
८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम संशोधन प्रस्ताव सहित सर्वसम्मत पारित गरेको छ ।
महानगरपालिकाले ११ औं नगरसभाको दोस्रो बैठकले नगरसभा सदस्यहरुले प्रस्ताव गरेको संशोधन सहित पारित भएको हो ।
महानगरका मेयर बालेन साहले नगरसभा सदस्यहरुले उठाएको विषयहरुलाई संशोधनसहित स्वीकार गरेर अगाडी जाने बताउँदै संशोधन सहित नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव राखेको थियो । जसलाई नगर सभा सदस्यहरुले सर्वसम्मत पास गरेका हुन् ।
वडाभवनदेखि टुँडिखेल खालीसम्मको माग
नगरसभा सदस्यहरुले काठमाडौं वडाहरुको भवन निर्माणदेखि टुँडिखेल खाली गर्नेसम्म माग गरेका थिए । सभामा बोल्दै वडा नं. ९ का टेकराज अधिकारीले वडा वडामा मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेका थिए ।
यस्तै वडा नं. २९ का सन्तोष ढुंगेलले महानगरको कार्यालयमा दोभासेको अभावले कान नुसन्नेहरुको लागि समस्या भएको बताएका थिए । ढुंगेलले निर्माण हुन बाँकी रहेका वडा भवनहरु तत्काल बनाउनुपर्ने बताउँदै प्रत्येक वडामा मेलमिलापकर्ताले काम गर्न नसकेको भन्दै प्रभावकारी बनाउन माग गरे ।
नगर सभासदस्य शोभादेवी मानन्धरले नक्सा पास नगरी बनाएका घर घरधनीकै खर्चमा भत्काउने वा नक्सा पास गराउनको लागि पहल गर्नुपर्ने बताइन् । उनले नीति तथा कार्यक्रम शब्दमा राम्रो आएकोले व्यवहारमा उतार्न आवश्यक रहेको बताइन् ।
यस्तै वडा नं. ९ का श्रीराम राईले काठमाडौंको फुटपाथमा सानो बुट्यान रोप्नुपर्ने बताए । उनले महानगरको बाटो अपाङ्गमैत्री हुनुपर्ने, साइकल लेन हुनुपर्ने, टेलिफोन र इन्टरनेटका तार व्यवस्थित गर्नुपर्ने बताए ।
ब्रुमर चलाएता पनि काठमाडौंमा भित्रने गाडीले बोकेर आएको हिलोले घाम लागेपछि काठमाडौंमा धुलो उड्ने हुँदा ब्रुमरको काम फिक्का भएको बताए । राईले वडामा ५ जनासम्म नगर प्रहरी खटाउनुपर्ने माग राखे । महानगरको फोहोर श्रोतमै छुट्याउन जनचेतना आवश्यक रहेको टिप्पणी उनले गरेका थिए ।
यस्तै वडा नं. ६ का नगरसभा ससदस्य नरेन्द्रकुमार थापाले जनप्रतिनिधि र कर्मचारीले चढ्ने गाडी विद्युतीय बनाउन माग गरे । उनले महानगर अस्पतालको विषय नीति तथा कार्यक्रममा छुटेको बताए । थापाले तारागाउँ विकास समितिको जग्गामा महानगरले पार्किङ गर्न माग्नुपर्ने समेत बताए ।
काठमाडौं ११ की आशा श्रेष्ठ रौनियारले घटना दर्ता गर्दा अनलाइन प्रणालीमा जनताले दुख पाएको भन्दै घटना दर्ता अनलाइनबाट गर्न नजानेर वडामा आएका जनतालाई बिना सेवा फर्काउन नहुने बताइन् । उनले काठमाडौंको वडाबासीलाई वडा भएको अस्पतालमा २५ देखि ३० प्रतिशत छुट दिन आवश्यक रहेको बताइन् ।
काठमाडौं २२ का नगरसभा सदस्य चन्द्रमान तुलाधार आर्मीको कब्जाबाट फिर्ता गरेर टुँडिखेल खुल्ला गर्न माग गरे ।
२२ कै मच्छाराजा महर्जन तेस्रो कार्यपालिका बैठक औपचारिक कि अनौपचारिक भन्दै प्रश्न गरेका थिए । नगरसभा सदस्य मैया लक्ष्मी महर्जनले लिखित सुझाव दिएकी थिइन् ।
सुझावलाई नीति तथा कार्यक्रममा समेटेर अगाडी बढ्ने उपप्रमुख सुनिता डंगोलले बताइन् । प्रमुख र उपप्रमुखले बजेट ल्याउँदा नगरसभामा उठेका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मत भएको थियो । महानगरले असार १० गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।
प्रतिक्रिया 4