+
+
Shares

त्यसपछि संसद्‌मा लिङ्देनले छाती पिट्दै भने- राजावादी यहाँ छ

तीनकुने घटनापछिको पहिलो संसद् बैठकमा के-के भयो ?

संविधानले ‘राजतन्त्र’ नचिन्ने भन्दै राजावादी बहस संसद्‌मा गर्नेलाई कारबाही हुनुपर्ने सत्तापक्षका सांसदहरूको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते २१:५०

१७ चैत, काठमाडौं । गत शुक्रबार राजावादी समूहले संसद् भवन प्रवेश गर्न खोज्दा भाँडिएको आन्दोलनले उग्र रुप लिँदा दुई जनाको ज्यान गयो, कयौं घाइते भए । भौतिक क्षतिको विवरण अझै संकलन हुँदैछ ।

यसैबीच आइतबार बिहान सवा ११ बजेका लागि संसद् बैठक बोलाइएको थियो । बैठकबारे नागरिकस्तरसम्म चासो थियो ।

तर, दलहरूबीच प्रधानमन्त्रले संसद्मा सम्बोधन गर्ने विषयमा सहमति जुट्न नसक्दा ढिला भयो । सूचना टाँस गरेर बैठक स्थगित भयो । दिउँसो सवा एक बजे सुरु भएको बैठक धेरैबेर चल्न  सकेन ।

खासगरी संसद्‌मा विपक्षीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गरिरहेका छन् ।

आइतबार पनि उनीहरूको सोही माग थियो ।

तर, सत्तापक्षका सांसदहरूले भने गत शुक्रबारको घटनाले देशमा अनेकन समस्या सिर्जना भएकोतर्फ ध्यानाकर्षण गराउँदै संसद् अवरोध नगर्न आग्रह गरे ।

सत्तापक्षको यही भनाइलाई बल पुग्नेगरी सभामुख देवराज घिमिरेले पनि विपक्षीलाई आग्रह गरेका थिए । सभामुखले गत चैत १३ गतेबाट प्रतिनिधिसभा अवरोध भइरहेको भन्दै खोल्न आग्रह गरेका थिए ।

‘…नयाँ नयाँ परिस्थिति देख्ने र भोग्ने स्थिति आएको छ । यस्तो बेलामा आज अब हामी फेरि सभा सञ्चालन गर्ने र यी लगायतका विषयमा बहस छलफल गर्ने, देशको अवस्थाको बारेमा जानकारी गराउने सन्देश दिने परिस्थितिमा अहिले सभा सञ्चालन गर्नका लागि सहयोग गर्नुस्,’ सभामुखले भनेका थिए ।

तर, विपक्षीहरूले मानेनन् ।

विपक्षी दलका सांसदहरूले निरन्तर होहल्ला गरिरहे ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आक्रमक देखिए । सांसद दीपक सिंह ‘हो, हामी राजावादी हौं’ भन्दै जंगिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले ‘राजावादी भन्ने हरूलाई कारबाही हुनुपछ, जेल हाल्नुपर्छ, को हो राजावादी ? निषेध गर्नुपर्छ’ लगायतका शब्द प्रयोग गरेपछि राप्रपा सांसदहरू आक्रामक भएका थिए ।

संविधानले ‘राजतन्त्र’ नचिन्ने भन्दै राजावादी बहस संसद्‌मा गर्नेलाई कारबाही हुनुपर्ने सत्तापक्षका सांसदहरूको भनाइ थियो ।

त्यसैबीच, राप्रपा सांसदसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन उठे ।

उनले निकैबेर आफ्नो छाती ठोक्दै भन्न थाले, न थाले, ‘हो हामी राजावादी हौं । कसले हाल्छ जेल ?’

लगत्तै, लिङ्देनले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, ‘संसद्मा सत्तापक्षबाट कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि… छाति ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’
यस्तै यस्तै आक्रामक अभिव्यक्तिसहित लिङ्देन उत्रिएपछि अन्य सांसद ज्ञानेन्द्रबहादुर शाही, रोशन कार्की लगायत चर्को भएर उत्रिए ।

अवस्था असामान्य बन्ने देखेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?