
२ भदौ, काठमाडौं। सर्वोच्च अदालतले १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन परमादेश जारी गरेको विरोधमा जसपा नेपालले तराई मधेशका विभिन्न जिल्लामा प्रदर्शन थालेको छ । उपेन्द्र यादव नेतृत्वको यो दलका कार्यकर्ताले मधेश प्रदेश र कोशीका विभिन्न ठाउँमा विरोध थालेका हुन् ।
विराटनगरमा सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको रोडशेष चोकमा जसपा नेपाल मोरङले प्रदर्शन गरेको छ ।
अध्यक्ष राजकुमार यादवले सरकारले पटक–पटक दमन गरेको दाबी गरे । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले दमन गरेर शासन गर्ने प्रयास भएको बताए ।
दुई पार्टी मिलेर एकात्मक शासन सञ्चालनका लागि षडयन्त्र भएको बताउँदै उनले भने,‘ उपेन्द्र यादव त्यसै नेता भएको होइन, जनताले आन्दोलन गरेर जनताले जिताएर स्थापित भएको नेता हो ।’
यस्तै जसपा नेपालका कार्यकर्ताहरूले मधेश प्रदेशको सप्तरी, जनकपुर, सर्लाही र रौतहटका ठाउँ-ठाउँमा प्रदर्शन गरेका छन् । उनीहरूले साँझ सर्वोच्चको आदेशविरूद्ध जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ। मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरे ।
सर्वोच्च अदालतले मधेश आन्दोलनका उपलब्धिहरुलाई तेजोबोध गर्ने उद्देश्यले यस प्रकारको परमादेश दिएकाले आफूहरुलाई आन्दोलित हुनु परेको जसपा नेपाल मधेशका अध्यक्ष बालकिशोर यादवले बताए । उनले नेपालको अदालत पक्षपाती भएको आरोप लगाए । यस प्रकारको परमादेशले मधेसमा फेरि आन्दोलन उठ्ने चेतावनी दिए।
सर्वोच्च अदालतले आजै १९ वर्ष अगाडि भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडि बढाउन परमादेश दिएको थियो । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो परमादेश गरेको हो।
सर्वोच्च अदालतले १९ वर्षअघि गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सरकारका नाममा सोमबार परमादेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त हत्याकाण्डको छानबिन गर्न सरकारसहित गौर प्रहरी र रौतहट जिल्ला वकिलको कार्यालयका नाममा परमादेश जारी गरेको छ।
गौर हत्याकाण्ड हुँदा हालका जसपा अध्यक्ष उपेन्द यादव मधेश आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरमको केन्द्रीय अध्यक्ष थिए ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4