्थाका कार्ड बरामद
पक्राउ परेका दुवैको साथबाट मन्त्रालयदेखि विभिन्न संस्थाका कार्डहरू बरामद भएको प्रहरीले जनाएको छ।
योगेन्द्रको साथबाट वैदेशिक रोजगार सुरक्षा अध्यक्ष, सुरक्षा जागरुक युवा समाज अध्यक्ष र औषध दुरुपयोग अनुसन्धान समिति अध्यक्ष लेखिएका कार्ड तथा शहरी विकास मन्त्रालय सिंहदरबारको भेटघाट कार्ड बरामद भएको छ।
यसका साथै उनको नाममा जारी नोबल बैंकको ३ लाखको चेक, वैदेशिक रोजगार सुरक्षा समितिलाई लेखिएको निवेदन, नगद ११ हजार र एक मोबाइल फोन पनि फेला परेको छ।
कोइरालाको साथबाट धर्मकर्म उपभोक्ता सहकारी संस्थाको लोन अफिसर कार्ड, ज्योति विकास बैंकको २ लाखको चेक, पासपोर्ट फोटोकपी, ब्लुबुक र मोबाइल फोन बरामद भएको छ।
उद्धारको नाममा ठगी
यो समूहले उद्धारको नाममा ठगी धन्दा चलाउँदै आएको प्रहरीले बताएको छ। वैदेशिक रोजगार सुरक्षा अध्यक्षको कार्ड देखाउँदै विदेशमा अलपत्र परेकाहरूका आफन्तसँग रकम असुल्ने, अनि त्यही पीडितको विवरण पठाउने पक्षलाई देखाएर थप ठग्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।
‘उनीहरुले दुवै पक्षलाई ठग्ने गरेको देखियो। ठगी गर्ने उद्देश्यले नै स्टुडियोमा पुगेका उनीहरूले सुरुमा डाँका गरेको र पछि अपहरण गरेर फिरौती असुलेको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने।
पटके अभियुक्त
पक्राउ परेका दुवै पटके अभियुक्त रहेको प्रहरीले बताएको छ। यसअघि पनि प्रहरी वृत्त गौशाला र नयाँ बानेश्वरमा उनीहरूविरुद्ध उजुरी परेको पाइएको छ। पैसा उठाइदिन्छु भन्दै ठग्ने र अर्कालाई दिनुपर्ने चेक आफ्नै नाममा काट्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले डाँका चोरी र अपहरण फिरौतीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ। यी व्यक्तिहरूबाट अन्य कोही पनि ठगीमा परेको हुनसक्ने आँकलन गर्दै प्रहरीले पीडित भएमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया 4