
कहिलेकाहीँ प्रकृतिले बोलाउँछ । त्यो बोलावट न सुन्न सकिन्छ न देख्न, केवल महसुस गर्न सकिन्छ । तिलिचो तालको यही मौन बोलावटले मलाई खिच्यो, पहिलो पटक ।
मलाई तिलिचो तालको यात्राले धेरै कुरा सिकायो । सायद मौसमले, यात्रुका अनुहारले वा मेरै आफ्नै अन्तर्मनको परिवर्तनले यस यात्रालाई अरूभन्दा फरक बनायो । यस यात्रामा मैले केवल दृश्यहरू देखिनँ, मैले अन्तर्मनलाई पुनः छोएँ ।
यात्राको सुरुवात
काठमाडौँबाट बेलुका ८ बजे पोखराको नाइट बस चढेका हामी करिब राति १ बजे डुम्रे ओर्लियौं । बेसीशहरबाट हामीलाई लिन आएको बोलेरो जीप तयारी अवस्थामा थियो र युवा चालक पनि ।
यात्रामा हामी ४ जना थियौं- शुभराज पोखरेल, ध्रुव आचार्य र उहाँका काका सुरेश आचार्य ।
बिहानीपख डुम्रे हल्का चिसो थियो । हामी हिँड्यौं । आजको गन्तव्य मनाङको खाङसार गाउँ ।
जीपको झ्यालबाट हेर्दा सडक सुनसान देखिन्थ्यो, तर मनभित्र केही नयाँ सञ्चार भइरहेको थियो । एक किसिमको कृतज्ञता, जसले शरीरभन्दा मनलाई तानिरहेको थियो ।
जीपमा हामी ४ सहित अरु ४ जना आन्तरिक पर्यटक थिए, जो डुम्रेबाट जोडिएका थिए । जीवनमा पहिलोचोटी हिमाल हेर्न निस्केका, उनीहरूका आँखामा चमक थियो । मैले हरेक अनुहारमा आफू देखिरहेको थिएँ, उत्साह, कौतुहल र थोरै डर ।
खाङसारसम्मको यात्रा रमाइलो थियो, सम्झनाले भरिएको । हरेक घुम्तीमा कुनै न कुनै याद बसेको थियो । जीपका स्टेयरिङमा समातिएका हातहरू प्रायः जवान हुन्छन्– उमेरले जोशिला, तर अनुभवले अझै बालक नै लाग्ने । ती तन्नेरीहरू, जसलाई लाग्छ– बाटो जित्नु मात्र यात्रा हो ।
तर, जीपको पछाडि बसेका हामी यात्रुहरूका लागि, त्यो यात्रा केवल बाटो पार गर्नु मात्र होइन, जीवनका केही पलहरू सुरक्षित पार गर्नु पनि हो । भिरको छेउछाउ हल्लिँदा गाडीको प्रत्येक झस्कामा यात्रुहरूको मन शंकाले भरिन्छ, अनि त्यो शंका प्रेममा बदलिन्छ ।
त्यसैले त कहिलेकाहीँ ध्रुव दाइ फुस्फुसाउँछन्, ‘भाइ, अलिक विस्तारै हिँड न है ।’
सायद त्यो आग्रह केवल ज्यानको सुरक्षाको लागि होइन, त्यो अनुरोध हो– जीवनसँगको प्रेमको, बाटोसँगको श्रद्धाको र ती चालकहरूप्रति अनकही आभारको ।
कतै झरनाको छिर्को, कतै साँघुरो सडक पार गर्ने डर । मनाङतिर जाने उकालोहरू, भीरहरू र त्यो डरलाग्दो पहाडी ट्र्याक, सडकभन्दा बढी साहसको परीक्षा थियो ।
यात्रा केवल गन्तव्य पुग्ने नाम मात्र होइन, आत्मा पगाल्ने प्रक्रिया पनि हो । बेसीशहरदेखि चामे पुग्ने क्रममा देखिएका विशाल झरनाहरू, मस्र्याङ्दीको गहिरो आवाज र चिसो हावाले बगाएको हिमाली गन्धले मन रोमाञ्चित भयो ।
मनाङतिरको जीप यात्रा भन्नासाथ आँखा अगाडि आउँछ, सडकभन्दा धेरै नदी पछ्याउँदै बनाइएका ती घुम्तीहरू र ती गाडी चालकहरूको अनुहारमा लुकेको आदर्श ‘हामी पहाड हौं, हाम्रा बाटाहरू साहसी हुन् ।’
