+
+
Shares

राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

छुट्टै प्यानल बनाउने कसरत

राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरले देश दौडाहा गरिरहेको छ । पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे एक ठाउँमा उभिएका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ कात्तिक ३० गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाको आसन्न आठौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध प्यानल बनाउन सक्रिय भएका छन्।
  • थापा, लोहनी र पाण्डेले ‘पार्टी संगठन सुदृढीकरण’ अभियान लिएर कोशी र मधेशका जिल्लामा कार्यकर्ता भेटघाट र कार्यक्रम गरिरहेका छन्, तर केन्द्रबाट स्वीकृति लिइएको छैन।
  • राप्रपाले मंसिर २६ देखि २८ सम्म महाधिवेशन गर्दैछ, जसमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने र प्रतिनिधि छनोट मंसिर ४ देखि १० सम्म हुने छ।

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनमा प्यानल बनाउन नेताहरू सक्रिय भएका छन् ।

दोस्रो पटकका लागि अध्यक्ष पदका आकांक्षी राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्न छुट्टै प्यानल बनाउन तीन शीर्ष नेताले क्रियाशिलता बढाएका हुन् ।

संस्थापन इतरका एक नेताका अनुसार दुई पूर्वअध्यक्ष कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थनमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अध्यक्ष पदमा लिङ्देनलाई चुनौती दिन लागेका हुन् ।

आठौं महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यले तीन नेताहरू देश दौडाहामा निस्केका छन् । ‘पार्टी संगठन सुदृढीकरण’ अभियान लिएर थापा, डा. लोहनी र पाण्डेले कोशी र मधेशका जिल्लामा कार्यक्रम राखेर कार्यकर्ताका विचार सुन्नुका साथै आफ्नो दृष्टिकोण राखेका छन् ।

शीर्ष तहका तीन नेताले झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, बारा लगायतका जिल्लामा भेटघाट कार्यक्रम राखेका थिए । ‘राप्रपा फेरि उठाउँछौ, उठाउनै पर्छ’ भन्ने नारासहित उनीहरू जिल्ला भ्रमणमा छन् । पार्टी सुदृढीकरणका लागि गरिएका जिल्लाका कार्यक्रममा पार्टी केन्द्रबाट भने स्वीकृति लिइएको छैन ।

सातौं महाधिवेशनपछि अध्यक्ष लिङ्देनको कार्यशैलीविरुद्ध प्रश्न उठाएर निरन्तर आलोचना गर्ने नेतामा तत्कालीन महामन्त्री डा. धवलशमशेर राणा थिए । धवलशमशेरको कित्तामा लोहनी र पाण्डे पनि थिए । संस्थापनविरुद्ध एकै ठाउँमा रहेका नेताहरूमध्ये धवलशमशेरले पार्टी परित्याग गरे । लोहनी र पाण्डे भने पार्टीभित्रै रहेर फरक कित्तामा उभिइरहेका छन् ।

महाधिवेशनको मिति सार्नु, नेता-कार्यकर्तालाई कारबाही गर्नु, राजसंस्थाको एजेन्डालाई कुन रूपमा अघि बढाउनेलगायत अध्यक्ष लिङ्देनको शैलीका कारण पार्टीभित्र मतभिन्नता हुँदै आएको छ ।

लिङ्देनको खरो विरोध गर्नेमध्येका एक धवलशमशेरले नयाँ दल गठन गरे । लिङ्देनले कारबाही गरेका नेता-कार्यकर्तामध्ये अधिकांश धवलशमशेरकै पक्षमा देखिएका छन् । एउटा कित्ताको नेतृत्व गरिरहेका धवलले पार्टी परित्याग गरेपछि उक्त समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गर्न पाण्डेलाई बाटो झन् खुलेको छ । राजसंस्था पुनर्बहालीको आन्दोलनमा धवलशमशेरसँगै रहेका पाण्डे उनी सरह अघि भने सरेनन् ।

पार्टीको निर्देशक समितिबाट राजीनामा दिएका डा. लोहनी र अघिल्लो पटक लिङ्देनसँग अध्यक्षमा पराजित कमल थापाको साथ लिएर भावी नेतृत्वका लागि कार्यकर्ताकहाँ पाण्डे पुग्न थालेका छन् ।

महाधिवेशन केन्द्रित कार्यकर्ता भेटघाटमा पाण्डेले अध्यक्ष लिङ्देनको शैली र क्षमतामाथि प्रश्न उठाएका छन् । पार्टी पुनर्ताजगीका लागि कार्यकर्ता माझ आएको उनले बतए । आसन्न महाधिवेशनबाट राप्रपा पुनर्ताजगी गर्नका लागि क्षमतावान नेतृत्वलाई चयन गर्न पाण्डेले आग्रह गरे ।

