सुत्केरी-शिशुकी जीवनदायी जानकी
प्रसुति कक्षमा नवजात शिशु नरुँदाको मौनता शायद संसारकै सबैभन्दा डरलाग्दो मौनता हो। भर्खरै जन्मिएको शिशु रोएन वा सास फेर्न सकेन भने त्यहाँ उपस्थित आमा र स्वास्थ्यकर्मीको मुटुको ढुकढुकी एकैछिन रोकिन्छ।
२०८२ साउन ९ गतेको रात बैतडीको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कान्धारमा त्यस्तै एउटा डरलाग्दो र अत्यासलाग्दो माहोल सिर्जना भयो। तर, त्यो रात अनमी जानकीकुमारी पुजाराको अदम्य साहस र अठोटले मृत्युको मुखमा पुगिसकेको एउटा जीवनलाई मात्र फर्काएन, उनलाई देशकै एक अब्बल र प्रेरणादायी स्वास्थ्यकर्मीका रूपमा स्थापित गरिदियो।
‘काम गर्ने बेला पाएको सफलताले आत्मबल र हौसला दुवै बढाउँछ। कामप्रतिको लगन र विश्वासले असम्भव जस्तै लाग्ने काम पनि सम्भव हुँदोरहेछ’, जानकी आजभोलि प्रायः सबैसँग यही कुरा भन्छिन्। उनको यो भनाइ केवल कोरा आदर्श होइन, साउन ९ गतेको त्यही कहालीलाग्दो रातको प्रत्यक्ष भोगाइ हो।
त्यो अत्यासलाग्दो रात र ६ घण्टाको सङ्घर्ष
त्यो रात सिगास गाउँपालिका–४ की २० वर्षीया लक्ष्मी धामी प्रसव पीडाले छटपटाइरहेकी थिइन्। स्थानीयले उनलाई हतारहतार आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धार पुर्याए। राति करिब ९ बजे शिशुको जन्म भयो। तर, जन्मिएसँगै स्वास्थ्य केन्द्रमा खुसियाली छाउनुको साटो सन्नाटा छायो।
नवजात शिशुमा सामान्य लक्षणहरू नै देखिएनन्। न शिशु रोयो, न हातखुट्टा चलायो। उसको श्वासप्रश्वास पनि अत्यन्तै सुस्त र कमजोर थियो।
यो अवस्था देख्नेबित्तिकै स्वास्थ्यकर्मीहरू आत्तिए। जानकीले तत्काल गाउँपालिकाको स्वास्थ्य शाखामा खबर गरिन्। अवस्था यति नाजुक थियो कि शिशुलाई सुविधासम्पन्न अस्पतालमा ‘रिफर‘ गर्नुको अर्को कुनै विकल्प थिएन।
तर, सिगासको विकट भौगोलिक अवस्था त्यसमाथि मध्यरातको समय ! न त्यहाँ एम्बुलेन्स पुग्ने बाटो थियो, न त हवाई उद्धारको कुनै विकल्प नै। यस्तोमा सिकिस्त शिशुलाई अस्पताल पुर्याउनु असम्भव जस्तै बन्यो।
त्यस्तो कठिन र साधनविहीन क्षणमा स्वास्थ्य केन्द्रमा भएको ‘अम्बु ब्याग’ प्रयोग गरेर शिशुलाई कृत्रिम श्वास दिने प्रयास पनि नभएको होइन। तर, नवजात शिशुको मुख सानो र अम्बु ब्याग ठूलो हुँदा त्यो सम्भव भएन।
त्यसपछि जानकीसँग एउटै मात्र विकल्प बाँकी रह्यो- आफ्नै मुखबाट श्वास दिएर शिशुको श्वास फर्काउने। शहरका सुविधासम्पन्न अस्पतालमा यस्तो अवस्थामा शिशुलाई तत्काल भेन्टिलेटरमा राखिन्छ। तर, विकट गाउँको त्यो रात जानकी आफैँ शिशुका लागि ‘भेन्टिलेटर’ बन्न तयार भइन्।
राति ९ बजेदेखि बिहान ३ बजेसम्म जानकीले आफ्नो ज्यानको कुनै पर्वाह नगरी शिशुको जीवन रक्षाका लागि मात्रै आफूलाई खर्चिइन्। यो ६ घण्टाको अवधिमा उनले एक थोपा पानी पिउन वा एक सेकेन्ड आराम गर्न समेत पाइनन्। ‘पानीको कुरा यस्तै हो, एकछिन आराम गर्ने समय पनि मिलेको थिएन’, उनी भन्छिन्।
एकातिर भित्र जानकी अविश्रान्त सास फुकिरहेकी थिइन्, अर्कोतिर बाहिर सुत्केरीका आफन्तहरू निकै आत्तिएका थिए। स्वास्थ्य चौकी इन्चार्ज चक्रबहादुर धामीले नवजात शिशुको अवस्था जटिल रहेको भन्दै आफन्तलाई सम्झाइबुझाइ गरिरहेका थिए। जानकी भित्रैबाट ती कुरा सुनिरहेकी थिइन्। बाहिर रहेका आफन्तले त नवजात शिशु जीवितै छैन भन्ने आश मारिसकेका थिए।
लगातार ६ घण्टाको अथक् प्रयासपछि, बिहानको ३ बजेतिर चमत्कार भयो। मृतप्रायः शिशुले सानो स्वर निकाल्दै रुन थाल्यो। शिशुको मुटुको धड्कन चलेपछि र अवस्था सामान्य बनेपछि मात्रै जानकीले बाहिर कुरिरहेका आफन्तलाई भेट्ने मौका पाइन्।
आश मारिसकेका आफन्तले जब जीवित शिशु देखे, उनीहरूका आँखाबाट हर्षका आँसु बगे। ‘त्यो क्षण उहाँहरू मप्रति अत्यन्तै कृतज्ञ हुनुभयो, स्याबासी पाएँ‘ जानकी त्यो रात सम्झिंदै भन्छिन्, ‘वयस्कलाई कृत्रिम श्वास दिए पनि नवजात शिशुलाई यसरी श्वास दिएको यो पहिलो अनुभव थियो। शिशु रुन थालेपछिको खुसीको कुनै सीमा नै रहेन।‘
अहिले शिशुको परिवारले जानकीलाई साक्षात् भगवानकै रूपमा लिने गरेका छन्।

पढाइ, बालविवाह र स्वास्थ्य सेवाको यात्रा
२०५४ वैशाख २५ गते सायल गाउँपालिका–१, छपाली गाउँमा बुवा जयबहादुर पुजारा र आमा जमुनादेवी पुजाराको कोखबाट जानकीको जन्म भएको हो। सानैदेखि पढाइमा अब्बल उनले गाउँकै छपाली माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन्।
जानकीको जीवनले निकै सानो उमेरमा अर्को मोड लिएको थियो। २०६९ सालमा, अर्थात् जम्मा १५ वर्षको उमेरमा उनी वैवाहिक जीवनमा बाँधिइन्। हाम्रो समाजमा सानै उमेरमा विवाह गरेपछि धेरै छोरीहरूको पढाइको बाटो बन्द हुन्छ। तर, जानकीको हकमा त्यस्तो भएन।
परिवारकै सल्लाह र सहयोगमा उनले स्वास्थ्य क्षेत्र रोजिन्। २०७४ सालमा सेती प्राविधिक शिक्षालयबाट उनले ‘अनमी‘ अध्ययन पूरा गरिन्। अध्ययन पूरा गरेपछि २०७६ सालदेखि उनी करार सेवामा आबद्ध भएर दुर्गमका नागरिकको स्वास्थ्य सेवामा खटिंदै आएकी छिन्।
साहसको सम्मान र राज्यको बेवास्ता
विकट गाउँमा सीमित साधन बीच नवजात शिशुलाई लगातार ६ घण्टासम्म कृत्रिम श्वास दिएर जोगाएपछि जानकी एकाएक राष्ट्रिय सञ्चारमाध्यमको प्रशंसाको पात्र बनिन्। उनको साहस र समर्पणको देश-विदेशमा चर्चा भयो र सम्मानको ओइरो लाग्यो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र हेल्थ खबर फाउन्डेसनको साझेदारीमा प्रदान गरिएको २०८२ को ‘बेस्ट नर्स अवार्ड’ बाट उनी सम्मानित भइसकेकी छिन्। यसैगरी, स्वास्थ्य कार्यालय बैतडीले उनलाई उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा छनोट गर्दै सम्मान गरेको छ।
तर विडम्बना ! यति ठूलो साहसिक काम गर्दा पनि २०७६ सालदेखि करार सेवामै कार्यरत उनको रोजगारीको स्थायित्वबारे राज्यका कुनै निकायले चासो दिएका छैनन्। यस्तो असाधारण योगदान गर्ने स्वास्थ्यकर्मीलाई विशेष मूल्याङ्कन गरी पदोन्नति वा स्थायी गर्ने प्रचलन विश्वभर हुन्छ, तर जानकीको हकमा सरोकारवाला निकाय बेखबर जस्तै छन्।
यति हुँदाहुँदै पनि जानकीलाई राज्यसँग कुनै गुनासो वा पश्चात्ताप छैन। ‘विकट ठाउँमा काम गर्दा यस्तै हुन्छ। ठाउँअनुसारको जोखिम र चुनौतीको सामना गर्नु नै पर्छ’ अदम्य सेवाभाव बोकेकी उनी भन्छिन्, ‘मलाई यो विषयमा कुनै गुनासो छैन। अहिले पूर्ण रूपमा स्वस्थ रहेको शिशुको परिवारसँग मेरो निरन्तर सम्पर्क भइरहन्छ। सबै जनाले कामको प्रशंसा गर्दा र शिशु स्वस्थ रहेको सुन्न पाउँदा मन आनन्दित हुन्छ।’
दूरदराजका नागरिकका लागि जानकी जस्ता स्वास्थ्यकर्मीहरू अस्पतालका साधारण कर्मचारी वा करारका स्टाफ मात्र होइनन्; उनीहरू त साक्षात् जीवनदायिनी हुन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी