News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय चलचित्र जाँच समितिको नाम 'सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी' राखिएको छ र 'सेन्सर बोर्ड' शब्द हटाइएको छ।
- फिल्ममा अब 'बिप' राखिने छैन र कैंची चलाएर जाँच नगरी ग्रेडिङसहितको प्रमाणपत्र दिइनेछ।
- निर्माताले फिल्म जाँचको क्रममा खाजा खुवाउनुपर्ने बाध्यता हटेको छ र यसलाई कडाइका साथ कार्यान्वयन गरिनेछ।
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिको दशकौं लामो इतिहासमा पहिलोपटक केही महत्वपूर्ण परिवर्तन भएका छन् । जाँच र व्यवस्थापन सम्बन्धी ती परिवर्तनको कार्यान्वयन सुरु भैसकेको छ ।
समितिको अंग्रेजी नाम परिवर्तन भएर अब ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । नामबाट ‘सेन्सर बोर्ड’ भन्ने शब्दावली हटाइएको छ । यसअघि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ नाम थियो ।
नयाँ नाममा फिल्म ‘मितज्यू’ र ‘काजी’लाई प्रदर्शन अनुमतिसहितको प्रमाणपत्र प्रदान गरिएको छ । साथै, अब फिल्ममा ‘बिप’ राखिनेछैन र कैंची चलाइनेछैन । फिल्मको जाँच गरेर ‘ग्रेडिङ’सहितको प्रमाणपत्र दिइनेछ ।
एडल्ट कन्टेन्ट छ भने त्यसलाई ‘एडल्ट सर्टिफिकेट’ दिइनेछ । सर्टिफिकेटको कार्यान्वयनको लागि हलको अनुगमनमा कडाइ गरिने भएको छ । ‘अब समिति ग्रेडिङको अवधारणामा अघि बढिसक्यो’ यसैसाता समितिमा नियुक्त सदस्य मनोज पण्डितले भने ।
साथै, यसैसाताबाट जाँचको क्रममा निर्माताले खाजा खुवाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘काजी’ फिल्मका निर्माण नियन्त्रक प्रकाश हमालले आफूले यसअघि धेरैपटक फिल्म जाँच गराएपनि पहिलोपटक खाजा नखुवाइकन एकदमै सजिलो ढंगले फिल्म जाँच गराएको बताए ।
‘यसअघि धेरै फिल्मलाई जाँच गराएँ । अहिलेजस्तो सजिलो र सहजीकरण यसअघि कहिल्यै भएको थिएन’ उनले भने, ‘खाजा नखुवाइकन जाँच गराएको यो पहिलो अवसर हो ।’
‘मितज्यू’ फिल्मका निर्देशक अनिल बुढामगरले पनि फिल्म जाँच गराउँदा सजिलो भएको अनुभवसहितको फेसबुक स्टाटस लेखेका छन् ।
समिति सदस्यमा नियुक्त हुने वित्तिकै पण्डितले समितिको कार्यशैली, सुधार र परिवर्तनबारे १० बुँदे सुझाव राखेका थिए । जसमध्ये, केही बुँदाको कार्यान्वयन सुरु भएको हो । थप सुझाव कार्यान्वयनको प्रक्रियामा रहेको उनले जनाए ।
प्रतिक्रिया 4