
१८ फागुन, काठमाडौं । दुई वर्षअघि छायांकन सुरु भएर रोकिएको चलचित्र ‘२ नम्बरी’को छायांकन चैत १ गतेदेखि पुनः हुने भएको छ । चलचित्रको निर्माणपक्ष छायांकन स्थलको खोजीका लागि निस्किएको छ ।
निर्माता किरण नेपालीका अनुसार अहिले चलचित्रको टिम पोखराभन्दा केही माथिको गाउँ ल्याङ्ग्रीमा छ । दुई वर्षअघि केही प्रतिशत छायांकन सुरु गरेर पनि कोरोना महामारीका कारण चलचित्रको काम रोकिएको थियो । तर यस अवधिमा धेरै कुरा बदलिएकाले निर्माणटिमले सुरुवातबाट नै छायांकन गर्ने भएको छ ।
यो चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उगेन छोदन र जयनन्द लामाको मुख्य भूमिका थियो । तर अब कलाकार केही परिवर्तन हुने किरणले जानकारी दिए ।
अभिनेता पल शाह एक नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । यसैले पनि चलचित्रको लागि अर्को नायक लिने तयारीमा निर्माणपक्ष छ । किरणले भने, ‘चलचित्रमा अर्का चर्चित नायकलाई अनुबन्धित गर्नेछौं ।’ कलाकार जयनन्द लामाको निधन भएकाले उनको भूमिका अरु कोही हास्य कलाकारले गर्ने किरणको भनाइ छ ।
दीपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्रले दुई साथीको कथा भन्छ ।
प्रतिक्रिया 4