+
+
Shares

अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?

नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र दिने र प्रतिनिधिसभाको पहिलो बैठक चैत १२ गते बस्ने तयारी छ।
  • जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् र पहिलो बैठकले सभामुख चयन कार्यतालिका तय गर्नेछ।
  • पहिलो बैठकमा सर्वदलीय बैठक बसेर एजेन्डा तय गरिने, शुभकामना मन्तव्य राखिने र संसदीय समितिहरू गठन प्रक्रिया सुरु गरिनेछ।

४ चैत, काठमाडौं । निर्वाचनको नतिजा आएसँगै संघीय संसद् सचिवालय प्रतिनिधिसभा बैठकको तयारीमा लागेको छ ।

राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथसँगै आगामी सभाको सञ्चालनको सन्दर्भमा संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको हो ।

निर्वाचन आयोगले बिहीबार समानुपातिक तर्फबाट निर्वाचिन सांसदहरूलाई प्रमाणपत्र दिँदैछ । प्रत्यक्षतर्फबाट निर्वाचिन सांसदहरूले प्रमाणपत्र पाइसके । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । दलले पाएको मतका आधारमा निर्वाचित ११० जनाले बिहीबार विजयी भएको प्रमाणपत्र पाउन लागेका हुन् ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । योसँगै निर्वाचन आयोगले यसको जानकारी संघीय संसद् सचिवालयलाई पनि दिनेछ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिएको छ ।

‘१२ गते शपथ गराउने तयारी छ । यो विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल हुन्छ’ गिरीले अनलाइनखबरसँग भने ।

नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् ।

निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका भए ।

संविधानको धारा ८८ मा ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा ५ मा ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने’ प्रावधान छ ।

यी संवैधानिक व्यवस्थाअनुसार सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले नै प्रतिनिधिसभाको अध्यक्षता समेत गर्नेछन् । जसअनुसार आगामी प्रतिनिधिसभाको सुरुवातको अध्यक्षता नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद अर्जुन नरसिंह केसीले गर्ने भएका हुन् ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ । सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ ।

पहिलो बैठक कसरी चल्छ ? के कस्ता एजेन्डा हुन्छन् ?

संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सदस्य सहभागी भएको सर्वदलीय बैठक बसेर पहिलो दिनको एजेण्डा तय गरिन्छ ।

तथापि, सामान्यतया पहिलो बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र परढेर सुनाइन्छ ।

‘सरकारबाट प्राप्त हुने महत्वपूर्ण पत्रहरू पढेर सुनाउने अभ्यास पनि छ’ गिरीले भने ।

२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि तत्कालीन प्रतिनिधिसभाबाट अर्को सरकार बन्न सकेन ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा २७ भदौमा प्रतिनिधिसभा विघटन भयो र गत २१ फागुनमा नयाँ निर्वाचन भयो ।

नयाँ निर्वाचनपछि प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । यसकारण यसबीचमा सरबार बनेको र मन्त्रिपरिषद्मा को–को रहेको भन्ने जानकारी प्रतिनिधिसभालाई सरकारले गराउनेछ ।

यसबाहेक प्रतिनिधिसभाको पहिलो बैठकमा सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि निर्णयार्थ प्रस्तुत गर्ने वा प्रतिनिधिसभा निवयमावलीलाई नै मानेर जाने भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यसपछि सभामुख चयनको कार्यतालिका प्रस्तुत हुनेछ ।

पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने अभ्यास छ । संसद सचिवालयका सहसचिव गिरी भन्छन्, ‘दलीय प्रतिनिधित्वको आधारमा शुभकामना मन्तव्य राख्न चाहे समय उपलब्ध गराउने अभ्यास छ ।’

यसबाहेक कुनै शोक प्रस्ताव प्राप्त भए प्रतिनिधिसभाले त्यसलाई पारित गर्नेछ र पहिलो बैठक समापन हुनेछ ।

दोस्रो बैठक सिधै सभामुख चयनका लागि वा अन्य कार्यसूचीमा समेत बस्न सकेछ । सभाको बैठकअगाडि बढेसँगै संसदीय विषयगत समिति गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् । दुई वटा संसदीय समिति संयुक्त समिति समेत रहेका छन् । १२ वटा समितिमा कुन दलका को–को सांसद रहने भनेर तय भएपछि संसदीय समितिको बैठक बस्न सुरु हुनेछ ।

संसदीय समितिको गठन र संसदीय समितिको सभापतिको निर्वाचन सभाबाटै तालिका तोकेर गर्ने अभ्यास छ ।

प्रतिनिधिसभाले कार्यसञ्चालन नियमावली नयाँ बनाउन चाहेको खण्डमा नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि मात्रै संसदीय समिति गठन लगायतका कार्य अगाडि बढ्नेछन् । पुरानै नियमावली अनुसार जाँदा छिटो संसदीय समिति गठन हुन सक्नेछन् ।

संसदीय सुनुवाइ समिति तत्काल बनाउनुपर्ने दबाब नयाँ प्रतिनिधिसभालाई छ । किनभने प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको छ । न्याय परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको नाम संवैधानिक परिषद्मा पुगेको छ ।

संवैधानिक परिषद्ले एक जनाको नाम सिफारिस गरेपछि त्यसउपर संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सक्नेछन् ।

यी लगायतका कार्यबोझलाई समेत ख्याल गरेर प्रतिनिधिसभाको पहिलो बैठक र त्यसपछिका बैठकको कार्यसूची तय गरिने संसद् सचिवालयले जनाएको छ ।

यसका लागि संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय बैठक राखेर अगाडि बढ्ने बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?