+
+

पार्टी महासचिवमा मेरो दाबी स्वाभाविक : अनन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २१:०७

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक ्रहेको बताएका छन् । विगतमा पार्टी सचिव  भइसकेकाले महासचिवमा दाबी स्वाभाविक हुने उनको भनाइ छ ।

स्वास्थ्य उपचारपछि चीनबाट आज स्वदेश फर्किएका नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।

महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए । छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

उनले सहमतिमा भए पनि र निर्वाचनमा भए पनि आफू सहभागी हुने बताए । नेता पुनले भने, ‘सकेसम्म सहमतिमा हुन्छ म मान्छु, प्रतिस्पर्धात्मक जस्तो, आन्तरिक जनवाद प्रयोग हुने हो भने म पनि सहभागी हुन्छु । मैले त्यो अवसर पाउनुपर्छ ।’

तर अध्यक्ष र केन्द्रीय सदस्य पद सहमतिमै चयन भएकाले अन्य पद पनि सहमतीमा टुंगो लाग्ने उनले विश्वास व्यक्त गरे ।

नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरेर स्वदेश फर्किएका हुन् । नेता पुनले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफ्नो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

पार्टीको महासचिव पदका दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

गत पुसमा काठमाडौंमा आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय सदस्यमात्रै चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?