+
+
Shares

बेड नम्बर १४० : मानवताको एउटा कथा

बाजुराबाट सबिनाको परिवार काठमाडौँ आइपुग्नु आफैँमा एउटा महाकाव्य थियो। बुबा-आमाले सबै सम्पत्ति बन्धकी राखेका थिए। छिमेकीहरूले सक्दो सहयोग गरेका थिए। तीनै जना- आँखाभरि आँसु, मनभरि आशा र हातमा झिनो पैसाको पोको बोकेर वीरको ढोकामा आइपुगेका थिए।

प्रदीप परियार प्रदीप परियार
२०८३ जेठ ९ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीर अस्पतालमा दैनिक ३,७०० देखि ४,००० बिरामी आउँछन् र सीमित स्रोतसाधनले चाप थेग्न सकिरहेको छैन।
  • बाजुराकी सबिना साउदको क्यान्सर उपचारमा डा. राकेश मिश्र र डा. जेनिथ सिंहले आफ्नै तलब र सहयोगबाट आर्थिक सहायताको योजना बनाए।
  • लेखकले नेपाल सरकारलाई विपन्न नागरिकको औषधि उपचार प्रणाली सरल बनाउन र स्वास्थ्य बीमा प्रभावकारी बनाउन सुझाव दिनुभएको छ।

केही समय अगाडिको कुरा हो, म आफ्नै आमाको उपचार गराउन वीर अस्पताल पुगेको थिएँ। यसअघि पनि कैयौँ पटक म यो अस्पताल आइसकेको थिएँ, तर त्यस पटकको अनुभव केही फरक थियो। बाहिर त्यही पुरानै वीर थियो- सेतो भित्ता, औषधिको गन्ध र बिरामीहरूको सुस्केरा। तर भित्र, मनको कुनामा यसपालिको पीडा अलि बढी थियो।

‘आमा बिरामी हुनुहुन्छ’ भन्न जति सजिलो छ, महसुस गर्न उत्तिकै गाह्रो। जसले हामीलाई जन्म दिइन्, हुर्काइन् र जसको काखमा पहिलो सपना देख्यौँ, त्यही आमा एक दिन सेतो चादरमा सुतेर हाम्रो अनुहारमा आशाका साथ हेर्नुहुँदा छोराछोरीको संसार उलटपुलट हुन्छ।

एकातिर आमाको हात समातेर बस्ने मन, अर्कोतिर देशको कामले बोलाउने कर्तव्य। यी दुई पाटाको बीचमा उभिँदा मनभित्र एउटा हुटहुटी जन्मन्छ- के गरूँ, कसरी मिलाऊँ, कसलाई कति समय दिऊँ?

मातृसेवा एक पाटो हो, मातृभूमि सेवा अर्को। यही द्वन्द्वसँग जुध्दै म वीर अस्पतालका करिडोरमा हिँडिरहेको थिएँ।

कहिलेकाहीँ मेरा पाइलाहरू आफैँ कुनै अपरिचित बेडछेउ अड्किन्थे- कुनै बिरामीको आँखामा आफ्नी आमाको प्रतिबिम्ब देखेर। आफ्नो पीडा भित्र सीमित राख्न खोज्दाखोज्दै पनि, अरूको पीडासँग जोडिएर म आफैँ भक्कानिन्थेँ।

यसैबीच आमाको उपचारमा कार्यरत डा. राकेश मिश्रसँग चिनजान भयो। पहिलो भेटमै लाग्यो, यो मान्छेमा केही फरक छ। उहाँको स्वरमा हतार थिएन। आँखामा थकाइ देखिन्थ्यो, तर त्यसले बिरामीप्रतिको स्नेह छेक्न सकेको थिएन।

उहाँकै सहयोगले आमाको उपचारमा धेरै सहज भयो। म बिस्तारै बुझ्दै गएँ- डाक्टरी सेवा भनेको औषधि लेख्ने काम मात्र होइन रहेछ। त्यो त एउटा सम्बन्ध रहेछ, जहाँ डाक्टरको हातको स्पर्शले मात्रै आधा रोग निको हुन्छ।

