अलपत्र परदेशीका उद्धारक
परदेशमा हराएका बुवा खोज्न हिंडेका एक किशोर, जसले आफ्नो बुवालाई मात्र घर फर्काएनन्, उस्तै विवशता र परिबन्दले हराएका थुप्रै बुवा र युवालाई खोज्ने अभियान नै शुरु गरे । विदेशको एकलासे गोठमा गुमनाम बसिरहेका, बेखर्ची भई विदेशमै हराइरहेकालाई सोधीखोजी गर्दै घरसम्म फिर्ता ल्याउने काममा लागे ।
यस क्रममा उनले वैदेशिक रोजगारीको अर्को कठोर सत्य सामुन्ने देखे । त्यो के भने, कति मान्छे मात्र होइन लास पनि उतै हराइरहेका रहेछन् । यसरी अलपत्र छाडिएका लासलाई नेपालसम्म ल्याउने र परिवारलाई जिम्मा लगाउने कर्ममा आफूलाई जोडे । यो कथा हो– महेन्द्रराज पाण्डेको । यो उनको कर्म र धर्मको कथा हो । कथा यसरी शुरु हुन्छ ।
उनी सानै हुँदा बुवा हराए । कहाँ गए होलान् ? थाहा–पत्तो थिएन । त्यति धेरै थाहा–पत्तो हुने उमेर पनि थिएन । न मनग्य खेतबारी थियो, न पुग्दो आयआर्जन । त्यसो त, बुवाको घरमा कुनै इलम थिएन । त्यसैले रोजीरोटीको खोजीमा बुवाले बेलाबखत घर छाडिरहन्थे । निकै समय बित्यो तर, सधैं घर फर्कने बुवा फर्केनन् ।
महिनौंपछि बुबा होइन, हुलाकबाट चिठी आइपुग्यो । आमालाई चिठी पढ्न आउँदैनथ्यो । महेन्द्रले हतार–हतार चिठी खोलेर पढे । चिठीको व्यहोरा यस्तो थियो, ‘म धेरै टाढा परदेशमा छु । पैसा कमाउन आएको हुँ । आराम कुशल छु । तिमीहरू सञ्चै सुविस्तै हौला भनी भगवानसँग प्रार्थना गरेको छु ।’

बुवा घरभन्दा कता हो कता टाढा छन् भन्ने कुराको त भेउ पाए तर कति टाढा ? कहाँ ? थाहा भएन । पछि बाग्लुङबाट एक जना वकिल दाइ आइपुगे । उनैले खाममा लेखिएको अंग्रेजी अक्षर हेरेर भने, ‘केएसए लेखिएको छ । यो भनेको किङडम अफ साउदी अरेबिया हो ।’
परिवारमा उमङ्ग छाउनका लागि यही एउटा वाक्य काफी थियो, ‘बुवा साउदी अरेबियामा छन् ।’ घरमा लालाबालाहरू खुशीले फुरुङ्ग भए । उनीहरूलाई लागेथ्यो, ‘अब हाम्रो घरमा भरपेट भात पाक्नेछ, नयाँ लुगा लगाउन पाइनेछ ।’
किनभने पाल्पास्थित त्यो घरमा सधैं दुःख थियो । दशैंमा खाने चामल हुँदैनथ्यो, एकसरो लगाउने लुगा हुँदैनथ्यो । त्यसमाथि ऋणले बेस्सरी थिचेकै थियो ।
बुवाले शुरु–शुरुमा पठाएको रकम ऋणपान तिर्दैमा ठिक्क भयो । त्यसबीचमा बुवा घर आए । परदेशमा दुःखजिलो गरेर, खाई–नखाई पठाएको पैसाले परिवारको दुःख फेरिएको थिएन । उनी विरक्तिए र फेरि विदेशकै बाटो समाए ।
त्यसपछि चिठी लेख्ने, पैसा पठाउने त कता हो कता, उनी कहिल्यै घर फर्किएनन् ।
