+
+
Shares

सुनचाँदीको मूल्य किन घटिरहेको छ, अझै कतिसम्म झर्ला ?

करिब १० महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबाट सुन ३६ प्रतिशत घटेको छ भने नेपाली बजारमा २७.७ प्रतिशत घटेको छ ।

कमल नेपाल कमल नेपाल
२०८३ मंसिर ४ गते १७:०५

४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यतिबेला १४ महिनायताकै न्यून बिन्दुमा झरेको छ । गत वर्षको माघ १५ गते कारोबारका क्रममा प्रतिऔंस ५५९० अमेरिकी डलरसम्म पुगेको सुन हाल ३५५० हाराहारीमा छ।

यता नेपालको बजारमा गत वर्षको माघ १५ गते नै रेकर्ड मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन हाल २ लाख ४५ हजार २ सय रुपैयाँमा झरेको छ । यो अवधिमा सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ घटिसकेको छ ।

करिब १० महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबाट सुन ३६ प्रतिशत घटेको छ भने नेपाली बजारमा २७.७ प्रतिशत घटेको छ । अमेरिकी डलरको मूल्यवृद्धि तथा बजेटमार्फत भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याइँदा अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा मूल्य कम घटेको देखिन्छ ।

चाँदीको अवस्था झन् कमजोर छ । माघ १५ गते नेपालमा प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको चाँदी हाल आधाभन्दा धेरै घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ । यहीं अवधिमा अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १२१ अमेरिकी डलरबाट ४२ मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागभन्दा आपूर्ति बढेपछि मूल्य घटेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले यतिबेला अमेरिकाको महँगीदर र ब्याजदर थप बढ्ने चर्चाले सुनको मूल्यमा दबाब परेको बताए । ‘यसअघि मूल्य अत्याधिक बढेको थियो, बढेपछि घट्नु स्वभाविक नै हो, तर यही बेला अमेरिकामा ब्याजदर बढ्ने चर्चाले मूल्य थप घटायो’ उनले भने ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी डिसेम्बर ८ र ९ मा बस्ने बैठकले ब्याजदर बढाउने छ ।

अमेरिकामा मुद्रास्फीति अपेक्षाअनुसार नियन्त्रणमा नआएपछि फेडले डिसेम्बरमा ब्याजदर बढाउन लागेको हो । रोयटर्सका अनुसार डिसेम्बरमा फेडले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउने सम्भावना ९६.८ प्रतिशत र ०.५० प्रतिशत विन्दुले बढाउने सम्भावना ३.२ प्रतिशत छ । डिसेम्बरमा मात्रै होइन, त्यसपछि पनि ब्याजदर बढ्ने सम्भावना बलियो नै रहेकाले सुनको मूल्यमा अत्याधिक दबाब परेको रोयटर्सले उल्लेख गरेको छ ।

‘डिसेम्बरपछि तय हुने ब्याजदरमा अमेरिकाको मुद्रास्फीति, रोजगारी र आर्थिक वृद्धिको तथ्यांक निर्णायक हुनेछन्’ रोयटर्सले उल्लेख गरेको छ । ब्याजदर बढ्दा बैंक निक्षेप तथा अमेरिकी सरकारी ऋणपत्रजस्ता प्रतिफल दिने वित्तीय उपकरणमा लगानी आकर्षण बढ्न जान्छ ।

जबकि सुनले लगानीकर्तालाई ब्याज वा नियमित प्रतिफल दिँदैन । त्यसैले ब्याजदर बढ्ने अपेक्षाले सुनमा लगानी गर्नुको सट्टा अन्य वित्तीय उपकरणतर्फ लगानीकर्ता आकर्षित हुने गरेका छन् ।

यससँगै प्रविधि कम्पनीका सेयरमा आएको गिरावटका कारण अन्य लगानीमा भएको घाटा पूर्ति गर्न लगानीकर्ताले सुन बेचेर नगद जुटाउन थालेको विश्लेषण गरिएको छ ।

रोयटर्ससँगको कुराकानीमा एमकेएस प्याम्पकी निक्की सिल्सले छोटो अवधिमा सुनलाई नगद जुटाउने सम्पत्तिका रूपमा हेरिने बताएकी छन् । उनको भनाइमा बजारमा तरलताको आवश्यकता पर्दा लगानीकर्ताले सुन बेच्न सक्छन् । यसले सुनको मूल्यमा थप दबाब सिर्जना गरेको छ ।

मूल्य घट्दा पनि बजारमा सुन अभाव

यतिबेला नेपाली बजारमा सुनको मूल्य घटे पनि चरम अभाव रहेको व्यवसायी बताउँछन् । व्यवसायी शाक्यका अनुसार बैंकहरूले अहिले सुन ल्याएकै छैनन् । ‘मूल्य घटिरहेकाले बैंकहरूले थप जोखिम नलिएको हुन सक्छ’ शाक्यले भने ‘बैंकहरूले अहिले सुन दिएकै छैनन् ।’

