+
+
Shares

चिनियाँ सुन तस्करको ‘हिट–लिस्ट’ बन्यो विमानस्थल

६० किलो सुन तस्करी घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा केही कमी आएको थियो । तर विमानस्थलबाट हुने सुन तस्करी फेरि नयाँ स्वरूपमा देखिन थालेको छ । पछिल्लो समय विमानस्थलबाट छिरेका सुनसहित चिनियाँ नागरिक धमाधम पक्राउ पर्न थालेका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ मंसिर ४ गते १८:०२

४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६५० ग्राम सुनसहित २ मंसिरमा एक चिनियाँ नागरिक पक्राउ परे ।

हिमालयन एअरलाइन्सको उडान नम्बर एच९३५३ नम्बरको जहाज दुबईबाट २ मंसिर ११:४१ बजे काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन ली सुनसहित विमानस्थलमा समातिएका थिए ।

विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा जाँचको क्रममा ती चिनियाँ नागरिकको गतिविधि शंकास्पद देखियो ।

विमानस्थलको भन्सार क्षेत्रमा रहेको ‘वाक थु्र’ गेटमा जाँच गर्ने क्रममा उनले हातमा एउटा ज्याकेट बोकेका थिए । हातमा बोकेको ज्याकेटको खल्ती छाम्दा सुनका चार वटा पोका भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

औषधिको क्याप्सुल आकार बनाई प्लाटिकले मोरेर ल्याइएका सुनका डल्ला (१ किलो ६५० ग्राम) फेला परेपछि उनलाई नियन्त्रणमा लिइयो । अहिले लीमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

०००

डेढ किलो सुनसहित एक चिनियाँ पक्राउ परेको ११ घण्टाअघि यस्तै प्रकारको घटना विमानस्थलमा भएको थियो । २ मंसिर बिहान १:२५ बजे हङकङबाट काठमाडौंका लागि उडेको नेपाल वायु सेवा निगमको उडान नम्बर आरए४१० नम्बरको जहाज अवतरण भयो ।

यो जहाजका यात्रुमध्ये एक थिए चीनको जिलिनका ५८ वर्षीय जिआन्हु वाङ । विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरीको सुरक्षासमेत जाँचपास गरेर उनी बाहिरिए ।

विमानस्थलको सुरक्षा जाँचपास गरेर बाहिरिएका उनै चिनियाँ वाङलाई भने विमानस्थलस्थित नेपाल प्रहरीले पक्राउ गर्‍यो । शंकास्पद गतिविधिपछि पक्राउ गरी जाँच गर्दा फेला पर्‍यो १ किलो ८०३ ग्राम सुन ।

विमानस्थल प्रहरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज नेउपानेका अनुसार मलद्वारभित्र प्लास्टिकले बेरेर उनले उक्त सुन ल्याएका थिए । अर्धठोस बनाएर औषधिको क्याप्सुल जस्तो आकारमा प्लास्टिकले मोरेर उनले सुन ल्याएका थिए । ११ घण्टाको फरकमा भएका यी दुवै घटनाको थप अनुसन्धान विमानस्थल प्रहरीले गरिरहेको छ ।

यसको तीन दिनअघि पनि चिनियाँ नागरिक नै विमानस्थलबाट सुनसहित पक्राउ परेका थिए । २९ कात्तिक १०:३० बजे हङकङबाट क्याथे प्यासिफिकको जहाजमार्फत काठमाडौं आएका ४२ वर्षीय झाङ गोक्विङ समातिए ।

गालेर अर्धठोस बनाइएको सुनलाई प्लास्टिकले मोरेर अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा वाङ पक्राउ परेका थिए । उनीबाट अर्धठोस आकारका २ थान अर्थात् ६३५.९६ ग्राम सुन बरामद भएको थियो ।

०००

तीन दिनको बीचमा भएका तीन फरक घटनामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । यो घटनाले विमानस्थलको रुट प्रयोग गर्दै चिनियाँ सुन तस्करले नेपालमा सुन भित्र्याउने गरेको देखिएको छ ।