यसरी बाल्यकालमै हराएका बुवालाई खोज्दै साउदी अरब पुगेका थिए, महेन्द्र । यतिबेला उनी मस्त किशोर भइसकेका थिए । पढाइमा तेज, काममा तगडा । सदारमुकाम बसेर कक्षा १२ मा पढ्दै गर्दा उनले वैदेशिक रोजगारीको बाटो समाए ।
बुवा खोज्दै बालुवाको साम्राज्यमा
सन् २००६ । साउदी अरब । साउदी एयरलाइन्स अवतरण गरिरहँदा उनले देखे, बालुवाको विशाल साम्राज्य । यता हेर्यो, बालुवा । उता हेर्यो, बालुवा । ‘त्यो बालुवाको उकुसमुकुस धरातलमा कहाँ होलान् मेरो बुवा’ सम्झेर उनलाई औडाह भयो ।
उनको भित्री ध्येय थियो, बुबाको खोजी । बाहिरी निहुँ थियो, वैदेशिक रोजगारी ।
विमानस्थलबाट ओर्लनासाथ त्यहाँको कम्पनीले उनको पासपोर्ट कब्जा गर्यो । यो त्यहाँको नियम नै हो, ताकि श्रम बेच्न आएको कामदार लाखापाखा नलागोस् । यसरी साउदी अरबको माटो टेक्नासाथ उनी बन्धकमा परे ।
अब काम र कम्पनीबाट उम्किएर त्यो एकलासे मरुभूमिमा बुवालाई कसरी खोज्ने ? न फोन नम्बर छ, न ठेगाना ।
महेन्द्रलाई ट्रकमा हालेर अल हफुफ भन्ने ठाउँमा पुर्याएको र त्यहींको एउटा स्टोरमा कामको जिम्मा लगाएको थियो । बिहान ७ बजेदेखि ड्युटी शुरु हुन्थ्यो । त्यहाँ यन्त्रवत् काम गर्नुपर्ने । दिसा–पिसाब गर्न पनि सुपरभाइजरलाई सोधेर जानुपर्थ्यो । सुबिस्ताले खान नपाइने । त्यही कारण उनलाई पिसाब सम्बन्धी समस्या भयो । ग्यास्ट्रिकले दुःख दिने त छँदैछ ।
जस्तोसुकै कष्ट खेप्नुको विकल्प थिएन । किनभने घरमा लागेको ८ लाख रुपैयाँ ऋण तिर्नु र बुवालाई खोज्नु जो थियो । तीन महिनासम्म उनले दायाँ–बायाँ गर्नै पाएनन् ।
एकदिन बल्लतल्ल छुट्टी मिलाएर नेपाली बसोबास गर्ने ठाउँसम्म पुगे । उनलाई के लागेको थियो भने, ‘कतै मेरो बुवा यताकतै, यस्तै ठाउँमा भेटिन्छन् कि ?’ तर, त्यहाँ बुवा भेटिएनन् । उनी आफ्नो बुवा खोज्न आएको भनी भन्दैनथे । पाल्पातिरको कोही छन् ? भनी सोधीखोजी गर्थे ।
सोही क्रममा एक जना भूपाल भन्ने दाइसँग चिनजान भयो, जो मरुभूमिमा ऊँट र भेडा गोठाला गर्थे । उनलै सुनाए, ‘ठ्याक्कै नाम त थाहा छैन । तर, पाण्डे दाइ भनेर चिनिने मानिस जेद्दा भन्ने ठाउँतिर गए जस्तो लाग्छ ।’
भुसको थुप्रोमा हराएको सियो खोज्न जस्तै जटिल थियो स्थिति । यद्यपि बुवा खोज्नु नै थियो । उनी खुलस्त भन्न सक्दैनथे, ‘मेरो बुवा यतै हराएका छन्, जसलाई खोज्न म आएको हुँ ।’

दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो । ६ महिनापछि उनको सरुवा भयो अल खबर भन्ने ठाउँमा । त्यहाँ पुगेपछि उनले कामको चाप घटाए र बुवा खोज्ने क्रमलाई तीव्र बनाए । नेपालीहरू जहाँ–जहाँ छन्, चियोचासो गर्न थाले । एक जना भरत दाइ थिए, जेद्दामा । उनले भने, ‘पाल्पातिरका पाण्डे दाइ यतै हुनुहुन्छ, म भेट गराइदिन्छु ।’
इदको चारदिने छुट्टी थियो । त्यही मौकामा उनी भरत दाइकहाँ पुगे, जो साँघुरो कोठामा तीन–चार जनाको दरले बसिरहेका थिए । भरत दाइले कतैबाट बुबालाई त्यहीं ल्याइदिए । यतिबेला बुवाको हुलिया बेग्लै भइसकेको थियो ।
महेन्द्रले देखेका मसिनो जुँगा भएको बुबा थिएनन् ती । उनको त दाह्री–जुँगा बाक्लो भइसकेको थियो । अनुहारमा उमेर र दुःखका धर्साहरू फैलिसकेका थिए । आँखामा तेज थिएन, शरीरमा ऊर्जा । कस्तो शिथिल, कस्तो टिठलाग्दो ।
बुवालाई देख्नासाथ उनको आँखामा टम्म आँशु भरियो । बुवाको पनि । बुवाले यति मात्र बोले, ‘किन आइस् तँ ?’
रोगले थलिएपछि मात्र कम्पनीमा बिदा
बुवाको हालत देख्दा उनलाई लागेको थियो, तुरुन्त घर फर्काउन पाए हुन्थ्यो । तर, विदेशी श्रमिकलाई त्यस्तो छुट थिएन । किनभने उनीहरूको त जीवन नै बन्धक हुन्थ्यो ।
महेन्द्र स्वयम् त्यसका भुक्तभोगी भइसकेका थिए । आरामले पिसाब फेर्न र स्वादले खान त नपाइने ठाउँ । त्यसमाथि ज्यानलाई दाउमा राखेर गर्नुपर्ने काम । उनी जुन स्टोरमा काम गर्थे, त्यहाँ लिफ्टमा भारी तल–माथि गराउनुपर्ने । लिफ्ट पनि कस्तो भने, खुल्लमखुला । त्यहाँबाट थोरै सन्तुलन गुमाउनासाथ शरीर सोझै तल उछिट्टिएर भुइँमा बजारिन सक्थ्यो ।
विदेशी श्रमिकको जीवन वास्तवमा मृत्यु जस्तै भयावह छ । उनले यस्तै देखे, यस्तै भोगे । बुवा किन यत्तिका वर्षसम्म विदेशमै गुमनाम भए ? किन परिवारलाई खबर गरेनन् ? किन पैसा पठाएनन् ? बल्ल थाहा पाए । हाडछाला घोटेर काम गर्दा पनि पैसा बचाउन कठिन भएपछि बुवा परिवारबाट जानीजानी विच्छेद भएका रहेछन् ।
यस्तो विवशता बुझेपछि जतिसक्दो चाँडो बुवालाई घर फर्काउन चाहन्थे । तर, कम्पनीको नियम अनुसार त्यो सम्भव थिएन । जब बुवा बिरामी परे, तब मात्र कम्पनीमा ‘एक्जिट एप्लाई’ गर्न पाए । दशैंको छेको पारेर बुवा घर फर्कने र मंसीरमा छोरो फर्कने योजना बन्यो । महेन्द्र मंसीरमै फर्किए तर बुवालाई कम्पनीले रोक्यो ।
अनेक अनुनयविनय गरेपछि बल्लतल्ल बुवालाई कम्पनीले छुट्टी दियो, चार–पाँच महिनापछि । बुवालाई घर फर्काएपछि महेन्द्रको मनमा एउटा कुराले बेचैन बनाइरह्यो, ‘मेरो बुबा जसरी पराया भूमिमा बन्धक बनेका कति अरू बुवाहरू होलान् ? कति अरू युवाहरू होलान् ?’
