+
+
Shares
बत्तिमुनिको अँध्यारो :

साँझ परेपछि घरबाटै निस्कन डराउँछन् काठमाडौंकै जनता

साँझमा आपत पर्‍यो भने घना जंगल हुँदै सुन्दरीजल बजार आउनुपर्छ । तर बाटोमै वन्यजन्तुको सिकार हुनुपर्ने त्रासमा आवातजावत गर्नुपर्ने बाध्यता कुने गाउँवासीको छ ।

दिनेश गौतम पुष्पराज चौलागाईं दिनेश गौतम, पुष्पराज चौलागाईं
२०८२ फागुन ११ गते २१:३५

११ फागुन, काठमाडौं । घना जंगलको बीचमा छ, मानव बस्ती । कतिपय घरमा ताला लगेको छ । चार–पाँच घरमा मात्र मानिसको गाइँगुइँ सुनिने यो बस्तीमा जंगलबाट आउने चराचुरुङ्गीको चिरबिर आवाज भने जतिबेलै गुञ्जिरहन्छ ।

यो बस्ती हो, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित कुने गाउँ । काठमाडौं क्षेत्र नम्बर ३ को गाउँ गोकर्णेश्वर नगरपालिका-१ मा पर्छ ।

सुन्दरीजल बजारबाट सवारी साधनमा करिब डेढ घन्टामा कुने पुगिन्छ । ४ घण्टाको पैदल यात्रामा पुगिने यो गाउँ नुवाकोट र सिन्धुपाल्चोकको सिमाना नजिक पर्छ ।

कुनेको अन्तिम बस्तीको घर रहेछ मोतिराम तामाङ (७३) को । तर उनलाई न नगरवासी हुँ भन्न मन लाग्छ न काठमाडौंवासी । ‘यो त कुनामा परेकाले कुने नाम राखिएको हो । कहाँको काठमाडौं ? नागरिकतामा ठेगाना काठमाडौं भएर मात्र हुँदैन,’ उनी भन्छन् ।

ठूली तामाङ (६२) लाई काठमाडौं र नगरवासीसी भनिएकोमा गिज्याएझैँ लाग्छ । ‘हाम्रो अरू जमिन छैन । नाम मात्रै काठमाडौं हो, बसाइ जंगल भित्र छ,’ उनले भनिन् ।

नगरवासी भएको भए त आधारभूत आवश्यकता त हुन्थ्यो होला नि ! यतिसम्म कि, साँझ परेपछि यो बस्तीका मानिस घरबाट बाहिर निस्कनै डराउने रहेछन् ।

‘ओहो ! बेलुकातिर चितुवा घर–घर आइपुग्छ । घर बाहिर निस्कन पो डर लाग्छ,’ कान्छी तामाङ (६०) ले भनिन्, ‘राति पिसाब फेर्न जान पनि डर लाग्छ ।’

साँझ परेपछि आपत पर्‍यो भने घना जंगल हुँदै सुन्दरीजल बजार आउनुपर्छ । तर बाटोमै वन्यजन्तुको सिकार हुनुपर्ने त्रासमा आवातजावत गर्नुपर्ने बाध्यता उनीहरूको छ ।

काठमाडौं जिल्लाकै भए पनि अनकन्टारमा बस्नु परेको गुनासो उनीहरूको छ । ‘केही वर्षअघि मात्रै बत्ति आयो । तर अहिले पनि बत्तिमुनिको अँध्यारोमा छौँ,’ मोतिरामले गुनासो पोखे ।

फेरि चुनाव आएको खबर यो बस्तीमा पुगेको छ । उम्मेदवार कुनेको छेउ ओख्रेनीसम्म पुगेका छन्, कुनेमा पुगेका छैनन् । तर कुनेमा पनि स्थानीय नेताको आउजाउ भने बाक्लिएको छ । दल र उम्मेदवारका फोटो–झन्डा सहितका सवारी साधन गुडिरहेको दृश्य भने देखिन्थ्यो ।

मोतिराम दम्पती

ओख्रेनीतिर भने कतिका घरघरमा उम्मेदवारको फोटोसहितको ब्यानर पनि टाँगिएको थियो । ओख्रेनी–कुनेमा १७११ मतदाता छन् । उनीहरूको मत तान्न स्थानीय नेतालाई रिझाउने कसरत उम्मेदवारहरूले गरिरहेका छन् ।