कुराकानी हुँदै गर्दा डा. राकेशसँग अन्य बिरामीहरूको पनि कुरा हुन थाल्यो। उहाँले बताउनुभयो, ‘दैनिक ३,७०० देखि ४,००० बिरामी आउँछन्। सीमित स्रोत-साधनको बीचमा थेग्नै नसक्ने चाप छ।’

अस्पताल परिसरमा निकै भिड थियो। प्रत्येक अनुहारमा एउटा कथा थियो, प्रत्येक आँखामा एउटा प्रार्थना। कुनै बुबा छोराको ज्वरोले रोएको, कुनै आमा छोरीको रिपोर्ट कुरेर बसेकी, कुनै पति पत्नीको ओछ्यानछेउ बसेर टुक्रिएको आँखाले हेरिरहेको।

अन्य सरकारी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएको अवस्थाले यहाँ भिड बढेको स्वास्थ्यकर्मीहरूको भनाइ थियो। अरू ठाउँबाट टाढिएका पाइलाहरू अन्ततः यहीँ आएर रोकिँदा रहेछन्- जसरी सबै नदीहरू अन्ततः सागरमै मिल्न पुग्छन्। वीर अस्पताल भवनमात्र होइन रहेछ, यो त नेपालको पीडाको सङ्गम रहेछ।

कुराकानीकै क्रममा डा. राकेशले एक जना बिरामीको नाम लिनुभयो। उहाँको स्वरमा एक प्रकारको कोमल भारीपन थियो- ‘एउटी बहिनी छिन्, बाजुराकी। हेर्न लायक छ- एक्लै कति सहेकी छिन्!’

त्यो वाक्यमा डाक्टरी पेसा थिएन, दाजुको चिन्ता थियो। हामी उनलाई भेट्न उनको बेडमा पुग्यौँ।

बेड नम्बर १४०।

बाजुराकी सबिना साउद (नाम परिवर्तन गरिएको)। बा, आमा अनि छोरी- तीन जनाको सानो परिवार पहाडको काखबाट काठमाडौँसम्म आइपुगेको। हामी पुग्नासाथ उनले सलले मुख ढाकेर रुन थालिन्।

काँध हल्लिरहेका थिए, तर आवाज बाहिर निस्किरहेको थिएन। सायद धेरै दिनदेखि थुप्रिएको आँसुले त्यस क्षणमा बाहिर निस्कन ठाउँ खोजेको थियो। आमा खुट्टातिर बसेर आँचलले आफ्ना आँखा पुछ्दै थिइन्, छोरीका आँसु छेक्न खोज्दै थिइन्। बुबा बेडको छेउमा उभिएर भुइँतिर हेर्दै थिए- सायद आफ्ना आँसु छोरीले नदेखून् भनेर।

बाजुरामा एक दिन घाँस काट्न जाँदा सबिना लडेकी रहिछन्। हड्डी भाँचियो, तर त्यो त एउटा सङ्केत मात्र थियो। भित्रभित्र रोगले सुषुप्त अवस्थामा बास बसाइसकेको थियो। सानो दुर्घटनाले त्यो घातक रोगलाई बाहिर ल्यायो- क्यान्सर।

बाजुराबाट सबिनाको परिवार काठमाडौँ आइपुग्नु आफैँमा एउटा महाकाव्य थियो। बुबा-आमाले सबै सम्पत्ति बन्धकी राखेका थिए। छिमेकीहरूले सक्दो सहयोग गरेका थिए। तीनै जना- आँखाभरि आँसु, मनभरि आशा र हातमा झिनो पैसाको पोको बोकेर वीरको ढोकामा आइपुगेका थिए। काठमाडौँ उनीहरूका लागि सहर थिएन, अन्तिम आशा थियो।

पहिलो दिन वार्डमा आइपुग्दा सबिनाले राम्ररी सुत्न सकेकी थिइनन्। दोस्रो दिन उपचारको खर्चको हिसाब सुनेपछि वार्डमा निःशब्द मौनता छायो। आमाको अनुहार पहेँलियो। बुबा बाहिर निस्किए- कसैलाई फोन गर्न वा आँसु लुकाउन।

