१० मंसिर, काठमाडौं । सरकारका ७ जना मन्त्रीसहित उच्च अधिकारीहरूबीच अन्तर मन्त्रालयगत बैठक बसेको छ ।
पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी र प्रक्रियागत जटिलता हटाउनेबारे सो बैठकमा छलफल भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री सोबिता गौतमको पहलमा बैठक बसेको थियो ।
बैठकले विद्यमान कानुनी व्यवस्थाबीचको असङ्गति, प्रक्रियागत दोहोरोपन र प्रशासनिक अवरोध हटाउन आवश्यक कानून संशोधनको तयारी थाल्ने निष्कर्ष निकालेको उनको सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह सहभागी थिए ।
राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन र विस्तारमा समस्या देखिएको निष्कर्ष निकालिएको बताइएको छ ।
बैठकपछि कानुन मन्त्री गौतमले प्रकृति, जैविक विविधता र पर्यावरणको संरक्षण सुनिश्चित गर्दै लगानीमैत्री वातावरण निर्माण र स्थानीय रोजगारी सिर्जनाका लागि कानुनी सुधार गर्न लागिएको जानकारी दिएकी छिन् ।
प्रतिक्रिया 4