उम्मेदवारहरूले ओख्रेनीमा आएर विभिन्न कार्यक्रम, भोज-भत्तेर गरेको खबर भने कुनेमा पनि पुगेको रहेछ ।
निकुञ्जको घना जंगलसँगै बस्ती जोडिएकाले कुनेमा उम्मेदवार नआएको लख काट्छन् स्थानीय । ‘नेताहरू कहाँ आउँछन् र ! जंगलको छेउमा डर लाग्छ होला,’ हाँस्दै मोतिरामले भने, ‘यहाँ दुम्सी, बाघ, भालु, बदेल, मृग पो आइपुग्छ ।’

ओख्रेनीमा पुगेका उम्मेदवार कुनेमा नपुगेकोमा उनीहरूले चित्त दुखाए । यद्यपि, उम्मेदवारसँग आफ्नो समस्या सुनाउन नपाए पनि उनीहरूले हामीसँग खुलेर सुनाए, त्यो पनि उम्मेदवारको कानमा पुर्‍याउने सर्तमा ।

अनाज भित्र्याउनै पाउँदैनन्

यहाँका किसानले घरमा अनाज भित्र्याउनै नपाउने रहेछन् । ‘वन्यजन्तुले खाइदिन्छ । चार भागको एक भाग पनि घरमा भित्रिँदैन,’ मोतिरामले समस्या सुनाए ।

ऋषिराम खत्री

बिहान–बेलुका छाक टार्न पनि गाह्रो परेको दुखेसो पोखिन मोतिरामकी श्रीमती ठूलीकान्छीले । ‘हामीसँग किन्ने पैसा छैन । बिहान–बेलुका छाक टार्नै गाह्रो छ,’ उनले भनिन् ।

वन्यजन्तुले बाली नष्ट गरे पाथीको २५० रुपैयाँको दरले क्षतिपूर्ति निकुञ्जमार्फ दिने भनिएको छ । तर स्थानीय ऋषिराम खत्रीका अनुसार दुई वर्ष भयो किसानले क्षतिपूर्ति पाएका छैनन् ।

सरकारले बजेट नछुट्याएकै कारण राहत नपाएको उनीहरूले बताए । ‘राज्यले आश्वासन मात्रै दिएको जस्तो भयो,’ खत्रीले भने ।

अन्न बाली लगाउने कि नलगाउने दुविधामा हुन्छन् उनीहरू । यहाँका स्थानीयको स्रोत नै कृषि हो । तर अनाज वन्यजन्तुका लागि लगाइदिए जस्तो हुन्छ । कृषिमा बगाएको पसिना र लगानी नै उठ्दैन ।

वन्यजन्तु र मानिसबीच द्वन्द्व

अघिल्लो साताको घटना हो, ओख्रेनीकै मसानी तामाङ (५६) को पाँच वटा बाख्रा चितुवाले खायो । ‘गोठ भित्रै आएर तीन वटा ब्याउने बाख्रा, एउटा बोको र पाठी खायो । दुःखले पालेका थियौं एकै रातमा सकियो,’ उनले भनिन् ।

क्षतिपूर्तिका लागि फोटो खिचेर निकुञ्जमा पेस गरेको हो । तर कहिले आउँछ अत्तोपत्तो छैन । ‘एउटा बाख्राको २० हजार पर्छ । ५ वटाको १ लाख एकै रातमा गयो,’ अब बाख्रा पालन गर्ने कि नगर्ने दोमनमा छिन् उनी ।

यहाँ मनिस–मानिसबीच होइन, वन्यजन्तु र मानिसबीच वर्षौंदेखि द्वन्द्व चलिरहेको छ । ‘स्थानीय नागरिक र निकुञ्जबीच पनि विवाद भइरहन्छ । कर्मचारीले जंगल जोगाउनुपर्ने कुरा उठाउँछन् । दाउरा, घाँस, स्याउला आवश्यक पर्छ । जंगल जाँदा निकुञ्जले दुःख दिन्छ । मानिस र वन्यजन्तुबीचको द्वन्द्व त छँदैछ,’ खत्रीले भने ।

