+
+
Shares

नेप्का गाउँमा गुज्रिएको डरलाग्दो रात

हिलेबाढीबाट क्षति बेहोरेका हुम्लाको चंखेली गाउँपालिका–५ नेप्कावासीले चार दिन बित्दा राज्यबाट अनुगमनबाहेक सामान्य राहत पनि पाएका छैनन् ।    

नरजन तामाङ नरजन तामाङ
२०८३ जेठ ९ गते २१:०१

९ जेठ, हुम्ला । जेठ ५ गते रातिको ११ बजे चंखेली गाउँपालिका–५ नेप्कामा पहिले ठूलो हावाहुरी आयो । त्यसपछि पानी पर्नथाल्यो ।

एकैछिनपछि माथिबाट हिलोमाटोको बाढी आउनथाल्यो । गाउँलेहरू कोही रुन थाले, कोही चिच्याउन । सबैले एकाएक बेसाहारा महशुस गरे ।

‘त्यो हावाहुरी र हिले बाढीले ६० किलोवाटको लघु जलविद्युत् आयोजना पनि बन्द भयो । अन्धकार रातमा सबै आत्तिए,’ चंखेली–५ का वडाध्यक्ष हर्कधन तामाङ सम्झन्छन्, ‘सबैले बाहिर रहेका आफन्तलाई फोन गरेर आफ्नो जिउज्यानको जोखिमको खबर पनि पुर्‍याइसकेका थिए ।’

त्यो रात नेप्का गाउँलाई त्राहिमाम् पारेर बित्यो ।

‘मेरै भेडीगोठ बगायो । धन्न भेडाबाख्रामा क्षति भएन,’ वडाध्यक्ष हर्कधनले भने, ‘धनसिहं तामाङको गोठ भत्किँदा ५३ भेडाबाख्रा पुरिए ।’

गाउँमै रहेको डाँफे आधारभूत विद्यालयमा क्षति भयो । ढुंगा–माटोबाट बनेका दुई वटा भवनका ४ कोठा भत्किएका छन् । विद्यालयका सात कम्प्युटर, दुई ल्यापटपसहित फर्निचरमा क्षति पुगेको छ ।

गाउँमा खानेपानीको सुविधा दिएको ५ हजार लिटरको ट्यांकीमा क्षति पुगेको छ । गाउँका ७५ घरमध्ये ४५ घरको खेती गर्ने जमिन र अन्नबाली लेदोमाटोले पुरेर नष्ट पारेको प्रहरीले जनाएको छ ।

सात घण्टा पैदल हिँडेर नेप्कामा प्रहरी

नेप्कामा हिलेबाढीले क्षति पुर्‍याएको खबरपछि मेल्छाम प्रहरी चौकीबाट असई नन्दबहादुर शाहीको नेतृत्वमा चार जनाको टोली परिचालन भएको थियो । आफ्नो टोली ७ घण्टा पैदल हिँडेर नेप्का गाउँ पुगेको असई शाहीले बताए ।

घटनापछि जिल्ला सदरमूकाम सिमकोटबाट प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको टोली हेलिकप्टरबाट अनुगमन पुगेको थियो । उनीसँगै जिल्ला प्रहरी प्रमुख डीएसपी शंकर खड्का, सशस्त्र प्रहरीका डीएसपी पुष्करबहादुर सिंह, नेपाली सेनाका मेजर हरिबाबु श्रेष्ठ पनि पुगेका थिए ।

तर, आफूलाई कुनैपनि राहत नदिई प्रहरी र सीडीओको टोली फर्किएको स्थानीयवासीको गुनासो छ । घटना भएको चार दिन बितिसक्दा पनि बाढीपीडितले राज्यबाट कुनै राहत नपाएको बताएका छन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?