आफूहरूले सुन नपाउँदा पसल नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको उनले बताए । ‘एकातिर बिहेको सिजन सुरु भएको छ, अर्कोतिर मूल्य घटेकाले किन्न आउनेको चाप छ, तर दिन सकिएको छैन’ उनले भने ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार हाल सुनको मौज्दात सकिएको छ । ‘अहिले करिब ५.५ केजी मात्रै सुन मौज्दात छ’ एसोसिएसनका एक अधिकारीले भने ‘आगामी सोमबार १ सय केजी सुन आउँदैछ ।’ आगामी सोमबार आउने १ सय केजी सुनले व्यवसायीको माग पूरा हुने एसोसिएसनको दाबी छ ।

तर त्यति मागले नपुग्ने व्यवसायी बताउँछन् । हाल व्यवसायीले पनि आफूसँग भएको सुन बेच्न नचाहेको शाक्यले बताए । ‘कतिपय व्यवसायीले यसअघि खरिद गरेको मूल्य महँगो परेकाले हालको मूल्यमा सुन बेच्न चाहेका छैनन्, यसले पनि अभाव देखिएको हुन सक्छ’ उनले भने ।

मूल्य बढ्दै गएको अवस्थामा भने व्यवसायीले एकअर्कालाई पनि सुन आवश्यक परेका बेला केही नाफा लिएर बेच्ने गर्दछन् । तर मूल्य घट्दै गएको अवस्थामा आफूहरूसँग भएको सुन पनि उपभोक्तालाई दिन नसक्ने अवस्था रहने गरेको व्यवसायी बताउँछन् ।

‘यसअघि प्रतितोला २ लाख ८० हजार आफ्नो लागत परेको छ भने त्यो सुन आजको मूल्यमा उपभोक्तालाई दिँदा प्रतितोला ३५ हजार नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ’ शाक्यले भने ‘सस्तो मूल्य हुँदा हामीले नै पाएका छैनौं ।’

सुन अझै कहाँसम्म घट्न सक्छ ?

शाक्यका अनुसार अन्तर्राष्ट्रिय विश्लेषकहरूकै भनाइलाई व्यवसायीले मूल्य अनुमानको आधार बनाउँदै आएका छन् । सुनको मूल्य घट्ने क्रम जारी रहँदा विश्लेषकहरूले आगामी दिनमा मूल्यले समात्न सक्ने सम्भावित तल्लो बिन्दु पनि औँल्याउन थालेका छन् ।

सिंगापुरको स्ट्रेट्स टाइम्समा नोभेम्बर २० मा प्रकाशित समाचारअनुसार ग्लोबल एक्स ईटीएफका रणनीतिकार जस्टिन लिनले सुनको मूल्य अहिले निकै कमजोर अवस्थामा रहेको बताएका छन् ।

उनले सुनको मूल्यमा तत्काल बलियो प्राविधिक समर्थन देखिने बिन्दु प्रतिऔंस ३,३०० अमेरिकी डलर देखि ३,४०० रहेको बताएका छन् । यो भनेको अझै ७ प्रतिशत (प्रतितोला १७ हजार रुपैयाँ) सम्मको कमी हो । यद्यपि यो प्राविधिक विश्लेषणमा आधारित अनुमान हो ।

विश्व बैंकले सुनको मूल्यमा आगामी दुई वर्ष केही दबाब रहने प्रक्षेपण गरेको छ । बैंकको नयाँ प्रक्षेपणअनुसार सन् २०२७ मा सुनको औसत मूल्य प्रतिऔंस ४ हजार २५० डलर र सन् २०२८ मा ४ हजार डलर रहने अनुमान छ ।

यद्यपि सबै विश्लेषकको दृष्टिकोण नकारात्मक छैन । यूबीएसले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य ४ हजार ५०० डलर र सन् २०२७ को अन्त्यसम्म ५ हजार डलर पुग्ने प्रक्षेपण कायम राखेको छ । यूबीएसकी बहुमूल्य धातु रणनीतिकार जोनी टिभ्सले तत्कालीन कमजोरीका बाबजुद दीर्घकालीन सम्भावना सकारात्मक रहेको बताएकी छन् ।

छोटो अवधिमा ब्याजदर र डलरको दबाबले सुनको मूल्य थप घट्न सक्ने विश्लेषण भइरहे पनि दीर्घकालमा केन्द्रीय बैंकको खरिद, भूराजनीतिक तनाव र लगानी पोर्टफोलियो विविधीकरणको मागले सुनलाई पुनः बलियो बनाउन सक्ने विश्लेषकहरूको भनाइ छ ।

केन्द्रीय बैंकहरूले खरिद गरिरहेका छन् कि बिक्री ?

केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिमा विविधीकरण गर्न, अमेरिकी डलरमाथिको निर्भरता कम गर्न, भूराजनीतिक जोखिमबाट सञ्चितिलाई सुरक्षित राख्न र दीर्घकालीन वित्तीय स्थिरता कायम गर्न सुन मौज्दात गरेका हुन्छन् ।

सुनको सबैभन्दा धेरै माग र आपूर्ति केन्द्रीय बैंकहरूमार्फत नै हुने गर्छ । केन्द्रीय बैंकहरूको माग र आपूर्ति पक्ष सन्तुलित भएमा सुनको मूल्यलाई स्थिरता दिन्छ । त्यसैले सुनको मूल्यमा केन्द्रीय बैंकहरूको खरिद तथा बिक्रीले मुख्य प्रभाव पारेको हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहँदा पनि विश्वका केन्द्रीय बैंकहरूले भने सुन खरिद गर्ने क्रमलाई रोकेका छैनन् । व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले छोटो अवधिको मूल्य उतारचढावलाई हेरेर कारोबार गरिरहेका बेला केन्द्रीय बैंकहरूले भने दीर्घकालीन सञ्चिति व्यवस्थापनलाई प्राथमिकता दिइरहेका छन् ।

वल्र्ड गोल्ड काउन्सिलको नोभेम्बर ३ मा सार्वजनिक तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासमा विश्वका केन्द्रीय बैंक तथा सरकारी संस्थाहरूले ३२१ टन सुन थप खरिद गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो ।

यससँगै सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म केन्द्रीय बैंकहरूको खुद सुन खरिद ६७५ टन पुगेको काउन्सिलले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो ।

विशेषगरी पोल्यान्ड र चीन केन्द्रीय बैंकको सुन खरिदमा अगाडि देखिएका छन् । काउन्सिलका अनुसार सन् २०२६ को सेप्टेम्बरमा मात्रै केन्द्रीय बैंकहरूले खुद ६१ टन सुन खरिद गरेका थिए । जुन परिमाण २०२६ को एक महिनामा भएको सबैभन्दा ठूलो खरिद हो ।

पोल्यान्ड र चीनसँगै उज्बेकिस्तान, काजकिस्तान, जोर्डन, चेक गणतन्त्र र बोलिभियाले पनि सुनको सञ्चिति बढाएका छन् । रोयटर्सका अनुसार सन् २०२४ देखि २०२६ सम्म सुन खरिद गर्ने केन्द्रीय बैंकमध्ये पोल्यान्ड सबैभन्दा ठूलो खरिदकर्ता रहँदै आएको छ ।

यसबाट केन्द्रीय बैंकहरूले मूल्य घटेको अवस्थामा पनि सुनलाई आफ्नो विदेशी मुद्रा सञ्चितिको महत्त्वपूर्ण हिस्सा बनाइरहेको देखिन्छ ।

चाँदीको मूल्यमा किन झन् बढी गिरावट ?

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । तर चाँदीको गिरावट सुनको तुलनामा अझ तीव्र देखिएको छ । यसको प्रमुख कारण चाँदी बहुमूल्य धातु हुनुका साथै औद्योगिक उत्पादनमा समेत ठूलो मात्रामा प्रयोग हुनु हो ।

अन्तर्राष्ट्रिय बजारमा हाल चाँदीको मूल्य प्रतिऔंस करिब ४२ डलरमा झरेको छ । सन् २०२६ को जनवरीमा प्रतिऔंस १२१.६ डलरसम्म पुगेको चाँदीको मूल्य त्यसयता करिब ६५ प्रतिशत घटिसकेको छ ।

विशेषगरी सौर्य ऊर्जा उत्पादनमा प्रयोग हुने ‘फोटोभोल्टिक सेल’मा चाँदीको खपत घटाउने प्रयास भइरहेको छ । चाँदीको मूल्य अत्यधिक बढेपछि उत्पादकहरूले यसको प्रयोग कम गर्ने प्रविधि अपनाउन थालेका छन् । कतिपयले तामाजस्ता विकल्प प्रयोग गर्ने प्रयाससमेत गरिरहेका छन् ।

रोयटर्सका अनुसार मेटल्स फोकस र सिल्भर इन्स्टिच्युटले गरेको अध्ययनले सन् २०२६ मा विश्वको कुल चाँदीको माग अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत घटेर १ अर्ब ८ करोड औंसमा सीमित हुने अनुमान छ ।

यस अवधिमा औद्योगिक माग ३ प्रतिशत घट्ने, चाँदीका गरगहनाको माग २२ प्रतिशत र चाँदीका भाँडाकुँडाको माग १७ प्रतिशत घट्ने अनुमान छ ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?