उनीहरूसँग यसको समस्या मात्र होइन, समाधान पनि छ । तर समाधान गर्न बजेट छैन । यो क्षेत्रका बासिन्दाले बस्ती छुट्याएर तारबार लगाइदिए वन्यजन्तुबाट अन्न र ज्यान दुवै जोगिने उपाय सुनाए । वर्षौंदेखि यो आवाज उठाइरहेका छन् तर सुनुवाइ भएको छैन ।

केही वर्षअघिसम्म निकुञ्जबाट यो बस्ती हटाउने छलफल चल्यो तर स्थानीयले आफ्नो पूर्खाहरूले बसालेको थातथलो छोड्न चाहेनन् । र, बस्ती स्थानान्तरणको प्रक्रिया रोकियो । पुर्खौंदेखि बनेको/बसालेको समाज टुक्राटुक्रा पार्न उनीहरूले चाहेनन् । ‘आफ्नै थातथलोमा अन्तिम सास फेर्न चाहन्छौँ,’ मोतिरामले भने ।

स्वास्थ्य चौकी छैन

कुनेका स्थानीयलाई प्राथमिक उपचार पाउनसमेत मुस्किल छ । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भनेको छ ।

कान्छी र ठूलीकान्छी तामाङ

‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ,’ उक्त धारामा भनिएको छ । तर यो धाराले यहाँका नागरिकलाई कत्ति पनि छोएको छैन ।

‘ज्वरो, खोकी लाग्दा सिटामोलसमेत पाइँदैन । सामान्य समस्या पर्‍यो भने तीन घन्टा हिँडेर सुन्दरीजल पुग्नैपर्छ। हामी बुढाबुढी हिँड्न सक्दैन,’ ठूलीकान्छीले भनिन्, ‘कि मूलखर्क पुग्नुपर्छ । त्यहाँ भने जस्तो औषधि पाइँदैन। चिकित्सक पनि छैनन् ।’

गम्भीर बिरामी परेमा कुनेमा एम्बुलेन्स बोलाउनुपर्छ । नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउँछ । तर एम्बुलेन्स आइपुग्नै घण्टौं लाग्छ । ट्याक्सी बोलाउदा ५ हजार बढी भाडा लिने गरेको उनीहरूले सुनाए ।

माध्यमिक विद्यालय छैन

मूलखर्क, चिलाउने, ओख्रेनी, कुनेमा माध्यमिक विद्यालय छैन । आधारभूत तहसम्मको विद्यालय छ । कक्षा ८ सम्म पढाइ हुन्छ । कक्षा ९ र १० पढ्न सुन्दरीजल पुग्नुपर्ने बाध्यता छ ।

संविधानको धारा ३१ ले शिक्षाको हकको व्यवस्था गरेको छ । जहाँ प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ ।

तर, यो क्षेत्रका अभिभावकले बच्चा पढाउन सुन्दरीजल–जोरपाटीमा कोठा भाडामा लिएर राख्ने गरेका छन् । यद्यपि, गोकर्णेश्वर नगरपालिकाले विद्यार्थीलाई सहुलियत दिएको छ । त्यही बसमा स्थानीय पनि ओहोर-दोहोर गर्ने गरेको पाइयो ।

‘पहिले हिँडेरै बच्चा सुन्दरीजल पुग्नुपर्थ्यो । अहिले गाडीले ल्याउने-लाने गर्छ । गाडी बिग्रियो भने विद्यार्थीको पढाइ नै छुट्छ । गाउँमै १० सम्मको विद्यालय भए सहज हुने थियो,’ खत्रीले सुनाए । स्थानीयले माध्यमिक विद्यालय बनाउन पहल पनि गरे । तर सञ्चालनको अनुमति पाएका छैनन् ।

शनिबार यो क्षेत्रमा विद्यालय बस आउँदैन । बस नआएपछि स्थानीय हिँडेरै सुन्दरीजल पुग्नुपर्छ । यहाँका स्थानीयले सहज रूपमा अझै सार्वजनिक यातायात चढ्न पाएका छैनन् ।

