+
+
Shares

खण्डहर बनेका सिंहदरबार, संसद् र सर्वोच्च (ड्रोन तस्वीरहरू)

मंगलबार प्रदर्शनकारीहरूले राज्यको तीन वटै अंग मानिने व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्य भवनहरू आफ्नो कब्जामा लिएर आगजनी गरे । जसका कारण यी मुख्य भवनहरू खण्डहरमा परिणत भएको छ । यी भवनहरूमा लागेका आगो अझै निभेको छैन ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ भदौ २५ गते २२:३८

२५ भदौ, काठमाडौं । मंगलबार प्रदर्शनकारीहरूले राज्यको तीन वटै अंग मानिने व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्य भवनहरूमा आगजनी गरे । ती भवनहरू कब्जामा लिएर उनीहरूले आगजनी गरेका थिए ।

आगजनीका कारण सिंहदरबारको भव्य संरचना खण्डहरमा परिणत भएको देखिन्छ । आगोमा जलेर अधिकांश संरचना ध्वस्त भएको छ । सवारी साधन, फर्निचर, कागजपत्र केही बाँकी रहेका छैनन् ।

आगजनी भएको सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । यो मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत छन् ।

नेपालको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।

प्रदर्शनकारीले नयाँबानेश्वरस्थित संसद् भवनमा पनि आगजनी गरे । आगजनीबाट संसद् भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् ।

प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । सर्वोच्च अदालतमा देशभरिका मुद्दाका साथै सर्वोच्च अदालतकै मुद्दाका महत्त्वपूर्ण कागजात र प्रमाणहरू छन् । आगलानीबाट तिनमा क्षति पुगेको छ । आगलागीबाट कहाँ कति नोक्सानी भयो भन्ने हेर्न नसकिने अवस्था रहेको कर्मचारीहरू बताउँछन् ।

प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको परिसरसँगै जोडिएको नेपाल बार एसोसिएसन अनि सर्वोच्च अदालत बार एसोसिएसनमाथि पनि आक्रमण गरेका थिए । सर्वोच्च अदालतको पल्लोपट्टि रहेको महान्यायाधीवक्ताको कार्यालयमा पनि आगजनी भएको छ ।

यसैगरी काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, सडक विभाग, नागरिक उड्डय प्राधिकरण, विशेष अदालत, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा समेत आगजनी भएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार भवनमा समेत आगजनी गरेका छन् ।

सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरू सोमबार सडकमा ओर्लिएर प्रदर्शन सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?