यसअघि दोलखा नाका, सिन्धुपाल्चोक नाका, रसुवागढी नाकाबाट छिराइएको सुन प्रहरीले बरामद गरेको थियो । अहिले सिन्धुपाल्चोक र रसुवागढी नाका बन्द छ । अन्य नाकाबाट छिरेका सुन भने पछिल्लो समय प्रहरीले बरामद गरेको छैन ।

पछिल्लो समय विमानस्थलबाटै भित्रिएका सुन बरामद हुनु र चिनियाँ नागरिक पक्राउ पर्नुले चिनियाँ सुन तस्करले हवाई रुट प्रयोग गर्दै सुन भित्र्याउने गरेको प्रहरीको बुझाइ छ ।

‘अहिले स्थलमार्गबाट भित्रिएका सुनभन्दा पनि हवाई रुटबाट भित्रिएका सुन बरामद भएका छन् । यो घटनाले चिनियाँ सुन तस्करले विमानस्थल प्रयोग गर्न थालेको देखिन्छ,’ एक अनुसन्धान अधिकारी भन्छन् ।

तीन दिनको बीचमा भएका तीन घटना मात्रै होइन, यसअघि बुढानीलकण्ठबाट बरामद भएको साढे २१ किलो सुनसमेत विमानस्थलबाट नेपाल भित्रिएको प्रहरीको बुझाइ छ ।

अनुसन्धानका क्रममा चिनियाँ नागरिकले भाडामा लिएको गाडी पटकपटक विमानस्थल आउजाउ गरेको देखिएको छ । दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी चिनियाँ नागरिकले ११ असोजदेखि २५ असोजसम्मका लागि कार भाडामा लिएका थिए । यो कार पाँच पटकसम्म विमानस्थल पुगेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

२१ किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँहरू ।

‘११ दिनको अवधिमा यो कार पाँच पटकसम्म विमानस्थलको पार्किङ एरियासम्म पुगेर आएको देखिन्छ,’ ती अनुसन्धान अधिकृत भन्छन्, ‘कारको शंकास्पद गतिविधिले पनि सुन हवाई रुट हुँदै आएको हाम्रो विश्लेषण छ ।’

उक्त कार चिनियाँ नागरिक हान फिईले भाडामा लिएका थिए । ११ असोजमा काठमाडौं ओर्लनासाथ हान फिईले रिकन्डिसन तथा रेन्टल हाउसबाट भाडामा लिएका थिए । यो कार सुन ओसार्नकै लागि भाडामा लिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२२ असोज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मार्दा पनि कारमा दुई केजीका सुनका दुई वटा बिस्कुट भेटिएका थिए । एक/एक किलोका दुई वटा बिस्कुट कागजमा ‍र्‍याप गरेको अवस्थामा चालक सिट नजिकको बक्समा फेला परेको थियो ।

त्यसैगरी, सुनसहित पक्राउ परेका ती चिनियाँ नागरिक पनि हवाई रुट हुँदै हङकङबाट काठमाडौं आएका थिए । अहिले बरामद भएको सुन हवाई रुटबाट काठमाडौं भित्रिएको आशंका प्रहरीले गरेको छ ।

सुनसहित पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षी हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन पुर्पक्षका लागि कारागार चलान भइसकेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

उनीहरूमध्ये २ जना ११ असोजमा र १ जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अध्यागमनको रेकर्डमा देखिन्छ ।

काठमाडौं ओर्लिएपछि उनीहरू पटकपटक एअरपोर्ट गएको पनि भेटिएको प्रहरीले स्रोतले बतायो । काठमाडौंमा रहँदा पनि विमानस्थलमा ओहोरदोहार भइरहेको, पाँच पटकसम्म भाडामा लिएको कार विमानस्थल पुगेको र उनीहरू हवाई रुट हुँदै काठमाडौं भित्रिएकाले बरामद सुन पनि हवाई रुटबाटै काठमाडौं भित्रिएको प्रहरीको विश्लेषण छ ।

लेसिलो आकार बनाएर सुन ल्याउँदा सहज हुने, लुकाउन मिल्ने भएकाले उनीहरूले उक्त स्वरूपमा हवाई रुटबाटै सुन ल्याएको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ ।