कच्ची सडक

कुनेसम्म कच्ची सडकको रेखा कोरिएको छ । तर पिच भएको छैन । सुन्दरीजलदेखि ओख्रेनीसम्म भने अफ्ठ्यारो ठाउँमा ढलान र पिच गरिएको छ । कुनेतर्फ पूरै कच्ची छ । ‘बाटो पिच भएको छैन । साँघुरो छ । बर्खामा हिलाम्मे हुन्छ,’ बाटो देखाउँदै मोतिरामले भने, ‘विकट ठाउँमा कसैको पनि नजर नपर्ने रहेछ ।’

उनले तत्कालका लागि दुई वटा माग राखे । ‘राम्रो बाटो चाहिएको छ । खेती जोगाउन तारबार गरिदियोस् भन्ने आशा छ,’ उनले सरकारलाई अनुरोध गरे ।

अनि बसाइँसराइ

‘भत्किएका घरमा मानिस बस्दैनन् । सक्नेहरू सबै तल झरे । म चाहिँ जन्मेको ठाउँ छोडेर जान्न भनेर बसेको छु,’ जेठा तामाङ (७३) ले दुःख पोख्दै भने, ‘पहिले गाउँ नै भरिभाउ थियो । अहिले सुनसान भएको छ ।’

अचेल आफ्नो गाउँ-घरमा सन्नाटा छाएकोमा उनलाई विरक्त लागेको छ । ‘यता विकास आएको भए सबै यतै बस्थे नि । ऊ ती घरहरू हेर्नुस् त, ताला लागेको छ,’  छिमेकीको अभाव महसुस गर्छन् उनी ।

जेठा तामाङ

पर्यटनको प्रचुर सम्भावना

शनिबार दिउँसो हामी उकालो लाग्दा हुलका हुल युवाहरू उकालो लागिरहेका थिए । यो क्षेत्रमा शनिबार हाइकिङ जानेहरूको लर्को लाग्दो रहेछ । सुन्दरीजल, मूलखर्क हुँदै धाप ड्याम्प चिसापानी, कुने, ओख्रेनी, तारेभिर, बागद्वार हाइकिङ जानेहरू बाटोमा भेटिन्छन् । यो क्षेत्र प्राकृतिक सौन्दर्यले निपूर्ण छ । तर पनि ओझेल परेको छ ।

‘पर्यटनको प्रचूर सम्भावना छ । शनिबार हाइकिङ आउनेहरूको लर्को लाग्छ । यसलाई प्रबर्द्धन गर्ने हो भने राम्रो हुन्थ्यो,’ खत्रीले भने । पर्यटनको विकास भएमा होमस्टे र होटलहरू सञ्चालन हुने र गाउँमै रोजगारीको ढोका पनि खुल्ने थियो ।

दल र उम्मेदवारको सधैं आश्वासन

प्रत्येक निर्वाचनमा यो क्षेत्रको विकास गर्ने हरेक उम्मेदवारको घोषणापत्रमा पर्छ । भोट माग्ने बेलामा स्थानीयसँग बाचा पनि गर्छन् । यहाँका स्थानीय जसलाई जिताए पनि आफ्नो दुःख–कष्ट नहटेको गुनासो गर्छन् ।

यतिबेला फेरि देश चुनावमय बनेको छ । तर यो क्षेत्रका स्थानीयलाई चुनावको भन्दा खेतीपातीकै चटारो छ ।

तोकबहादुर तामाङ (६४) लाई चुनावी माहोलले छोएको छैन।  उनलाई मकै छर्न नै चटारो परेको छ । ‘उनीहरू राजनीतिक गरिरहन्छन् । हामीहरूलाई चासो नै छैन । काम नगरी हाम्रो चुल्हो बल्दैन,’ मकै रोप्न मल छर्दै गरेका तोकबहादुरले भने ।

जसले जिते पनि उनको जीवनमा खासै परिवर्तन नआउने बुझाइ उनको छ । पञ्चायतकालदेखि पटक–पटक चुनावमा उनले मत दिए तर आश्वासन मात्रै पाए ।  उनलाई कसैको पनि विश्वास लाग्दैन ।

