
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आँउदो शनिबार चुनाव हुँदैछ । तपाईंले नेतृत्व गरेको समूहका अजेन्डा के-के छन् ?
मुलुकको संवैधानिक व्यवस्थाको सुधारका लागि अग्रसरता लिने, स्वतन्त्र न्यायपालिकाको शुद्धीकरण, न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउन अग्रसर बनाउने विषय प्राथमिकतामा छन् । ट्रेड युनियनको रुपमा नेपाल बार एसोसिएसनलाई सशक्त भूमिका दिने, कानुन व्यवसायीहरुको हकहित प्रवर्द्धन गर्ने, लयर्स एकेडेमीमार्फत तालिम र क्षमता विकास गर्ने काम हाम्रा अजेन्डा हुन् ।
नबोदित कानुन व्यवसायीको हकहित प्रवर्द्धन गर्ने, नेपाल बार एसोसिएसनको गरिमा बढाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा बारलाई सशक्त ढंगले प्रस्तुत गर्ने, बारको कार्यशैली परिवर्तन गर्ने हाम्रो योजना छ । अग्रजहरुले राखेको जगमा केही न केही राम्रा इँटा थप्ने हाम्रो रहर छ ।
अर्को समूहको अजेन्डा पनि उस्तैउस्तै छन् । उहाँहरुको तुलनामा तपाईंहरुको समूहले अब्बल बनेर प्रभावकारी रुपमा काम गर्छ भन्ने आधार के छन् ?
हाम्रो टिममा कि जगैदेखि बारका इकाइहरु वा अरु जिम्मेवारीमा काम गरेका साथीहरु छौं । कतिपय नयाँ साथीहरु युवा सोच र जाँगरका साथ आउनुभएको छ । हामीले न कुनै राज्यको संवैधानिक भूमिका लिएका छौं, न लिने आकांक्षा छ । हाम्रो व्यावसायिक अभ्यास र निष्ठामा अहिलेसम्म कसैले प्रश्न उठाउन सकेको छैन ।
हामीले न्यायाधीशको नाम बेचेर सेवाग्राहीसँग रकम उठाउने काम गरेका छैनौं र आगामी दिनमा पनि त्यस्ता क्रियाकलाप गर्ने छैनौं । न्यायाधीशको नाम बेच्दैनौं र उनीहरुलाई भ्रष्टाचारमा प्रेरित पनि गर्दैनौं । हामी इमान्दार भई जनताको पक्षमा काम गर्छौं । पेशामा रहेका विसंगति र विकृति बढारिनुपर्छ भन्ने मान्यता राख्छौं । निष्ठावान र नैतिक मानिसहरु न्यायाधीशमा नियुक्त हुनुपर्छ भन्ने मान्यता राख्छौं । हामीले यो सवाल जुनसुकै निकाय र तहमा शसक्त रुपमा राख्छौं ।
तपाईंहरुको अजेन्डा कानुन व्यवसायीको पेशागत सवाल र हकहितसँग मात्रै सम्बन्धित भएको देखियो । सेवाग्राहीको छिटो, छरितो र गुणस्तरीय न्यायको विषयमा कत्तिको हेक्का राख्नुभएको छ ?
स्वच्छ, छिटो-छरितो र निष्पक्ष न्याय हुनुपर्छ भन्ने हाम्रो सदाबहार अजेन्डा हो । यो विषय हाम्रो घोषणापत्रमा महत्वका साथ समावेश भएको छ । आर्थिक लेनदेनमा नियन्त्रण हुनुपर्छ । बारका पदाधिकारीहरु र न्यायपालिकामा कार्यरत सबै व्यक्तिले हामी जनसेवाका लागि कार्यरत हौं भन्ने कुरा आत्मसात गर्नुपर्छ ।
कानुन व्यवसायीले यिनीहरु बाध्यता परेर मेरोमा आएका हुन्, म नै शासक हुँ भन्ने मानसिकता त्याग्नुपर्छ । सबैभन्दा पहिले शासकीय मनस्थिति र अहंकार त्याग्नु आवश्यक छ । हामी सेवाग्राहीको सेवकको रुपमा प्रस्तुत हुनुपर्छ ।
कानुन व्यवसायी राजनीतिक दलहरुको प्रभाव र छायामा परे भन्ने आरोप छ । नेतृत्व चयनका लागि निर्वाचनका लागि किन सत्ता वा प्रतिपक्षी अनुसारको समूह बनाउनुभएको ?
