News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरी र स्पेनका गैरआवासीय राजदूत ह्वाँ एन्टोनियो मार्च पुजोलबीच कृषि आधुनिकीकरण र द्विपक्षीय सहकार्य विस्तारमा छलफल भएको छ।
- राजदूत पुजोलले सन् २०२७ मा हुने एफएओ महानिर्देशक निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताए।
- मन्त्री चौधरीले नेपालमा कृषि डिजिटलाइजेसन, भौगोलिक संकेत दर्ता र जलवायु सहनशील कृषि प्रणालीको आवश्यकता औँल्याइन्।
८ जेठ, काठमाडौं । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत ह्वाँ एन्टोनियो मार्च पुजोलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको छ ।
भेटमा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताए । यसबारे परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने मन्त्री चौधरीले बताइन् ।
राजदूत पुजोलले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसेबिलिटी प्रणाली तथा कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदान क्षेत्रमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताए ।
उनले स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित वाइन उत्पादन, जैतुन तेलको ट्रेसेबिलिटी प्रणाली, सुन्तला, सिट्रस तथा अंगुर खेतीका अभ्यासका साथै जल अभाव भएका टापु क्षेत्रमा रातको समयमा पानी उठाउने प्रविधिबारे जानकारी गराए ।
उनले स्पेनमा आयोजना हुने कृषि प्रदर्शनी तथा लगानी सम्मेलनहरूमा उत्पादक, लगानीकर्ता तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहने जानकारी दिँदै नेपाललाई पनि यस्ता अवसरमा सहभागी हुन आग्रह गरे ।
मन्त्री चौधरीले नेपाल सरकारले कृषि डिजिटलाइजेसन, युवा सशक्तीकरण तथा कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखी काम गरिरहेको बताइन् ।
उनले नेपालमा भौगोलिक संकेत (जीआई) दर्ता प्रक्रिया सुरु गरिएको र सुन्तला तथा किवीका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।
मन्त्री चौधरीले नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना भए पनि प्रविधि तथा जलवायु सहनशील कृषि प्रणालीको आवश्यकता उल्लेख गर्दै परम्परागत कृषिलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् ।
त्यस्तै वन संरक्षण प्रयासबीच नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले स्पेनको अनुभव तथा विज्ञताबाट सिक्न नेपाल इच्छुक रहेको बताइन् ।
भेटमा नेपाल–स्पेनबीच कृषि, प्रविधि, जल व्यवस्थापन तथा दिगो कृषि विकास क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।
प्रतिक्रिया 4