‘भोट चाहिने बेलामा आशा देखाउँछन् । जितेर गएपछि फर्किएर आउँदैनन्,’ उनले भने । २०७९ को चुनावमा जिताएर पठाएकाको अनुहार उनले देखेका छैनन् तर फेरि चुनाव आयो । यतिसम्म कि, कतिपय उम्मेदवारलाई यो क्षेत्रमा कुने पर्छ भन्ने पनि थाहा छैन ।

शहरी क्षेत्रको आफ्नै दुःख

यद्यपि, काठमाडौं–३ का शहरी क्षेत्रको पनि आफ्नै समस्या छ । अव्यवस्थित शहरीकरण र साँघुरा बाटाघाटाको स्तरोन्नति हुन सकेको छैन । प्रदूषण र फोहोर व्यवस्थापनको विषय सधैं उठ्ने गरेको छ ।

बागमती सफाइ अभियान चल्छ तर अझै पनि बागमतीमा ढल मिसिएको छ । बागमतीको समस्या समाधान हुन सकेको छैन ।  जीर्ण सम्पदाहरूको संरक्षण आवश्यक ठान्छन् स्थानीयहरू । खानेपानीको समस्या पनि उस्तै छ ।

२२ उम्मेदवार प्रतिस्पर्धामा, पुरानालाई नयाँको टक्कर

स्थानीयको समस्या समाधान गर्ने बाचासहित उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । हामी कुनेतर्फ उकालो लाग्दा उम्मेदवारहरू शहरी क्षेत्रमा घरदैलो गरिरहेका थिए । मतदाता आफूतिर तान्न घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

काठमाडौं–३ यसअघि कांग्रेस र एमालेले जित्दै आइरहेको क्षेत्र हो । यस पटक यो क्षेत्रमा मुख्यतः एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा देखियो ।

एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डे प्रतिस्पर्धामा छन् ।

काठमाडौं-३ का उम्मेदवारहरू

२०७९ को चुनावमा यो क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए । एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए ।

२०६४ को पहिलो संविधानसभा चुनावमा कांग्रेसका चक्रबहादुर ठकुरी र २०७० को दोस्रो संविधानसभा चुनावमा एमालेका रामेश्वर फुँयाल निर्वाचित भए । २०७४ को निर्वाचनमा भने एमालेका कृष्णबहादुर राई विजयी भए ।

तर, यस पटक कांग्रेस र एमालेलाई त्यति सहज छैन । नयाँ दल रास्वपा र उज्यालो नेपाल पार्टीको प्रभाव पनि उत्तिकै छ ।

अन्य दल र स्वतन्त्र गरी यो क्षेत्रमा २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । राप्रपाका सुन्दर राम बोहरा, जसपा नेपालका प्रनिलध्वज कार्की, नेमकिपाका मदन श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीका शेखर अर्याल, मंगोल नेसनल अर्गनाइजेसनका कुलबहादुर लामा, नेपाल कम्युनिस्ट पार्टी संयुक्तका बाबुकाजी कार्की पनि प्रतिस्पार्धामा छन् ।

त्यसैगरी नेसनल रिपब्लिक नेपालका प्रेमछिरी शेर्पा, श्रम संस्कृति पार्टीका सुवास घिसिङ, मितेरी पार्टी नेपालका जितबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) शेखरनाथ आचार्य, आम जनता पार्टीका रूपसागर देवी पनि प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । केशव नेपाल, प्रदीप काफ्ले, रामकृष्ण पुजारी, सज्जन आचार्य, सुरेशकुमार ढुंगाना र श्रीकृष्ण बरालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

६४ हजार मतदाताले गर्नेछन् छिनोफानो

काठमाडौं-३ मा गोकर्णेश्वर नगरपालिकाका ९ वटै वडा, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ को गागलफेदी, २ को आलापोट र ३ नम्बर वडाको भद्रबास र काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा पर्छ ।

यो क्षेत्रमा ६४ हजार ४७९ मतदाता छन् । जसमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष ३१ हजार ५५६ जना छन् । जहाँ २९ मतदानस्थल र ७२ मतदान केन्द्र तोकिएको छ । यो क्षेत्रको छिनोफानो २१ फागुनमा ६४ हजार मतदाताले गर्नेछन् ।

काठमाडौं-३ को कुन बुथमा कति छन् मतदाता ?

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?