२०६२/०६३ मा राप्रपाको मुद्दा समाप्त भइसकेको अवस्थामा पनि तत्कालीन अध्यक्ष कमल थापाले मेची-महाकाली यात्रा गरेर पार्टीको मुद्दा स्थापित गरेको दाबी गर्दै पाण्डेले भने, ‘तर हाम्रो मुद्दा टिकाएर राख्न सक्ने काम हुन सकेन । अझै पनि ढिलो भएको छैन ।’

२०७८ मा लिङेदनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका थापा गत पुसमा राप्रपामै फर्किएका थिए ।

थापा, लोहनी र पाण्डेको सक्रियतामा भइरहेको देश दौडाहामा अध्यक्ष लिङ्देनले पार्टी एकलौटी ढंगले चलाएको आरोप लगाइएको छ । लिङ्देनलाई जनताकहाँ जाने अभियान सुरु गरौं भनी प्रस्ताव गर्दा अस्वीकार गरेकोले पार्टीको दुर्दशा भएको वरिष्ठ उपाध्यक्ष पाण्डेले आरोप लगाए ।

पूर्वअध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापाको समयमा सबै नेताहरू सँगसँगै रहेर पार्टी कार्यक्रममा हिँड्न पाए पनि वर्तमान नेतृत्वको बेला त्यो अवसर नरहेको पाण्डे बताउँछन् । उनले अध्यक्ष लिङ्देनलाई लक्षित गर्दै भने, ‘उहाँबाट काम भएन । कुरा मात्रै गर्ने, काम नगर्नेको फेला परेका छौं ।’

पार्टी नेतृत्वबाट असन्तुष्ट भएर नेता-कार्यकर्ताले राप्रपा छोड्नुपरेको संस्थापन इतरका नेताहरूको दाबी छ । अध्यक्ष लिङ्देनले गरेको कारबाहीको कारणले कार्यकर्ताहरू निरुत्साहित हुने र निष्क्रिय बस्ने अवस्था आएको असन्तुष्ट पक्षका नेताहरूले बताउँदै आएका छन् ।

राप्रपा अहिले इतिहासकै कमजोर अवस्थामा रहेको पूर्वअध्यक्ष थापाको टिप्पणी छ । कार्यकर्तामाझ पूर्वअध्यक्ष थापाले भने, ‘चुनावमा हार र जितको कारणले मात्रै होइन, संरचनात्मक दृष्टिकोणबाट नै राप्रपा कमजोर भएको छ । सक्रिय सदस्य बन्न कुनै उत्साह छैन ।’

निर्विरोध नेतृत्व चयन हुन सकिने तल्ला तहका समितिमा बस्न चाहने कार्यकर्ता राप्रपाले पाउन नसकेको थापाले बताए ।

अध्यक्षका आकांक्षी पाण्डेले पुरानो मुद्दामा सफाइ पाए पनि उनको नयाँ मुद्दा भने विचाराधीन अवस्थामा छ । सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा पाण्डेले विशेष अदालतबाट पूर्ण सफाइ पाएका छन् । ई-बिडिङ ह्याक प्रकरणको नयाँ मुद्दामा भने पैसला आइसकेको छैन ।

राप्रपाले मंसिर २६ गते देखि २८ सम्म आठौं महाधिवेशन गर्दैछ । महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सबै जिल्लाको अधिवेशन सकिएको छ ।

प्रतिनिधि छनोटका लागि मंसिर ४ देखि १० गतेसम्मको समयावधि तोकिएको छ । हरेक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि छनोट हुने व्यवस्था गरिएको छ । गाउँपालिका, महानगर, उपमहानगर, नगरपालिका, प्रदेशसभा क्षेत्र, संघीय क्षेत्र, जिल्ला र प्रदेशका अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।

प्रत्येक प्रदेशसभा क्षेत्रबाट महिला ३, समावेशिताबाट २, खुला ३, उत्पीडित १ गरी ९ जना प्रतिनिधि छनोट हुने छन् । प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिको उमेर समूहबाट पनि सुनिश्चित हुनुपर्छ ।

महाधिवेशनमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन् । महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरी काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रचारप्रसार संयोजकत्वको जिम्मेवारी प्रवक्ता श्रेष्ठले पाएका छन् । उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार, महासचिव भुवन पाठकलाई समारोह व्यवस्थापनका जिम्मेवारी दिइएको छ ।

यसैगरी, उपाध्यक्ष हेमजंग गुरुङलाई भोजन व्यवस्थापन, महासचिव राजेन्द्र गुरुङलाई जिल्ला सम्पर्क समन्वय, उपाध्यक्ष बुद्धिमान तामाङलाई सभा-जुलुस व्यवस्थापन, निरञ्जन थापालाई विधान संशोधन मस्यौदा तयारीको जिम्मेवारी छ ।

दुई पटक अध्यक्ष बन्न पाउने विधानको व्यवस्थाले लिङ्देन पुनः सोही पदमा प्रतिस्पर्धी बन्न पाउने छन् । यद्यपि, उनले अध्यक्षको उम्मेदवार हुनेबारेमा मुख खोलिसकेका छैनन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?