१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा जापान सरकारले पुनर्निर्माण गरिदिएको छ । साथै स्मार्टबोर्ड र फर्निचर जडान गरी अन्य शैक्षिक उपकरणहरू समेत जापानले हस्तान्तरण गरेको छ ।
नेपालका लागि जापानका राजदूत मेइदा तोरुले विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीलाई उक्त शैक्षिक उपकरण हस्तान्तरण गरेका हुन् ।
सो क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षामा जापान सरकारले विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बताए ।
राजदूत तोरुले विश्वभाषा क्याम्पसमा नवनिर्मित कक्षाकोठा र शैक्षिक उपकरणले जापानिज भाषा सिक्ने विद्यार्थीहरूको सिकाइमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।
जापानमा हाल ३ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत रहेको, नेपालीमा जापानी भाषा,संस्कृति प्रतिको चाहाना बढेको र जापानिज भाषाकै कारण नेपालीहरूले विभिन्न अवसरहरू समेत प्राप्त गर्दै आइरहेको उनले बताए ।
प्रतिक्रिया 4