३ साउन, खोटाङ । खोटाङमा खुकुरी प्रहारबाट मृत्यु भएका भक्तबहादुर अधिकारीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
लेनदेनको विषयमा तिलकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा मृत्यु भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खाका ध्रुव भनेर चिनिने भक्तबहादुरको परिवारलाई ५९ हजार ८१ रुपैयाँ प्रदान गरिएको हो ।
खोटाङबाट काठमाडौं तथा विभिन्न सहरमा पुगेर पेसा, व्यवसाय गरिरहेका दाताबाट संकलन गरेर मृतक परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । ३३ जना दाताबाट जुटाइएको रकम संविधानसभा सदस्य विशाल भट्टराईले मृतकका दाजु राजन अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
भक्तबहादुरको मृत्यु भएपछि विचल्नीमा परेकी गर्भवती श्रीमती र दुई छोरीको सहयोगार्थ राजकुमार कार्कीको संयोजकत्वमा अभियान सञ्चालन गरिएको थियो । भक्तबहादुरले गाउँघरमा दैनिक ज्यालामजदुरी गर्दै चार जनाको परिवार चलाइरहेका थिए ।
आपसी लेनदेनको विषयमा झगडा हुँदा तिलबहादुरले खुकुरी प्रहार गर्दा भक्तबहादुरको असार २५ गते घटनास्थलमै मृत्यु भएको थियो । भक्तबहादुरले मकै छर्नका लागि गत फागुनमा तिलबहादुरको खेत जोतिदिएका थिए । त्यही खेत जोतिदिएको ज्याला माग्नेक्रममा विवाद हुँदा तिलबहादुरले खुकुरी प्रहार गर्दा भक्तबहादुरको मृत्यु भएको हो । घटना लगत्तै तिलबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया 4