विदेशमा अलपत्र हजारौं शव
बुवाको सेतो दाह्री र मरुभूमिमा ऊँट चराइरहेका भूपाल दाइको विरक्तलाग्दो दृश्य उनको मानसपटलमा खेलिरह्यो ।
त्यही बेचैनी बोकेर उनी पाल्पाबाट काठमाडौं आए । अनामनगरमा डेरा लिए । आरआर कलेज भर्ना भए । अनि शुरु गरे वैदेशिक रोजगारीमा गाह्रो–साह्रो झेलिरहेकाहरूलाई घर फर्काउने अभियान । यसका लागि उनले गैर नाफामूलक संस्था खोले, वैदेशिक रोजगार समन्वय संस्था ।
आफ्नो डेरालाई दुई भागमा बाँडेर एकातिर आफू बस्ने, अर्कोतिर अफिस चलाउने गरे । अफिस शुरु गरेपछि उनको दिनचर्या नै वैदेशिक रोजगार विभाग, विमानस्थल, दूतावास धाउने भइदियो । त्यस क्रममा धेरै यस्ता परिवार हारगुहार गर्दै आइपुग्थे– जसको आफन्तको शव विदेशमा छन्; अलपत्र अवस्थामा, महिनौं महिनादेखि । यसरी उनको कर्म बदलियो, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका र उतै अलपत्र परेको लास फर्काउने गरी ।
उनी दिनदिनै विमानस्थल पुग्थे, शव बुझ्थे र आफन्तको जिम्मा लगाइदिन्थे । शव लिन आएका कति आफन्त त्यहीं मूर्च्छा पर्थे । यस्तो अवस्थामा शवको बन्दोबस्ती गर्नु र आफन्तलाई सम्हाल्नुपर्ने हुन्थ्यो । यसरी थुप्रै पटक उनी शव लिएर मान्छेको घर–घरसम्म पुगे ।

यसरी हजारौंको संख्यामा उनले अलपत्र शव ल्याउने काम गरे । त्यसबेला सरकारले शव ल्याउनका लागि आवश्यक पहल गर्ने, गाडी सुविधा वा क्षतिपूर्ति दिने व्यवस्था थिएन ।
एकातिर उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूलाई नेपालसम्म ल्याउने बन्दोबस्ती गर्दै थिए भने अर्कोतिर जिल्ला–जिल्लामा पुगेर वैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्दै थिए । खासगरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर त्यसैको आडमा वैदेशिक रोजगार सम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको थियो ।
पासपोर्ट बनाउन प्रशासन कार्यलय पुग्नेहरूलाई कुन देश जान लागेका हुन् ? त्यही अनुसार परामर्श उपलब्ध गराउन थाले । त्यस देशमा पाइने कामको अवसर, कामको प्रकृति, पारिश्रमिकको सुविधादेखि त्यहाँ बस्दा अपनाउनुपर्ने सचेतनासम्मको कुरामा उनीहरू परामर्श दिन्थे ।
साउदी अरबमा श्रम भिसा बोकेर जानेहरूका लागि उनले एउटा छुट्टै गाइड बुक नै तयार गरे, जसले त्यहाँको वस्तुस्थितिदेखि रोजगारका विविधताबारे छर्लङ्ग पार्थ्यो ।
यसरी वैदेशिक रोजगारीसँग जोडिएर साथ–सहयोग गरिरहँदा उनले पढाइलाई पनि अगाडि बढाए । पढाइकै सिलसिलामा पोल्यान्ड पुगे, त्यसपछि अमेरिका । अहिले उनी अमेरिकामा पारिवारिक जीवन बिताइरहेका छन् ।
तर, उनको जीवन पारिवारिक मात्र छैन, सामाजिक पनि छ । त्यहाँ ह्युमानिटी युनाइटेडको फोर्स्ड लेबर एन्ड ह्युमन ट्राफिकिङ निर्देशकको रूपमा उनी विश्वभरका आप्रवासीहरूको मुद्दा हेरिरहेका छन् । तिनीहरूको दुःख–सुखका साथी बनिरहेका छन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी