१३ फागुन, गुल्मी । गुल्मीमा होली पर्वसँगै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीले सदरमुकाम तम्घासमा मोटरसाइकल गस्ती निकालेको छ ।
होली पर्व र निर्वाचन अवधिमा सम्भावित जोखिम न्यूनीकरण, सुरक्षा सतर्कता अभिवृद्धि तथा आम नागरिकमा सचेतना फैलाउने लक्ष्यसहित गस्ती आयोजना गरिएको हो ।
कार्यालय परिसर उर्लेनीबाट सुरु भएको गस्ती तम्घासका विभिन्न मुख्य चोक–चोक परिक्रमा गर्दै सम्पन्न भएको थियो । बजार क्षेत्र, संवेदनशील स्थान तथा भिडभाड हुने क्षेत्रहरूमा गस्तीले विशेष प्राथमिकता दिएको थियो ।
सशस्त्र प्रहरीले निर्वाचन अवधिमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ ।
जिल्लाका संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीका प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईंले बताए ।
जिल्लामा ४८ वटा मतदानस्थल अतिसंवेदनशील, ५७ वटा संवेदनशील र ४० वटा मतदान स्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्ने तयारीसमेत गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बलले निर्वाचन अवधिभर २४सै घण्टा निगरानी बढाइने, गस्ती परिचालन सुदृढ गरिएको र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया 4