News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको ६ दशक लामो सांगीतिक यात्रालाई सम्झिँदै काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एकल सांगीतिक साँझ सम्पन्न भएको छ।
- कार्यक्रममा राणाले स्वर दिएका र संगीत भरेका लोकप्रिय गीतसँगै शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठलगायतले उनका गीत प्रस्तुत गरेका थिए।
- क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मीरा राणा क्यान्सर समाजले कोष खडा गर्ने घोषणा गर्दै कुमार बस्नेत, शम्भुजीत बासकोटा र दीपक जंगमलाई सम्मान गर्ने जनाएको छ।
काठमाडौं । वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको एकल सांगीतिक साँझ भव्यतापूर्वक सम्पन्न भएको छ । ६ दशक लामो सांगीतिक यात्रलाई सम्झिँदै राणाले प्रस्तुति दिएकी हुन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा खचाखच दर्शकका बीच सम्पन्न ‘मीरा राणा एकल सांगीतिक साँझ’ मा गायिका राणाले आफूले स्वर दिएका तथा संगीत भरेका लोकप्रिय गीत प्रस्तुत गरिन् ।
उनको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेट्दै कार्यक्रममा विभिन्न गायक-गायिकाले मीराका गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनीले राणाका गीतमा प्रस्तुति दिए ।
साथै, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शीतल थापा, युनिशा देशारलगायतले पनि मीराका गीत गाए ।
मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए । प्रकाश सायमीद्धारा सञ्चालित कार्यक्रममा राणाले स्वरसम्राट नारायणगोपालसँग गाएका तिमी देऊ या नदेऊ, मेरो जोवन लैजाऊ, आँखैमा कसैको तस्वीर बसेछ, बैनीको दया छ भनेलगायतका गीत प्रस्तुत गरिएको थियो ।

त्यस्तै, शम्भुजीत बासकोटासँग गाएको नाच्देऊ मैच्याङ र सिन्धुपाल्चोक जिल्लामा तथा कुमार बस्नेतसँगको मादल घनघन घन्काउँ कि, लेक फुल्यो लालीगुराँसलगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए ।
राणाका चर्चित एकल गीत मखमली चोलो चाहिँदैन, मात चढेको साँझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, बिर्सिएर मैले फेरि, आजसम्म जसरी बाँचेर आएँ, मेरो फूललाई वसन्त भयो लगायतका गीत पनि प्रस्तुत गरिएको थियो ।
क्यान्सरलाई जितेकी र क्यान्सरकै कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी गायिका राणाले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मीरा राणा क्यान्सर समाज स्थापना गरी सोही समाजबाट कोष खडा गरेर क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरेकी हुन् ।
सो अवसरमा समाजले गायक कुमार बस्नेत, संगीतकारद्वय शम्भुजीत बासकोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा पनि गरेको छ । सो अवसरमा एक संस्थाले मीराको सांगितीक योगदानको सम्मानमा ५० हजार रुपियाँसहित उनलाई सम्मान पनि गरेको थियो ।
राणाको लामो सांगीतिक यात्राका लोकप्रिय गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले उनको सांगीतिक योगदानलाई सम्झनाका रूपमा प्रस्तुत गरेको थियो भने क्यान्सरपीडितलाई सहयोग गर्ने अभियानलाई पनि अघि बढाएको छ ।


प्रतिक्रिया 4