+
+

६० किलो सुन तस्करी प्रकरणका ७ अभियुक्त सर्वोच्चको आदेशपछि धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १७:५३

९ कात्तिक, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ७ जना अभियुक्त सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् । जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएका मध्ये ७ जना सर्वोच्चको आदेशपछि रिहा भएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ साउन २०८० मा बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेर मुद्दा चलेका मध्ये ७ जना रिहा भएका हुन् ।

रिहा हुनेहरुमा दोलखाका ४४ वर्षीय किशोर बस्नेत, काठमाडौंका ५८ वर्षीय कुमार ढकाल, कैलालीका ५० वर्षीय सन्तोष चन्द, काठमाडौंकै ५० वर्षीय सरोज श्रेष्ठ, खोटाङका ४६ वर्षीय राजेन्द्र कुमार राई, दोलखाका ५४ वर्षीय रामकुमार भुजेल र शिवकुमार सरार्फ छन् ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको आदेशले ११ असोजमा उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

केन्द्रीय कारागार सुन्धारामा रहेका किशोर बस्नेत १४ असोजमा २ लाख धरौटी बुझाएर रिहा भएका थिए । शिवकुमार सर्राफ ५ लाख धरौटी बुझाएर रिहा भएका छन्् ।

सन्तोष चन्द पनि असोजमै ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । कुमार ढकाल ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । रामकुमार भुजेल २ लाख, सरोज श्रेष्ठ २ लाख र राजेन्द्र कुमार राई २ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

धरौटी नबुझाएका पर्साका ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ अहिले सुन्धारा कारागारबाट ३ कात्तिकमा डिल्लीबजार कारागार सरुवा भएका हुन् ।

सुन तस्करी प्रकरणमा उनीहरुलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उनीहरु रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चले जिल्ला र उच्चको आदेश उल्टाउँदै उनीहरुलाई सामान्य धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा गर्न दिइएको आदेश भने सार्वजनिक भइसकेको छैन ।

उक्त सुनको अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो । जसमा २५ जनाविरुद्ध ३१ भदौ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दताए भएको थियो ।

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा ल्याएको ६० किलो भन्दा बढी राजश्व अनुसन्धान विभागले सुन २ साउन २०८० मा बरामद गरेको थियो।

अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भयो। १३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिएका थिए । उनी तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।

दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरुसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठायो ।

एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै २० साउन सीआईबीले अनुसन्धानको जिम्मा पायो ।

अनुसन्धानपछि सीआईबीले २७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ यो समूहले ३६२ किलो भन्दा बढी सुन तस्करी गरेको भन्दै ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गर्दै २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। जसमध्ये ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये त्यतिबेला रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छटेकी थिइन्।

एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी ९ चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि कारागारमा थिए।

पछि सुन तस्करीको थप छानबिन गर्न भन्दै १४ असोज २०८० मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग समेत पठन गरिएको थियो। १ चैतमा २०८० मा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई आयोगले प्रतिवेदन बुझाएको थियो। त्यसपछिको थप अनुसन्धान गर्दा सीआईबीले ३५२ किलो मात्र नभई ३ हजार १९४ किलो ६६८ ग्राम अर्थात करिब ३१ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको थियो।

दोस्रो चरणको अनुसन्धानमा थप २० जना पक्राउ समेत परेका थिए श्र सुनको कारोबार रकम सजिलो पे र पेवेल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ८ जना र सुन तस्करीकै प्रत्यक्ष जोडिएको आरोपमा १२ जना गरी २० जना पक्राउ परेका थिए । जसमा ६० जनालाई प्रतिवादी बनाउँदै १७ असार २०८१ मा मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?