+
+

मधेश प्रदेशमा थोरै स्थानीय तहमा मात्र गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २०:५१

१३ वैशाख, जनकपुरधाम । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भनेपनि मधेश प्रदेशका अधिकांश पालिकामा तालमेल हुन सकेन । सत्तारुढ दलहरु आ–आफ्नै तरिकाले चुनावमा होमिएका छन् ।

एक मात्र महानगरपालिका वीरगंजमा सत्तारुढ गठबन्धनबाट मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

वीरगंज महानगरपालिकामै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ । मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तम झालाई उम्मेदवार बनाइएको छ । यो बाहेक पर्साको अन्य कुनै पालिकामा गठबन्धन भएको छैन ।

जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबीच भएको तालमेल अनुसार जसपाले मेयर र नेपाली कांग्रेसले उपमेयर पाएको छ । उपमेयरमा जसपाबाट निवर्तमान मेयर लालकिशोर साह र उपमेयरमा कांग्रेसका किशोरी साहले उम्मेदबारी दिएका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । तालमेल अनुसार नेकपा माओवादी केन्द्रका राजन पौडेलले मेयरमा र नेपाली कांग्रेसकी मेघा शाहीले उपमेयरमा उम्मेदबारी दिएका छन् ।

बाराकै कलैया उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश राय यादवले उम्मेदवारी दिएका छन् । उनी निवर्तमान मेयर पनि हुन् । जसपाबाट प्रमोद गुप्ता उपमेयरमा उम्मेदवारी दिएका छन् ।

सप्तरीको दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धन अनुसार माओवादीका केन्द्रका नेता जयप्रकाश चौधरी मेयरमा तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन साह ‘आजाद’ ले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

सप्तरीकै सुरुंगा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । जसपाले साबिर खानलाई मेयरमा र माओवादीले जनयुद्धका घाइते कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरमा उम्मेदवारी दिन लगाएको छ ।

धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन बनेको छ । माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र माओवादीकै उपमेयरमा विमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

तालमेल अनुसार जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन् । माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर र उपमेयर पाएको हो ।

जसपाले १, २, ४, ५ र ६ नम्बर वडा पाएको छ भने माओवादी केन्द्रले ३, ७, ८, ९, १० र ११ नम्बर वडा पाएको छ ।

सिरहाको लहान नगरपालिकामा मुख्य तीन दलवीच गठबन्धन बनेको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । जसअनुसार नेपाली कांग्रेसबाट प्रमुखमा महेश चौधरी र उपप्रमुखमा जसपाबाट राम चलितर महतो र चन्द्रनारायण कुशवाहले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले एक जनालाई आधिकारिक पत्र पठाएपछि एक जना पछि हट्ने सहमति भएको छ ।

यस्तै २४ वडामा जसपा–माओवादीबीच तालमेल भएको छ । जस अन्र्तगत जसपाले १४ र माओवादीले १० वडा बाँडफाँट गरेको छ ।

लाहान नगरपालिका प्रमुखमा यसअघि मुनी साह निर्वाचित भएका थिए । उनले यस पटक पनि उम्मेदवारी दिएका छन् ।

रौतहटको कटहरियामा नेकपा माओवादी केन्द्र र जसपाबीच तालमेल भएको छ । सर्लाही र महोत्तरीको सबै पालिकामा दलहरु आफ्नै तरिकाले उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज गणेश साह मधेश प्रदेशमा केन्द्रको गठबन्धनको नीति न्यून रुपमा लागू भएको बताउँछन् । न्यून लागू भएपनि सफल भएको उनको भनाइ छ ।

मधेश प्रदेशमा बर्तमान राजनीतिक पार्टीका उम्मेदवारको आकांक्षा आफ्नै बीचमा मित्रवत प्रतिस्पर्धा गर्ने त्यसबाट आउने परिणाम स्वीकार गर्ने पक्षमा देखिएकाले धेरै ठाउँमा गठबन्धन हुन नसकेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?