एक भन्सार अधिकृतका अनुसार गालेर अर्धठोस रूपमा प्लास्टिकले मोरेर ल्याइएको सुन विमानस्थलको डिटेक्टर मेसिनबाट पत्ता लगाउन गाह्रो हुने भएकाले तस्करले विमानस्थलाई टार्गेट बनाउने गरेका छन् ।

‘सग्लो रूपमा ल्याइएका सुन डिटेक्टर मेसिनले थाहा पाउने भएपछि गालेर अर्धठोस रूपमा प्लास्टिकले मोरेर शरीरका विभिन्न अगंमा लुकाएर ल्याउने र केहीले मलद्वारमा समेत ल्याउने गरेको देखिन्छ । यस्ता घटनाहरू भने सुराकीको आधारबिना पत्ता लगाउन गाह्रो हुन्छ । मेसिनले यस्तो पत्ता लगाउन सक्दैन,’ विमानस्थल भन्सारका एक अधिकृत भन्छन् ।

ती भन्सार अधिकृतले भने जस्तै अहिले विमानस्थलको जाँचपास भएपछि बरामद भएका जति पनि सुनहरू छन् ती सबै अर्धठोस रूपमा प्लास्टिकले मोरेर ल्याएको अवस्थामा बरामद भएका छन् ।

चिनियाँ नागरिक बाहेक केही भारतीय र बंगलादेशी नागरिक पनि पछिल्लो समय विमानस्थल हुँदै सुन तस्करी गर्दा पक्राउ परेका छन् ।

गत ८ असोजमा दुबईबाट फ्लाई दुबईको एफजेट५७३ नम्बरको उडानमार्फत काठमाडौं आएका भारतीय नागरिक मोहमद चेरा थोडी ५३५ ग्राम सुनसहित पक्राउ परेका थिए । उनले अन्डरवेयरभित्र प्लास्टिकले र्‍यापिङ गरेको अवस्थामा अर्धठोस आकारमा सुन ल्याएका थिए । उनलाई विमानस्थलको सुरक्षा जाँच पास गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

ती भन्सार अधिकृतले भने जस्तै अर्धठोस बनाएर प्लास्टिकले र्‍याप गरेपछि डिटेक्टर मेसिनले सुनको संकेत दिन गाह्रो हुँदा सुन तस्करले यस्तै शैली अपनाएर विमानस्थलमार्फत सुन छिराउने गरेका छन् ।

२ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो घटनापछि विमानस्थलबाट हुने सुन तस्करीमा निकै कमी आएको थियो । लामो समयसम्म विमानस्थलको रुट प्रयोग गरी तस्करी भएका सुन प्रहरी तथा भन्सारले बरामद गरेको थिएन ।

तर, अहिले फेरि विमानस्थलकै रुट हुँदै सुन तस्करी हुन थालेको छ । यसले विमानस्थलको सुरक्षा संयन्त्र तथा जाँचपासको प्रावधान तथ शैलीमाथि पनि प्रश्न उठाएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० आर्थिक वर्षमा ५७९ किलो २१८ ग्राम तस्करीको सुन बरामद भएको छ । जसमा ७६८ जना पक्राउ परेका छन् ।

नेपालीलाई भरियाको रूपमा प्रयोग

चिनियाँ मात्रै होइन, नेपालीलाई भरिया बनाएर पनि सुन तस्करी हुने गरेको छ । विशेषगरी बाह्य मुलुकमा काम गर्न गएका कामदाहरूलाई तस्करले भरियाको रूपमा प्रयोग गरेर विभिन्न गहनाको आकारमा सुन नेपाल छिराउने गरेका छन् ।

केही पैसाको प्रलोभन देखाएर तथा स्वदेश फर्कन लागेका नेपालीहरूलाई हवाई टिकटसमेत काटिदिएर तस्करहरूले गरगहनाको आकारमा सुन बोकाएर पठाउने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय सानो गौचरणको तथ्यांकअनुसार गत साउन र भदौ महिनामा मात्रै ४५ जना नेपाली भरिया पक्राउ परेका छन् ।

उनीहरूले बोकेर ल्याएको १ किलो ६४३ ग्राम सुनसमेत प्रहरीले बरामद गरेको थियो । यसका लागि तस्करहरूले दुबईलगायत खाडी मुलुकमा भरिया खोज्न मान्छे नै खटाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?