त्यही साँझ सबिनाले आमासँग झगडा गर्दै भनेकी थिइन्, ‘आमा, हामीसँग पैसा छैन। किन ल्याउनुभयो मलाई यति टाढा? यो उपचारले के गर्छ र? फर्किजाऔँ गाउँ। म त्यहीँ बस्छु, जति दिन छ। तपाईंहरूलाई किन दुःख दिने? जग्गा बेच्नुभयो, गहना बेच्नुभयो- अब बुबाले के गर्नुहुन्छ?’

आमाले छोरीको हात च्याप्प समातेर भनिन्, ‘नबोल त्यस्तो, छोरी। पैसा त बन्ला- आज छैन, भोलि बन्छ। तँ नभए म कसरी बाँच्छु? तँ नै मेरो सबथोक होस्।’

त्यही बेला राउन्डमा आइपुग्नुभएका डा. जेनिथ सिंह र डा. राकेश मिश्रले सबिनाको फाइल हेरे। आमाको अनुहारमा आतङ्क थियो। बुबाले बिस्तारै हातको पोको देखाउँदै भने, ‘डाक्टर साहेब, यति मात्र छ। अरू केही छैन।’

डा. राकेशले केही भन्नुभएन। फाइलमा केही टिप्नुभयो र भन्नुभयो, ‘नआत्तिनुहोस्, बहिनी। उपचार हुन्छ। म छु।’

त्यो ‘म छु’ को अर्थ कति भारी थियो, सायद त्यो परिवारले मात्र बुझ्यो। डाक्टरी पेसामा त्यो ‘म छु’ नै सबैभन्दा ठूलो औषधि हो। मेसिनले देखाउन नसक्ने, रिपोर्टमा नलेखिने, तर बिरामीको मुटुसम्म पुग्ने औषधि।

त्यही साँझ डा. जेनिथ र डा. राकेशले छलफल गर्नुभयो। आर्थिक अवस्थाको तस्बिर स्पष्ट थियो। डा. जेनिथले भन्नुभयो, ‘राकेशजी, यो मेरो पनि कर्तव्य हो। जति सकिन्छ, गरौँ। पैसाको कुरा मेरो टाउकोमा। तपाईं उपचारमा ध्यान दिनुहोस्।’

खुला दिल भनेको यही होला। दुई जना डाक्टर- एउटी विपन्न छोरीको ज्यान बचाउन तयार। न कुनै औपचारिकता, न कुनै सर्त। आफ्नै तलबबाट, अस्पतालको कोषबाट र साथीभाइसँग सहयोग उठाएर एउटा अदृश्य योजना बन्न थाल्यो। यो योजना कागजमा लेखिएन, तर सबिनाको जीवनको सबैभन्दा महत्त्वपूर्ण सहारा बन्यो।

यो कथा डा. राकेशले सुनाउँदै गर्दा मेरो पाइला कति पटक रोकिए, गन्न सकिनँ। ती बुबाको ठाउँमा आफूलाई कल्पना गरेँ।

एउटी छोरी क्यान्सरले पीडित, उपचारको पैसा छैन, गाउँबाट यति टाढा आइपुगिएको छ- यो भार कति होला? कुनै काँधले थेग्न सक्छ यो भार? तर बुबा त्यहीँ उभिरहनुभएको थियो- शब्द नबोली, बोझ बोकेर।

डा. राकेशले सबिनालाई सम्झाएपछि उनी मुसुमुसु हाँसिन्। त्यो हाँसोमा कति निर्दोषिता र शक्ति थियो! एउटी छोरी, जसको शरीरभित्र क्यान्सरले बास बसाइसकेको छ, जो आर्थिक रूपमा जर्जर छ, उनैले एउटा सानो शब्दको आडमा हाँस्न सकिन्।

यो शक्ति कहाँबाट आउँछ? सायद आशाबाट। सायद ‘म छु’ भन्ने त्यो भरोसाबाट।

म र डा. राकेश बेड नम्बर १४० मा उभिएका थियौँ। सबिनाले हामीलाई देख्नासाथ पहिले रोइन्, अनि बिस्तारै ओठका कुनामा एउटा सानो हाँसो खेल्न थाल्यो। त्यो हाँसोले सबै भन्यो- ‘म बाँच्न चाहन्छु।’

त्यो साँझ घर फर्कंदै गर्दा मैले सोधेँ, ‘डाक्टर साहेब, तपाईंलाई थकाइ लाग्दैन?’

उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘थकाइ लाग्छ। तर बिरामीले निको भएर हाँसेको देख्दा सबै थकाइ बिर्सिन्छु।’

मनमनै सोचेँ- यस्ता दस जना डाक्टर भए मात्रै पनि हाम्रो स्वास्थ्य प्रणाली कति सुदृढ हुन्थ्यो होला!

वीर अस्पतालका करिडोरमा हजारौँ कथा छन्। हरेक बेडमा एउटा जीवन र सङ्घर्ष छ। ती सङ्घर्षका बीच डा. राकेश र डा. जेनिथजस्ता चिकित्सकहरू मानवताको दियो बालिरहनुभएको छ। बेड नम्बर १४० अब मेरो लागि एउटा साधारण बेड मात्र रहेन, त्यो मानवता र करुणाको प्रतीक बन्यो।

तर, मनमा एउटा गहिरो प्रश्न पनि छ। सबिना त डाक्टरहरूको सहयोगले बचिन्, तर बाजुरा, हुम्ला, कालिकोटदेखि काठमाडौँ ओर्लिने सयौँ सबिनाहरू छन्। हरेक बेडमा ‘पैसा छैन’ भन्ने पीडा छ। डाक्टरहरूको व्यक्तिगत मानवीयता र राज्यको संस्थागत प्रयास सँगसँगै हिँडे मात्र सबिनाहरूको आँसु पुछ्न सकिन्छ। सयौँ दियो मिलेर बल्दा मात्रै सूर्योदय हुन्छ।

केही सुझाव

नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार प्रणालीलाई अझ सरल र छिटो बनाउनुपर्छ। केन्द्रीय अस्पतालहरूमा ‘मेडिकल सोसल वर्क युनिट’ स्थापना गरेर डाक्टरहरूले गरिरहेको अनौपचारिक सहयोगलाई संस्थागत गर्न सकिन्छ।

स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन ‘इच वन हेल्प वन’ (एकले अर्कालाई सहयोग गर्ने) जस्ता रणनीति लिन सकिन्छ।

सक्षम नागरिकले विपन्न परिवारको बिमा प्रिमियम तिरिदिने हो भने सिङ्गो समाजको स्वास्थ्य चित्र फेरिन सक्छ।

डा. राकेश मिश्र, डा. जेनिथ सिंह, डा. विकास, डा. पङ्कज र सम्पूर्ण नर्सिङ टोलीप्रति हार्दिक नमन। तपाईंहरूको मानवीय प्रयास हाम्रो स्वास्थ्य क्षेत्रको उज्ज्वल भविष्य हो। आमाको उपचार सकेर अस्पतालबाट निस्किँदा सहर आफ्नै रफ्तारमा हिँडिरहेको थियो, तर वीरका ती पर्खालभित्र एउटा बेग्लै संसार बसिरहेको छ- जहाँ मानवता आफ्नो शुद्धतम रूपमा प्रकट हुन्छ।

हामीले गर्नुपर्ने धेरै कुरा बाँकी छ। हाम्रा डाक्टरहरूले दियो बालिरहनुभएको छ, अब हाम्रो पालो हो- त्यो दियोलाई हुरीबाट जोगाउने, र त्यसको उज्यालो हरेक गाउँ–गाउँसम्म पुर्‍याउने।

(नोट: यो लेख लेखकको व्यक्तिगत अनुभवमा आधारित छ। बिरामीको गोपनीयता ख्याल गर्दै नाम परिवर्तन गरिएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?