हुम्देमा क्षणभर थामिएर जब हामीले चारैतिरको सेतो हिमशृंखला नियाल्यौं, लाग्यो हाम्रो आँखाले हेर्नसक्ने दायराभन्दा बाहिर केही असीम सुन्दरता पनि हुन्छ ।
खाङसारमा हामीले पहिलो रात बितायौं ।
दोस्रो दिन ३,७०० मिटर उचाइमा रहेको खाङसारबाट हिँड्दै बेसक्याम्पतिर लाग्यौँ । बाटोमा चौंरी कराएको आवाज, गुम्बाको शान्तपन नियाल्दै अनि हिउँ जमेको पहाड हाम्रो आँखा अगाडि थिए, यात्राको एक अर्को सुन्दर पाना ।
पहिरोको खतरनाक बाटो । झरेका ढुङ्गा, माथिबाट खस्न सक्ने ढुङ्गाका टुक्राहरूले चेतावनी दिइरहन्थे । हामी छिटोछिटो उक्लिरह्यौं । त्यो शब्दले भन्दा अनुभवले बुझिने डर थियोे । आठ घण्टाको कठिन पदयात्रापछि हामी बेसक्याम्प पुग्यौँ । यो यात्रा केवल शारीरिक होइन, मानसिक परीक्षा पनि थियो । जब हिमालको गोदमा एकान्तले मलाई छोयो, मैले आफ्नो आत्मा भित्रको मौनतालाई भेटेँ ।
त्यो रात, तातो रारा चाउचाउको झोल र चिसो हावाबीच निदाएको थिएँ । सायद त्यो निद्रा सपनासँग गहिरो थियो, जहाँ बिहान हुनेबित्तिकै म ‘तिलिचो ताल’ देख्ने थिएँ ।
बिहानको ४ बजे, टाउकामा टर्च बालेर हामी उकालो लाग्यौं । प्रारम्भिक उकालो साह्रै गाह्रो थियो । सिरेटोको हावाले शरीरलाई चुनौती दिइरहेको थियो तर एक्कासि, जब २२औँ घुम्ती पार गरेपछि अगाडि देखियो सेतो स्वर्ग ।
अन्ततः जब हामी ताल पुग्यौं, त्यतिबेला तिलिचो सेतो हिउँको पछ्यौराले ढपक्क ढाकिएको थियो । पानी त देखिँदैनथ्यो तर तालको उपस्थितिले वातावरणलाई यस्तो शक्ति दिएको थियो, एक किसिमको शान्त तर गहिरो कम्पन ।
हामी सबैका आँखा एउटै दिशातर्फ टक्क अडिएका थिए । तिलिचो ताल देख्दा जिउको सबै थकाइ, सम्पूर्ण पीडा एकैछिनमा हरायो । तिलिचो ताल वरिपरि बसेर केहीबेर आँखा बन्द गर्दा एक किसिमको मौनता मनभित्र पस्छ, न कोलाहल छ, न त तीव्र गतिका कुरा ।
यस तालको गहिराइ केवल २ सय मिटर मात्र होइन, यसको मौनता, सेतो दृष्टि र चिसो स्पर्शले आत्माको गहिराइ छुन्छ । तालको चारैतिर सेता हिमालहरू बीचमा सेतो दर्पणझैँ ताल । यदि स्वर्ग भौतिक रूपमा कतै अवतरित हुन्छ भने त्यो यही हो ।
तिलिचोलाई पृष्ठभूमिमा राखेर हामीले तस्वीर खिच्यौँ । तर यो तस्वीर होइन, मनभित्र छापिएको एक अमिट अनुभव हो ।
फर्किंदा बाटो उकालो थिएन तर मन भारी थियो । किनकि, अब त्यो क्षण केवल सम्झनामा मात्र बाँकी रहने थियो । तर फर्किंदै गर्दा थाहा भयो, तिलिचो ताल एउटा ताल मात्र होइन, त्यो हाम्रो जीवनको एउटा मोड थियो, जहाँ हामीले प्रकृतिको गहिरो माया महसुस गरेका थियौँ ।
तिलिचो पुगेर फर्किएपछि महसुस भयो– हिमालसँगको भेट केवल क्यामेरा भर्न होइन, हृदय खाली गर्न हो । जुन क्षणमा तपाईं तिलिचो किनारमा उभिनुहुन्छ, आफैंसँग भेट गर्नुहुनेछ ।
प्रतिक्रिया 4