१० जेठ, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ हवल्दार सन्जीपकुमार पासवानलाई घोषणा गरेको छ ।
पासवानले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । उनी तालिम शाखामा कार्यरत छन् ।
कार्यालयका अनुसार उनले उच्च मनोबल, साहस र सक्रियताका साथ अपराध अनुसन्धान तथा फरार प्रतिवादी पक्राउ अभियानमा काम गरेका थिए ।
सिरहा नगरपालिका–७ स्थित बासघारीमा २०८२ माघ १६ गते प्रेमनाथ यादवमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानका क्रममा प्रतिवादी उपेन्द्र यादवलाई पक्राउ गर्न पासवानले महत्वपूर्ण योगदान गरेका थिए ।
त्यसैगरी, औरही गाउँपालिका–५ स्थित चितिया मन्दिर परिसरमा श्यामसुन्दर शर्मामाथि गोली प्रहार गरी घाइते बनाइएको ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानमा समेत उनले सक्रिय भूमिका खेलेका थिए । उक्त घटनामा संलग्न प्रतिवादी हरि ठाकुरलाई समेत पक्राउ गर्न भूमिका खेलेका थिए ।
यस अवधिमा उनले भन्सार छलीका सामान बरामद गरी सम्बन्धित निकायमा बुझाउनुका साथै विभिन्न मुद्दामा फरार रहेका ४३ जना प्रतिवादी पक्राउ गर्न भूमिका खेलेका थिए ।
प्रतिक्रिया 4