+
+

मधेश प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते ९:२०

२६ मंसिर, जनकपुरधाम । समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लविङ सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ ।

यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी छन् । यद्यपि प्रवल दाबेदारका रुपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्ण यादव र निवर्तमान संसदीय दलका नेता समेत रहेका नवनिर्वाचित सांसद रामसरोज यादव हुन् । त्यस्तै निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन क्षेत्री पनि आकांक्षी छन् ।

दलको नेताको दाबेदार चारैजना संस्थापन पक्षकै हुन् । कृष्ण वा रामसरोज मध्ये एकजना दलको नेता बन्ने अवसर पाउन सक्ने प्रवल सम्भावना रहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

पहिला पनि दलको नेता रहिसकेकाले फेरि पनि दलको नेताको आकांक्षी हुनु स्वाभाविक रहेको रामसरोजको तर्क छ । उनी दलको नेता भएर यसअघि झण्डै एक वर्ष जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् । ‘म पहिला पनि दलको नेता रहिसकेको छु । मसँग दलको नेताको अनुभव छ । त्यसैले फेरि पनि दलको नेतामा मेरो दावी स्वाभाविक हो,’ रामसरोजले भने ।

प्ाार्टीको मधेश प्रदेश सभापति रहेकाले दलको नेतामा आफ्नो दावी स्वतः हुने कृष्ण बताउँछन् । ‘यो प्रदेशको सभापतिको हैसियतले म दलको नेताको स्वाभाविक आकांक्षी हुँ । तर पनि संगठन भित्र छलफल गरेर सहमतिमा टुंग्याउँछौं । छलफल भइरहेको छ,’ कृष्णले भने ।

अहिलेसम्म कांग्रेसको संस्थापन इतरपक्ष शेखर कोइराला समूहबाट कोही पनि दलका नेताका लागि आकांक्षा जाहेर गरेका छैनन् । इतर पक्षका प्रत्यक्ष निर्वाचित सांसद कौशल किशोर यादवले पक्षमा छलफल गरेर मात्र केही कुरा भन्ने बताए ।

मधेश प्रदेशमा सत्ता गठबन्धन कांग्रेस नेतृत्वमै सरकार बन्ने सम्भावनाले दलको नेता बन्न बढी कसरत भइरहेको छ । दलको नेता बने सरकार निर्माण हुँदा स्वतः मुख्यमन्त्री बन्न पाउनेछन् ।

मधेश प्रदेशमा संस्थापन पक्षकै बाहुल्यता छ । कांग्रेसका २२ सांसदमध्ये प्रत्यक्ष र समानुपातिक २-२ जना गरी ४ जना मात्र संस्थापन इतर पक्षका हुन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको भूमिका पनि दलको नेता बनाउन निणर्ायक हुने चर्चा छ । १४ औं महाधिवेशनदेखि देउवासँग चिसिएको निधिको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ । त्यसकारण कृष्ण वा रामसरोज कसलाई निधिले साथ दिन्छन्, त्यसमा भर पर्ने कांग्रेसका एक नेताले बताए ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट रहेको छ । प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल बनेको छ । १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेका छन् । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र निर्वाचित भएका छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजिते पनि समानुपातिकतर्फ एक/एक सिट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?