News Summary
Generated by OK AI. Editorially reviewed.- दिवालीमा ३० क्यारेटको पन्ना जडित र कुरानको आयत कुँदिएको पेन्डेन्ट लगाएपछि करिना कपूर खान विवादमा परेकी छिन्।
- कांग्रेस नेता अब्बास हफिजले कुरानको अपमान भएको दाबी गर्दै करीनालाई कानुनी नोटिस पठाएर पेन्डेन्टको तस्बिर हटाउन निर्देशन दिएका छन्।
- करिनाकी स्टाइलिस्ट रिया कपुरले उक्त गहना भोपालको शाही परिवारको ऐतिहासिक विरासत भएको बताएकी छिन्।
बलिउड अभिनेत्री करिना कपूर खानले दिवालीमा लगाएको एउटा गहना अहिले विवादित बनेको छ । न त त्यो सामान्य गहना हो, न त यसको इतिहास नै सामान्य छ ।
३० क्यारेटको पन्ना जडित उक्त पेन्डेन्टमा पवित्र कुरानको आयत कुँदिएको छ । यही पेन्डेन्ट दिवालीको अवसरमा लगाएपछि करीना विवादमा तानिएकी हुन् ।
यस विषयलाई लिएर कांग्रेस नेता अब्बास हफिजले करीनालाई कानुनी नोटिस पठाएका छन् । मुस्लिम समुदायका केही व्यक्तिले पनि उनको पहिरनप्रति आपत्ति समेत जनाएका छन् ।
यद्यपि, यसबारे करिनाको कुनै प्रतिक्रिया सार्वजनिक भैसकेको भने छैन ।
के थियो करिनाको दिवाली लुकमा ?

करिनाले सामाजिक सञ्जालमा दिवाली सेलिब्रेसनका केही तस्वीर सार्वजनिक गरेकी थिइन् । तस्वीरमा उनी डिजाइनर पुनीत बलानाले तयार पारेको बेज रंगको कफ्तान र सुहाँउदो पगडीमा देखिएकी छिन् ।
उनको पगडीमा लगाइएको कल्की पनि विशेष थियो । उक्त कल्की अभिनेता सैफ अली खानले करिनासँग विवाह गर्दा लगाएका थिए ।
तर, उनको पहिरनभन्दा बढी चर्चा घाँटीमा लगाएको पेन्डेन्टको भइरहेको छ ।
पेन्डेन्टमा के लेखिएको थियो ?
उक्त पेन्डेन्टमा पवित्र कुरानको आयत ‘आयतुल कुर्सी’ कुँदिएको छ । यो कुरानको दोस्रो अध्याय ‘सूरह अल–बकरा’ को २५५औँ आयत हो ।
मुस्लिम समुदायका केही व्यक्तिको आपत्ति के छ भने कुरानको पवित्र आयत अंकित गहना हिन्दू धर्मको पर्व दिवाली मनाउने क्रममा लगाउनु धार्मिक मर्यादाविपरीत हो ।
उनीहरूले पवित्र धार्मिक वचनलाई यसरी अन्य धार्मिक उत्सवको फेसन वा पहिरनको हिस्सा बनाउनु उचित नभएको तर्क गरेका छन् ।

यही विषयमा कांग्रेस नेता अब्बास हफिजले करिनालाई कानुनी पत्र पठाएका हुन् ।हफिजले पनि कुरानको पवित्र आयत अंकित पेन्डेन्ट दिवालीमा लगाएको भन्दै आपत्ति जनाएका छन् ।
उनले यसलाई कुरानको अपमान भएको दाबी गर्दै करीनालाई पत्र पठाएका हुन् । पत्रमार्फत उनले सामाजिक सञ्जालबाट पेन्डेन्ट लगाएको तस्बिर हटाउनसमेत निर्देशन दिएका छन् ।
करीनाकी स्टाइलिस्ट रिया कपुरले इन्स्टाग्राममा उनको लुकबारे जानकारी दिँदै उक्त पेन्डेन्ट भोपालकी बेगमको ऐतिहासिक गहना भएको बताएकी थिइन् ।
उनका अनुसार यो ३० क्यारेटको पन्ना जडित गहना हो । रिया कपुरका अनुसार करीना कपूरले लगाएका यी गहना भोपालको शाही परिवारको विरासत हुन् ।
सैफ अली खानको परिवार हुँदै यी गहना करीनासम्म आइपुगेका हुन् ।

सैफकी हजुरआमा साजिदा सुल्तान भोपालका अन्तिम शासक नवाबकी छोरी थिइन् । यही कारण भोपालको शाही परिवारसँग जोडिएका यी ऐतिहासिक गहना सैफको पारिवारिक विरासतका रूपमा रहेका छन् ।
करीनाल तस्वीर सार्वजनिक गर्दै ‘दिवाली भनेको परम्परालाई सही तरिकाले निभाउनु हो’ भन्ने आशयको क्याप्सन लेखेकी थिइन् ।
View this post on Instagram
प्रतिक्रिया 4