४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन सम्बन्धी विवरण अद्यावधिक आजभोलिमै हुने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशनको विवरण अद्यावधिक पार्टीको आधिकारिकतासँग जोडिएको विषय नभएको बताएका हुन् ।
‘यो विषयमा चाहिने भन्दा बढी चर्चा भएको छ । नेपाली कांग्रेस पार्टीको अधिवेशन भयो । त्यो भएपछि दले आफ्नो नयाँ आएको नेतृत्वको जानकारी गराउने प्रोसेसलाई हामीले अद्यावधिक भन्ने गरेको हो,’ सभापति थापाले भने, ‘यो दलको आधिकारिकता वा त्यससँग जोडिएको विषय होइन ।’
महाधिवेशनपछि आफूहरूले आयोगमा विवरण बुझाएको र आयोगले थप कागजात मागेको उनले बताए ।
‘विवरण हामीले बुझायौं, उहाँहरूले त्यससँग सम्बन्धित थप विवरण माग्नुभयो, हामीले हाम्रो कागजात दिइसक्यौं । थप कागजात नपुगेको माग्नुभयो, खासगरिकन महिला ३३ प्रतिशत पुगेको हुनुपर्छ, विधानमा यसको फरम्याट छ, थुप्रै कुराहरू थिए । उहाँहरूले पठाउनुभयो, हामीले पठायौं, अब हामीले सबै कागजात पुर्याइसक्यौं, यो समान्य प्रोसेस हो, आजभोलि टुंगिन्छ,’ थापाले भने ।
आयोगले विवरण अध्ययनका लागि समय लिएकामा उनले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताए । ‘अध्ययन त गर्नैपर्यो, पहिला कति समय लाथ्यो भन्ने कुरा हामीले ख्याल गरेनौं । किनभने त्यतिबेला पार्टीभित्र विवाद थिएन । अहिले नेपाली कांग्रेसभित्र अहिले विवाद छ, समस्या छ, त्यसकारण असामान्य लाग्नु अनौठो भएन,’ उनले भने ।
अहिले आयोगले मागेका सबै विवरण बुझाइसकेकाले छिट्टै पार्टीले बुझाएको विवरण अद्यावधिक हुने उनले दाबी गरे ।
प्रतिक्रिया 4