
१९ चैत, काठमाडौं । प्रतिनिधिसभाका तीन जना सदस्य विदेश रहेका कारणले संसद्का १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको पाइएको छ ।
संसद्को अधिवेश गत १८ माघदेखि सुरु भएको थियो । मंगलबार रातिदेखि अधिवेशन अन्त्य हुँदैछ । दुई महिना चलेको संसद्मा तीन जना सांसद विदेश रहेकै कारण १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको पाइएको हो । यसको सूचना सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभाकै बैठकमा सुनाएका छन् ।
सभामुख घिमिरेका अनुसार नेपाली कांग्रेसकी सांसद लिलादेवी बोखिम लिम्बु प्रतिनिधिसभाका १४ वटा बैठकमा अनुपस्थित रहिन् । यसको कारणमा उनले ‘पारिवारिक कामले बेलायत जानु परेको’ उल्लेख गरेकी छन् ।
लिम्बु ताप्लेजुङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्छिन् । उनी समानुपातिक निर्वाचित प्रणाली अन्तर्गत निर्वाचित सांसद हुन् ।
कांग्रेसकै सांसद रमेश रिजाल संसद्का १२ वटा बैठकमा निरन्तर अनुपस्थित रहे । कारणमा उनले ‘वैदेशिक भ्रमण’ भनेर उल्लेख गरेका छन् ।
रिजाल पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
कांग्रेसका अर्का सांसद सरस्वती बजिमय प्रतिनिधिसभामा ११ वटा बैठकमा लगातार अनुपस्थित रहिन् । उनले पनि कारणमा ‘विशेष कारणले देश बाहिर रहनुपरेको’ उल्लेख गरेकी छन् । बजिमय खोटाङबाट संघीय संसदमा प्रतिनिधित्व गर्छिन् । उनी समानुपातिक निर्वाचित प्रणाली अन्तर्गत निर्वाचित सांसद हुन् ।
यसका अलावा अन्य ३ जना सांसद पनि संसद्का १० भन्दा बढी बैठकमा अनुपस्थित रहे ।
कांग्रेसका सांसद मनोरमा सेरचन निरन्तर २७ वटा बैठकमा अनुपस्थित छन् । थेरापी चलिरहेका कारण संसद् बैठकमा जान नसकेका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा पनि निरन्तर ११ वटा बैठकमा अनुपस्थित रहे । पार्टीको काममा व्यस्त भएकाले संसद्को बैठकमा उपस्थित हुन नसकेको कारण उनले दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गिता बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उपचारमा रहेका कारणले उपस्थित हुन नसकेकी हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१३ मा अनुपस्थितिको सूचना दिनुपर्ने सम्बन्धी व्यवस्था छ ।
कुनै सदस्य अस्वस्थ वा काबु बाहिरको परिस्थिति परि संविधानको धारा ८९ को खण्ड (घ) बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहनु पर्ने भएमा सो सम्बन्धी अग्रिम सूचना सभामुख मार्फत् सदनलाई दिनु पर्नेछ’ नियमावलीको नियम २१३ को उपनियम १ मा छ ।
यस्तो सूचना सभामुखले सभाको स्वीकृतिको निमित्त प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यसअनुसार अधिवेशनको अन्तिम दिन सभामुखले सभामा प्रस्तुत गरेका हुन् । जसलाई सभाले स्वीकृत गरेको छ ।
संघीय संसद्को हिउँदे अधिवेश गत १८ माघदेखि सुरु भएको थियो । मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
प्रतिक्रिया 4