सत्ताको छाया वा सत्तारुढ दलसँग जोडिन नपाएका कानुन व्यवसायीको आक्रोशको रुपमा यो आक्षेप आएको हो । यो ‘अंगुर अमिलो छ’ भन्ने उखानकै भाव आउने अभिव्यक्ति हो । नेपाल बारको परम्परामा ठूला शक्तिहरु सदैव मिलिआएका छन् ।
सर्वसम्मत रुपमा ठूला शक्तिहरुलाई पद बाँडफाँट गर्ने चलन पहिलेदेखि नै थियो । त्यसो नभए निर्वाचनमै पनि मतदाताले सबै पक्षलाई समेटेर कार्यसमिति गठन गरेका थिए भन्ने कुरा यसअघिको निर्वाचनबाट गठित कार्यसमितिबाट पुष्टि हुन्छ ।
लक्ष्मण अर्याल र सुवास नेम्वाङ, हरिहर दाहाल र अग्नि खरेल, शम्भु थापा र माधव बास्कोटा लगायत टिमको उदाहरणबाट मतदाताले उपयुक्त र योग्य व्यक्ति चयन गर्छन् भन्ने पुष्टि हुन्छ ।
हामीले सत्ताबाट केही फाइदा लिएका छैनौं, आगामी दिनमा पनि लिँदैनौं । बार एसोसिएसनमा जति धेरै वर्ग, समुदाय समावेश हुन्छ, यो निकाय त्यति नै सशक्त हुन्छ । हामी सत्तासँग नजिक रहेको समूह होइनौं । सत्ताको विकृति, विसंगति वा न्यायपालिकाको विसंगति र समस्या निर्विवाद रुपमा केलाउन सामर्थ्यवान छौं ।
मुलुकमा अहिले देखिएको राजनीतिक समस्या शासकीय त्रुटि र विकृति सतहमा आइपुगेका छन् । यसरी राजनीतिक दलको छायामा हिँडेपछि राज्यसंयन्त्रमा रहनेहरुले लिएका गलत कदममाथि खबरदारी गर्ने क्षमता बाँकी रहन्छ ?
हामी राजनीतिक दल नभएकाले उनीहरुले अघि सार्ने अजेन्डा र हामीले उठाउने विषयमा केही तात्विक फरक हुन्छ । हाम्रो विशिष्ट क्षेत्र भनेको न्यायपालिका र कानुन हो । कानुन र न्यायपालिका गाँसिने विषयमा हामी स्वतन्त्रतापूर्वक विवेक प्रयोग गरेर आफ्नो धारणा सार्वजनिक गर्छौं । मुलुकको समग्र समस्याका बारेमा बोल्ने राजनीतिक दलहरु छन् ।
तपाईंहरु निर्वाचित हुनुभयो भने सुधारका लागि के-कस्ता काम गर्नुहुन्छ ? बुँदागत रुपमा बताइदिनुहोला ।
हामीले निर्वाचित भएमा संविधान संशोधनको विषयलाई अजेन्डाको रुपमा अघि लानेछौं । छिटोछरितो न्यायसम्पादन हाम्रो अर्को अजेन्डा हो । कानुन व्यवसायको शुद्धीकरण ण अभियान पनि अघि बढाउनेछौं । कानुन व्यवसायको दक्षता, क्षमता बढाउने क्रियाकलाप गर्नेछौं ।
जनताको न्याय छिटो-छरितो हुनुपर्छ भन्नुका साथै अदालतमा प्रवेश भएको विवाद निदान हुनुपर्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ । अन्त्यमा, अहिले जे जति समस्या देखिएका छन् । तिनको समाधानको लागि खबरदारी गर्न र मार्गप्रशस्त गर्न आवश्यक पर्ने नैतिक पूँजी हामीसँग छ ।
प्रतिक्रिया 4